यो वर्ष भारतमा सर्वाधिक बिक्ने कार बन्यो ह्युन्डाईको क्रेटा

294
Shares

एजेन्सी । भारतमा ह्युन्डाई क्रेटाले शान्त तर प्रभावशाली उपलब्धि हासिल गरेको छ ।

सन् २०२५ को जनवरीदेखि जुलाईसम्ममा क्रेटाले सबै सेग्मेन्टमा सबैभन्दा बढी कार बिक्री गरेको छ । यस अवधिमा कुल १ लाख १७ हजार ४ सय ५८ वटा क्रेटा बिक्री भएको कम्पनीले जनाएको छ ।

यो संख्या २०२४ को उही अवधिसँग तुलना गर्दा ८ प्रतिशतको वृद्धि हो । क्रेटाले आफ्नो सेग्मेन्टमा मात्र नभई सम्पूर्ण गाडी बजारमा शीर्ष स्थान हासिल गरेको छ ।

हुन त जुलाई महिनामा मारुती सुजुकी डिजाइर २९ हजार ८ हजार ९५ वटा बिक्री भएको थियो भने क्रेटा १६ हजार ८ सय ९८ वटा बिक्री भएको थियो । तर, ७ महिनाको समग्र विवरण हेर्दा क्रेटाले प्रतिस्पर्धीहरूलाई पछि पारेको छ ।

बिक्रीमा भएको यो वृद्धिले भारतको प्रतिस्पर्धी मिड–साइज एसयूभी बजारमा क्रेटाको प्रभुत्वलाई अझ बलियो बनाएको छ ।

क्रेटा अब सेग्मेन्टको अग्रणी मात्र नभई बजारको सबैभन्दा ठूलो भोल्युम ड्राइभर पनि बनेको छ । यसले परम्परागत उच्च भोल्युम कम्याक्ट कारहरूलाई पनि पछि पारिरहेको छ ।

क्रेटाको प्रदर्शन साधारण कुरा होइन । पछिल्लो पाँच वर्षमा भारतीय कार बजार निरन्तर एसयूभीतर्फ आकर्षित भइरहेको छ । कार किन्ने ग्राहकहरू अब एसयूभीको अग्लोपना, सुरक्षित महसुस गराउने क्षमता, सडकमा राम्रो भिजिबिलिटी र बहुपक्षीय सुविधालाई प्राथमिकता दिन थालेका छन् । यस सन्दर्भमा क्रेटाले प्रिमियम सुविधाहरू, विभिन्न पावरट्रेन विकल्पहरू र पहिचानयोग्य डिजाइन समेटेर पहिलोपटक कार किन्दै गरेका र भइरहेको कारभन्दा राम्रो कारको खोजीमा रहेका दुवै प्रकारका ग्राहकहरूमा राम्रो प्रभाव पारेको छ ।

सन् २०२४ को सुरुमा भएको गाडीको फेसलिफ्टले यो प्याकेजलाई अझ समृद्ध पारेको छ । नयाँ इन्टेरियर, आधुनिक डिजाइन भाषा, स्तर २ एडीएएस सुविधा र टर्बो पेट्रोल इन्जिनको पुनरागमनले क्रेटालाई सामान्य र प्रिमियम गाडीबीचको अन्तर घटाउन मद्दत गरेको छ । यसले महँगो एसयूभीहरूको एन्ट्री लेभल भेरिएन्ट हेरिरहेका ग्राहकहरूलाई समेत आकर्षित गरेको छ ।

विविध पावरट्रेन विकल्पहरूले पनि क्रेटाप्रतिको आकर्षण बढाउन मद्दत गरेको छ । प्राकृतिक थ्रोट पेट्रोल, टर्बो पेट्रोल र डिजेल म्यानुअल र अटोमेटिक दुवै विकल्पका साथ उपलब्ध छन् । विशेषतः डिजेल अफरिङ यस सेग्मेन्टमा राख्नु ह्युन्डाईको राम्रो निर्णय हो जबकि धेरै प्रतिस्पर्धीहरू डिजेल बजारबाट बाहिरिँदैछन् । डिजेलको टोर्क र दक्षतालाई महत्त्व दिने लामो दूरीका यात्रीहरूका लागि क्रेटा नै भरपर्दो विकल्प बन्न पुगेको छ ।

