
एजेन्सी । चिनियाँ जनमुक्ति सेनाको नेतृत्वमा समस्या देखिन थालेकाले राष्ट्रपति सी चिनपिङले नियन्त्रण कस्न थालेका छन् ।
द न्युयोर्क टाइम्ले प्रकाशन गरेको समाचारमा उल्लेख भएअनुसार, सेनाको सर्वोच्च निकाय सेन्ट्रल मिलिटरी कमिशन (सीएमसी) का सातमध्ये तीनवटा सीटहरू खाली छन् । कतिपय अधिकृतलाई पक्राउ गरिएको छ भने अन्य कतिपय त्यत्तिकै बेपत्ता भएका छन् ।
नेतृत्वमा आएको यस संकटले राष्ट्रपति सीलाई पूर्णतः आफ्नो नियन्त्रणमा रहेको बफादार, आधुनिक र युद्धका लागि तयार सैन्यबल बनाउने लक्ष्य पूरा गर्न गाह्रो पर्न थालेको छ । सीले सन् २०२७ सम्ममा सेनालाई आधुनिक बनाउने लक्ष्य लिएका छन् । कतिपय अमेरिकी अधिकारीहरू त्यही वर्ष चीनले ताइवान हात पार्ने सामर्थ्य हासिल गर्ने अनुमान गर्छन् ।
तर, अहिले जसरी सैन्य अधिकृतहरूको सफाया भइरहेको छ त्यसले सेनामा प्रणालीगत समस्या रहेको देखाउँछ । सन् २०१२ मा शक्तिमा आएदेखि सीले भ्रष्टाचारनिरोधी अभियान चलाएका छन् र सेनामा अझै पनि भ्रष्टाचार कायम रहेको देखिन्छ ।
सीएमसीका दोस्रो वरियताका अधिकृत जनरल ह वेतोङको अनुपस्थिति धेरैले याद गरिरहेका छन् । उनलाई अनुसन्धानका लागि नियन्त्रणमा लिइएको बताइन्छ ।
एड्मिरल म्याओ ह्वा चिनियाँ सेनामा राजनीतिक प्रमुख थिए र उनलाई गम्भीर अनुशासन उल्लंघनको आरोपमा सन् २०२३ मा अनुसन्धान गरिएको थियो । गम्भीर अनुशासन उल्लंघनले प्रायः भ्रष्टाचार वा धोकेबाजीलाई संकेत गर्छ ।
पोहोर साल दर्जनौं चिनियाँ सैन्य अधिकृत र रक्षा उद्योगका अधिकृतहरूलाई तारो बनाइएको थियो । उनीहरू सीकै छत्रछायाँमा माथि पुगेका थिए र उनीहरूको पतन अलि अनौठै लाग्छ ।
यस्ता किसिमका कारवाहीले सेनाको प्रशासनतन्त्रलाई अवरुद्ध गर्न सक्छ, सेनाको युद्ध तयारीमा शंका उत्पन्न गराउँछ र सी एवम् उनका कमान्डरहरूबीचको विश्वास घटाउन सक्छ । यसले गर्दा बेइजिङलाई ताइवानमाथि आक्रमण गर्नबाट रोक्न सक्ने विश्लेषकहरू बताउँछन् । तर, ताइवान हात पार्नका लागि युद्ध आवश्यक रहेको महसुस गरेमा सीले आक्रमणको आदेश दिन सक्छन् ।
सेनामाथि नियन्त्रण कायम राख्न सीले नयाँ विचारधारात्मक अभियान चलाएका छन् । हालैका महिनामा सीएमसीले खराब प्रभावलाई निर्मूल गर्नका लागि भन्दै नियम जारी गरेको छ । राजनीतिक अधिकृतहरूको अधिकार पनि बढाइएको छ । चिनियाँ जनमुक्ति सेनाका प्रकाशनहरूले पार्टीप्रति पूर्ण बफादारिताको आग्रह गरिरहेका छन् । सक्षम सेनालाई राजनीतिक रूपमा नियन्त्रण गर्नु जरुरी रहेको कुरा सीले बुझेका छन् ।
सेनामा तनाव चलिरहेको भए पनि चिनियाँ सैनिकहरूले जटिल कारवाही चलाइरहेका छन् । प्रशान्त महासागरको पश्चिमी भागमा दुईवटा विमानवाहक युद्धपोत सहित चिनियाँ सेनाले अभ्यास गरेको छ । त्यस्तै प्रशान्त महासागरमै अन्तर्महादेशीय क्षेप्यास्त्र परीक्षण गरेको देख्दा चिनियाँ सेनाको दृढ संकल्पमा कुनै कमी नआएको देखिन्छ ।
सेप्टेम्बर महिनामा सेनाले बेइजिङमा ठूलो परेडको आयोजना गर्दैछ । जापानमाथि विजयको ८०औं वार्षिकोत्सव पारेर उक्त परेड गरिने भएको हो । त्यसले चिनियाँ सेनाको क्षमता र सीको पकड दुवैलाई संसारसामु प्रस्तुत गर्नेछ ।








प्रतिक्रिया