होन्डाको आक्रामक व्यापार: स्कुटरबाटै ६५ प्रतिशत आम्दानी


काठमाडौं । होन्डा भन्ने बित्तिकै तपाईंको मनमा के आउँछ ? पक्कै पनि मोटरसाइकल, त्यो पनि साइन, युनिकर्न, सीबीआर, सीबी वा एक्सआर । वा कसैकसैको दिमागमा त होन्डा कार पनि आउँछ होला ।

मोटोस्पोर्टसमा समेत विश्वभर कहलिएको जापानी ब्रान्ड होन्डालाई सोइचिरो होन्डाले सन् १९४६ मा स्थापना गरेका थिए । होन्डा १९५९ देखि विश्वकै सबैभन्दा ठूलो मोटरसाइकल उत्पादक हो । विश्वभर ५० करोड युनिट दुईपांग्रे सवारी बेचिसकेको होन्डाको परिचय भिन्न भिन्न देशमा भिन्न भिन्न किसिमको छ । खासगरी विश्वसनीयता, फ्युल एफिसियन्सी, व्यवहारिकता र नवीनताका लागि विश्वभर चिनिएको होन्डाको परिचय नेपालमा भने निरन्तर फेरिँदो छ ।

केही वर्षअघिसम्म साइन, युनिकर्न जस्ता इन्ट्री लेभल मोटरसाइकल, एक्सआरजस्ता अफरोड डर्ट बाइक र सीबीआर जस्तो हेभी मोटरसाइकका लागि होन्डा फेमस थियो । जब नेपाली दुईपांग्रे प्रयोगकर्ताको उपयोगिता फेरियो, होन्डाको परिचय पनि फेरिएको छ ।

होन्डा अब नेपालमा मोटरसाइकल ब्रान्ड होइन, स्कुटर कम्पनीको रुपमा चिनिएको छ । सुरुवाती दिनमा डियो, एभिएटर, एक्टिभा लगायत मोडल नेपाली बजारमा उपलब्ध गराएको होन्डाले पछिल्ला दिनमा ११० सीसीको सेग्मेन्टलाई छाडेर १२५ सीसीका स्कुटर बजारमा ल्याउन थाल्यो ।

एक दशक अघिसम्म पनि स्कुटरलाई ‘महिलाको सवारी’ भन्ने रुचाउने नेपाल समाजको बुझाइ फेरियो । चलाउन सजिलो, बहुउपयोगी, सिटी राइडका लागि उपयुक्त र फेमिली सवारीका रुपमा परिचय बनाउने क्रममा नेपालमा होन्डाले नै सुरुवाती इँटा थप्यो । पावर र पर्फमेन्स रुचाउने नेपाली उपभोक्ताका लागि होन्डाले ग्राजिया, डियो १२५ जस्ता स्कुटर नेपाली बजारमा ल्यायो । यी स्कुटरलाई खुबै रुचाइयो ।

बजारले जस्तो जस्तो चाहन्छ, उस्तै उस्तै प्रोडक्ट ल्याउन खुबै माहिर मानिन्छ, होन्डा र नेपालमा होन्डाका सवारीसाधन बेच्ने आधिकारिक वितरण स्याकार ट्रेडिङ कम्पनी । स्याकार व्यवसायी पद्म ज्योती समूहको एक कम्पनी हो ।

सन् २०२४ मा नेपालमा बिक्री भएका बाइकमध्ये दुई तिहाइभन्दा बढी दुईपांग्रे सवारी स्कुटर थिए । होन्डाले नेपालमा परिचय बदलेको प्रमाण यही नै हो । स्याकार ट्रेडिङका अनुसार ६५ प्रतिशत आम्दानी स्कुटरबाट हुन्छ । मूल्यका हिसाबले कम रहने स्कुटरको आम्दानी दुई तिहाइ हुनुको अर्थ यो हो कि संख्यामा दुईतिहाईभन्दा बढी स्कुटर नै बिक्री हुन्छ । तसर्थ, सन् २०२४ देखि होन्डाले नेपालमा स्कुटर ब्रान्डको रुपमा परिचय बनाएको छ भन्दा फरक पर्दैन ।

सन् २०२३ मा स्याकारको ६६ प्रतिशत बिक्रीवापतको आम्दानी स्कुटरबाटै हुन्थ्यो । २०२१ मा स्कुटरबाट स्याकारले ५८ प्रतिशत आम्दानी गर्दथ्यो ।

यो तथ्यले होन्डाका लागि स्कुटर नै मुख्य उत्पादन सन् २०२० को दशकको सुरुवात देखि नै हुन थालेको प्रमाण दिन्छ ।

स्कुटरले बजार खाएपछि पद्म ज्योती समूह नेपालमै स्कुटर उत्पादन गर्ने सुरुमा अघि बढ्यो । २०२० मै स्थापना गरेको हिमाल मोटो नाम गरेको कम्पनीमार्फत् पद्म ज्योती समूहले २०८० फागुनदेखि नेपालमा होन्डाको स्कुटर बनाउन थाल्यो । कम्पनीले स्कुटरको पार्टस् भारतबाट आयात गरेर रुपन्देहीमा अवस्थित उद्योगमा एसेम्बल गर्न थाल्यो । सरकारले पनि एसेम्बल उद्योगलाई अन्तःशुल्कमा ५० प्रतिशत छुट दिएपछि पद्म ज्योती समूहले एसेम्बलमा अवसर देखेको हो ।