सन् २०२५ को जनवरीदेखि जुलाईसम्म सबै निजी गाडी सेग्मेन्टहरूमध्ये सबभन्दा बढी बिक्री भएको कार क्रेटा नै हो भनी ह्युन्डाईले दाबी गरिरहँदा यसले प्रतिस्पर्धीलाई पछि पारेको पुष्टि हुन्छ । मारुती वागन आर, डिजायर, बलेनो र स्विफ्ट जस्ता ह्याचब्याक र सेडान कारहरूले परम्परागत रूपमा आम उपभोक्तामाथि पकड राख्ने गरेका थिए । टाटा नेक्सन र मारुती ब्रेज्जा जस्ता साना र सस्ता एसयूभीको भन्दा बढी बिक्री क्रेटाको हुनु उल्लेख्य छ किनकि ती दुईले सब ४ मिटर एसयूभीको बजारमा प्रभुत्व जमाउँदै आएका थिए ।

खरिददारहरूको प्राथमिकता बदलिएको कुरालाई क्रेटाको बिक्रीले प्रमाणित गरेको छ । मिड साइज एसयूभी स्ेपसमा ग्राहकहरूमा प्रौढता आएको पनि यसले देखाउँछ । अब ग्राहकहरू राम्रो ड्राइभिङ अनुभव र प्रिमियम फिचरका लागि बढी पैसा खर्च तयार देखिएका छन् । वास्तवमा क्रेटा र ग्रान्ड भिटारा जस्ता मिडसाइज एसयूभी भारतका शहरी परिवारको प्रिय गाडी बन्न थालेका छन् ।

ह्युन्डाईको रिटेल नेटवर्क र लोकप्रिय ब्रान्ड नेमले पनि बढी बिक्री हुनुमा महत्त्वपूर्ण भूमिका खेलेको छ । यसको १५ सयभन्दा बढी सेल्स र सर्भिस टचपोइन्ट, निरन्तर मार्केटिङ र आफ्टर सेल्स सर्भिसको राम्रो व्यवस्थाका कारण विशाल महानगरहरूका साथै टियर २ र टियर ३ शहरहरूका ग्राहकले यो गाडी किन्दा ढुक्क मान्ने गरेका छन् ।

मिड साइज एसयूभी सेग्मेन्टमा प्रतिस्पर्धा बढेको छ । किया सेल्टोस, मारुती ग्रान्ड भिटारा, टोयोटा ह्राइडर, फोक्सवागन टाइगुन, स्कोडा कुशाक र होन्डा एलिभेट जस्ता गाडीले ह्युन्डाईसँग कडा प्रतिस्पर्धा गरिरहेका छन् । यी सबै गाडीको आआफ्नो विशेषता छ । सेल्टोस स्टाइलिश छ भने ग्रान्ड भिटाराले हाइब्रिड मोडलमा दक्षता प्रमाणित गरेको छ । गाडी चलाउन मन पराउनेहरूका लागि टाइगुन र कुशाकले राम्रो अनुभव गराउँछ । तर, क्रेटा शीर्ष स्थानमा छ किनकि यसको अपील व्यापक छ ।

प्रतिस्पर्धी कम्पनीहरूले क्रेटाकै मूल्यमा हाइब्रिड प्रविधि दिइरहेकाले भ्याल्यु फर मनीको कुरा उठ्ने गरेको छ । अहिले हाइब्रिड गाडीका लागि मार्केट सेयर बढेको भए पनि ह्युन्डाईले बलियो हाइब्रिड भेरिएन्ट ल्याएको छैन । सन् २०२६ मा ह्युन्डाईले हाइब्रिड वा इलेक्ट्रिक विकल्पहरू पनि बजारमा ल्याउने अपेक्षा गरिएको छ ।