
काठमाडौं । भारतको उत्तराखण्डमा आएको भीषण बाढीमा परेर कम्तिमा १७ जना नेपाली नागरिक समेत बेपत्ता भएका छन् ।
बर्दिया घर भएका ४ जना र जाजरकोटका १३ जना सम्पर्कविहीन भएको भन्दै आफन्तले स्थानीय प्रशासन गुहारेका हुन् ।
बर्दियाका प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलका अनुसार, आफन्त र त्यहाँ रहेका नेपालीमार्फत उनीहरू बेपत्ता भएको जानकारी प्राप्त भएको हो ।
‘थप ३ जना घाइते भएको समेत पुष्टि भएको छ । यो बिषयमा मन्त्रालयमा जानकारी गराइएको उनले बताए ।
जाजरकोटको कुशे गाउँपालिकाका अध्यक्ष हरिचन्द्र बस्नेतले विज्ञप्ति जारी गरेर गाउँपालिकाका १३ जनाभन्दा बढी बेपत्ता भएको जानकारी दिएका छन् ।
‘उक्त बाढी तथा पहिरोमा कुशे गाउँपालिका वडा नम्बर २ का करिब १३ जनाभन्दा बढी र अन्य वडाका केही व्यक्तिहरु पनि सम्पर्कमा नरहेकाले हराएको हुनसक्ने जानकारी सामाजिक सञ्जालमार्फत प्राप्त भएको छ,’ विज्ञप्तिमा भनिएको छ, ‘हराएकाहरुको खोजी तथा उद्दार कार्यलाई द्रुत र प्रभावकारी बनाउन कुनै कसर बाँकी नराख्न नेपाल सरकार, परराष्ट्र मन्त्रालयमार्फत कूटनीतिक पहल गरिदिनका लागि प्रदेश सरकार र संघीय सरकारको ध्यानाकर्षण गराउन चाहन्छु ।’
बाढीमा बेपत्ता भएका मानबहादुर सिंहका छोरा नवीन सिंहले बुबासहित सात जना बेपत्ता भएको जानकारी आफूलाई टेलिफोन मार्फत् दिएको अध्यक्ष बस्नेतले बताए ।
नयाँ दिल्लीमा रहेको नेपाली दूतावासका कन्सुलर प्रकाश मल्लले भारतीय पक्षसँग खोज तथा उद्दारबारे समन्वय भइरहेको बताएका छन् । बुधबार दिउँसो आएको बाढीमा परेर एक सय बढी बेपत्ता छन् । ५ जनाको मृत्यु भएको भारतीय सञ्चारमाध्यमहरूले उल्लेख गरेका छन् ।

उत्तरकाशी जिल्लाको धराली बजारमा बाढीले सबैभन्दा बढी क्षति गरेको छ । धराली समुद्री सतहबाट झन्डै ३ हजार १०० मिटरको उचाइमा छ । यो चारधाम यात्रा मार्ग पनि हो ।
यहाँबाट गंगोत्री करिब २० किलोमिटर टाढा छ । त्यसक्षेत्रमा सुदूपश्चिमका धेरै नेपालीहरू काम गर्नका लागि जाने गरेका छन् ।








प्रतिक्रिया