स्याकार ट्रेडिङमा झैं हिमाल मोटो नेपालमा पनि पद्म ज्योतीको छोराहरु सौरभ र सुह्रिद ज्योतीको आधाआधा स्वामित्व छ । हाल रुपन्देहीमा रहेको सीकेडी प्लान्टमा डियो स्कुटरमात्र एसेम्बल गरिन्छ ।

तर, यसअघि उल्लेख गरेझैं उपभोक्ताले जस्तो चाहन्छन्, उस्तै प्रोडक्ट ल्याउन होन्डा र पद्म ज्योती ग्रुप तयार देखिन्छ । भविष्यमा पनि १५० सीसीका शक्तिशाली र उपभोक्ताको माग बमोजिक इलेन्ट्रिक स्कुटर नेपाल ल्याउने तयारीमा छ कम्पनी ।

तर, स्याकार अर्थात् होन्डा नेपाललाई मोटरसाइकलमा बजाज र यामाहा, स्कुटरमा टीभीएस तथा अन्य इलेक्ट्रिक स्कुटर ब्रान्डले भने चुनौती थपिरहेका छन् । होन्डाले भने नेपालमा मुख्यतः डियोमात्र उत्पादन गर्छ र डियोलाई नै प्रबद्र्धन गरिरहेको छ । उपभोक्तालाई पर्याप्त विकल्प नदिँदा होन्डाका लागि बजार विस्तारमा निकै गाह्रो परिरहेको छ ।

यद्यपि स्याकार पद्म ज्योती ग्रुपको फ्ल्यागसिप कम्पनी हो । कम्पनीका अध्यक्ष सौरभ ज्योती हुन् । सौरभ आफैं देशका पब्लिक फिगर हुन् । मोटरसाइकल संकलन गर्न रुचाउने सौरभ लाइफस्टाइल इन्फ्लुयन्सर पनि हुन् ।

स्याकारले सन् १९७६ देखि नै नेपालमा होन्डाको कार, मोटरसाइकल र पावर प्रोडक्टको विक्री वितरण गर्दै आएको छ । स्याकारको देशमा १६ आफ्नै शोरुम र १०० भन्दा बढी विक्री आउटलेट छन् । यी आउटलेटले देशभर होन्डाको बलियो उपस्थिति बनाएको छ ।

स्याकारले गत आर्थिक वर्ष पछिल्लो ३ वर्षकै सबैभन्दा राम्रो व्यापार गरेको अनुमान गरिएको छ । ८ महिनामा ९ अर्ब ३० करोडको व्यापार गरेको स्याकारको प्रोफिट मार्जिन साढे १२ प्रतिशत छ । कम्पनीले सन् २०२२ मा करिब साढे १५ अर्बको व्यापार गरेको थियो ।

कम्पनीले चालु पुँजी कर्जा क्षमताको ६३ प्रतिशतमात्र कर्जा लिएको छ । करिब ६४ करोड रुपैयाँ कर्जा लिने स्पेस रहनुको अर्थ कम्पनीका लागि थप व्यापार विस्तारमा पर्याप्त स्पेस रहेको संकेत गर्दछ ।

यता स्याकारको एसेम्बली एसपीभीको रुपमा रहेको हिमालयन मोटोले पनि ११ महिनामै ३ अर्ब रुपैयाँभन्दा बढी आम्दानी गरेको छ । होन्डाको स्कुटर एसेम्बल गर्ने कम्पनीले गत आवको ११ महिनामा ३ अर्ब १४ करोड १० लाख रुपैयाँको व्यापार गरेको हो ।

हिमालयन मोटोले सन् २०२४ मा ३९ करोड ८० लाख रुपैयाँको मात्र व्यापार गरेको थियो । सो आर्थिक वर्ष ४ महिनामात्र स्कुटर उत्पादन भएको थियो ।

हिमालयन मोटो नेपालमा पनि सौरभ ज्योती र सुह्रिद ज्योतीको आधाआधा स्वामित्व छ ।

हिमालयन मोटो नेपालले उत्पादन गर्ने सिस्टर कम्पनी स्याकारलाई बिक्री गर्छ ।

नेपालको अटोमोबाइल डिलरसिप उद्योगमा पद्म ज्योती ग्रुपका अनुभवी प्रोमोटर, होन्डा ब्रान्डका दुईपांग्र्रे सवारीसाधनप्रति सकारात्मक मागको प्रवृत्ति, राम्रो बजार हिस्सा तथा सशक्त ब्रान्ड रिकल, स्याकारसँगको सहकार्य, सरकारद्वारा युरो सिक्स लागु जस्ता विषयले हिमालयन मोटोलाई लाभ दिएको छ ।

तर, सन् २०२५ को ११ महिनामा कम्पनीको सञ्चालन नाफा वा नाफा मार्जिन १.२ प्रतिशत मात्र छ । यता स्थिर सम्पत्तिमा हुने ७० प्रतिशत खर्च पनि कर्जाबाटै बेहोरेका कारण कम्पनीको पुँजी संरचना निकै तनावपूर्ण छ । कम्पनीको ऋण तिर्ने क्षमता पनि निकै कम छ । कुल ऋण सञ्चालन नाफाको २९ गुणा रहेको छ । यद्यपि कमजोर वित्तीय परिसूचकलाई तत्कालका लागि ज्योति दाजुभाइबाट सापटी लिएर सुधारिएको छ । उता स्याकारले चालुपुँजी कर्जा क्षमताभन्दा निकै कम प्रयोग गरेता पनि हिमालयन मोटाले भने ड्रइङ पावरको १२८ प्रतिशत कर्जा उपभोग गरिसकेको छ ।