नेपालीले ५ वर्षमा मोबाइल किन्न खर्चिए सवा २ खर्ब, एक वर्षमै किने ५० अर्बको स्मार्टफोन


नेपालमा विभिन्न मुलुकबाट भित्रने मोबाइलमा सरकारले १३ प्रतिशतका दरले भ्याट, ५ प्रतिशतका दरले अन्तशुल्क र त्यसमा भ्याट गरेर १८.६५ प्रतिशत शुल्क मोबाइल आयात गर्दा अशुल गर्छ । आयातकर्ताले बिक्रेतालाई, विक्रेताले होलसेलाई, होलसेलले रिटेललाई दिँदा जोडिने मार्जिनका कारण आयात मूल्यमा थप ४० प्रतिशत जोडेर ग्राहकले मोबाइल किन्नुपर्छ ।

काठमाडौं । नेपालीले पछिल्लो ५ वर्षमा मोबाइल फोन किन्नमा नै सवा २ खर्ब रुपैयाँ खर्च गरेका छन् । पछिल्लो ५ वर्षमा नेपालमा १ करोड ८२ लाख १० हजार वटा मोबाइल फोन भित्रिएको छ । ती मोबाइलको भन्सार मूल्य १ खर्ब ६३ अर्ब ५८ करोड रुपैयाँको छ । यो मोबाइलको बजारमा किनेबेच हुँदाको मूल्य भने २ खर्ब २९ अर्ब रुपैयाँभन्दा बढी हुन पुगेको छ ।

भन्सार विभागको तथ्यांक अनुसार गत आर्थिक वर्ष २०८१÷८२ मा नेपाल भित्रिएका मोबाइल फोनको संख्या २१ लाख ८४ हजार वटा छन् । यी मोबाइलको भन्सार मूल्य ३५ अर्ब ५४ करोड ७३ लाख रुपैयाँ भएको देखिएको छ ।

नेपाल भित्रिएका मोबाइलमा १३ प्रतिशतका दरले मूल्य अभिबृद्धि कर (भ्याट), ५ प्रतिशतका दरले अन्तशुल्क र त्यसमा थप १३ प्रतिशत भ्याटसमेत लाग्ने गरेका कारण १८.६५ प्रतिशत सरकारलाई राजस्ववापत नै तिर्नुपर्छ । आयातकर्ताले र बिक्रेताले राख्ने ५/५ प्रतिशतको मार्जिन, होलसेलहुँदै रिटेलसम्म पुग्दा जोडिने थप मार्जिनका कारण मोबाइल फोन भित्रदाको भन्दा ग्राहकले खरिद गर्दासम्म थप ४० प्रतिशत लागत थपिने गरेको मोबाइल आयातकर्ता संघका अध्यक्ष दीपक मल्होत्राले बताए । उनका अनुसार अहिलेको भन्सारशुल्क सहितको हिसावले ३५ अर्ब रुपैयाँको मोबाइल आउँदा बजारमा यसबाट हुने कारोबार ५० अर्ब रुपैयाँको पुग्छ ।

भन्सार विभागको तथ्यांक अनुसार नेपाललीले पछिल्लो ५ वर्षमा १ करोड ८२ लाख थान मोबाइल खपत गरेका छन् । यस्तो मोबाइल फोनको खपत पछिल्लो १० वर्षमा ४ करोड ४० लाख थान छ ।

पछिल्लो १० वर्षमा करिब साढे ४ करोड थान मोबाइल भित्रदा २ खर्ब ६६ अर्ब रुपैयाँ भन्सार मूल्य देखिएको छ । १० वर्षमा मोबाइल भित्रदा सरकारले गरेको आम्दानी ४३ अर्ब ४७ करोड रुपैयाँ भएको पनि तथ्यांकले देखाएको छ ।

पछिल्लो समय नेपालमा आएको मोबाइल फोन सबै नेपालीले नै खपत गरेको मोबाइल व्यवसायीको भनाइ छ । नेपालमा कर्पोरेट हाउसमा काम गर्नेसहितको मध्यम वर्गले औसतमा १ देखि २ वर्षमै मोबाइल परिवर्तन गर्ने गरेका छन् ।

आम सर्वसाधारणले भने औसतमा ३/४ वर्षमा परिवर्तन गरेको छन् । जसका कारण पछिल्लो समय अघिल्लो चलाइरहेको भन्दा थप रेन्जका नयाँ भर्सनमा ग्राहक जाने ट्रेण्डका कारण महंगा स्मार्टफोनको प्रयोग बढ्दै गएको हो ।

एकपटक प्रयोग गरेको भन्दा माथिल्लो रेन्जको मोबाइल प्रयोग गर्ने आम नेपालीको रुची हुने देखिएको छ । जसका कारण विगतमा भन्दा अहिले मोबाइलको आयातको संख्या कम हुँदा पनि भन्सार मूल्य भने उल्लेख बढेको देखिएको छ । महंगा स्मार्ट फोनलाई मासिक किस्ता (इएमआई)को सुविधा दिइएको र त्यसबाट नयाँ फोन खरिदकर्ता बढेको पनि मोबाइल आयातकर्ता संघका अध्यक्ष मल्होत्राले बताए ।

नेपालमा विस्तारै सस्तो खालको बार फोन चलाउने नेपाली घट्दै गएका छन् । नेपाल टेलिकमका अनुसार टुजी नेटकर्वमा रहेका यस्ता मोबाइल प्रयोगकर्ता अझै ३० लाख छन् । यी प्रयोगकर्ताले जति कम हुँदै जान्छन नेपालमा स्मार्टफोनको प्रयोगकर्ता पनि उति नै बढ्दै गइरहेका छन् ।

पछिल्लो समय मोबाइल डेटाले पनि स्मार्टफोन प्रयोगकर्ता बढेको देखाइहको छ । नेपाल दूरसञ्चार प्राधिकरणको तथ्यांक अनुसार गत जेठसम्ममा २ करोड ६३ लाख मोबाइल डेटा प्रयोगकर्तामध्ये ८ लाख ६९ हजार मात्रै थ्रीजीका प्रयोगकर्ता छन् । २ करोड ५४ लाख मोबाइल डेटा प्रयोगकर्ता फोरजीमा छन् । नेपालमा फोरजी प्रयोगकर्ताको हिसावले पनि स्मार्ट फोन प्रयोगकर्ताको बृद्धि दर देखाइरहेको छ ।

नयाँ भर्सनको स्मार्टफोन लन्ज गर्दा ग्राहकले सोही दिन खरिद गर्ने गरेका छन् । जसका कारण बजारमा आएको नयाँ फोन छिटो खपत हुने गरेको छ । नेपाली बजारमा आएका नयाँ भर्सनका महंगा मोबाइल लन्ज गरेकै दिने सकिने गरेको पनि मोबाइल व्यवसायीको भनाइ छ