
एजेन्सी । ह्युन्डाईको सर्वाधिक लोकप्रिय गाडी क्रेटा भारतमा बिक्री हुन थालेको १० वर्ष पुगेको छ ।
सन् २०१५ मा भारतको मझौला एसयूभी बजारमा प्रवेश गरेको क्रेटाले १० वर्षमा अपार सफलता हासिल गरेको छ । क्रेटाले ग्राहकहरूको अपेक्षालाई पूरा गरेको मात्र नभई एसयूभीहरूको प्रतिस्पर्धामा आफूलाई अब्बल साबित गरेको छ ।
बुच डिजाइन, लोडेड क्याबिन र ह्युन्डाईको विश्वसनीय ब्रान्ड भ्याल्युका साथ क्रेटा भारतीय बजारमा आएको थियो । सन् २०२५ मा आइपुग्दा १४ वटा कम्पनीले एसयूभी गाडी ल्याएको भए पनि क्रेटा नै भारतीय बजारमा अग्रणी रहिआएको छ ।
यस क्षेत्रमा कडा प्रतिस्पर्धा भए पनि क्रेटाले सन् २०१६ देखि लगातार शीर्ष स्थान कायम गर्दै आएको छ । विगत नौ वर्षमा यसको वार्षिक बिक्री दोब्बर बढेको छ ।
विगत एक दशकमा ह्युन्डाईले क्रेटाका दुईवटा जेनरेशन ल्याएको छ । सन् २०१५ मा पहिलो जेनरेशन ल्याएर आधार बनाइएको थियो । दोस्रो जेनरेशन सन् २०२० मा ल्याइएको थियो । त्यसको डिजाइनमा निकै ठूलो बदलाव ल्याइएको थियो र फिचरहरू पनि बढाइएको थियो ।
सन् २०२४ मा क्रेटाको अप्डेट गरिएको थियो । त्यसक्रममा धारिलो शैली, लेभल २ एडीएएस, पानोरामिक स्क्रीन र ड्राइभट्रेनका विभिन्न विकल्पहरू राखिएका छन् ।
क्रेटालाई आकर्षक बनाइरख्नका लागि ह्युन्डाईले दुईवटा विशेष संस्करण पनि ल्याएको थियो । सन् २०२२ मा आएको नाइट एडिशन र सन् २०२३ मा आएको एड्भेन्चर एडिशनमा एसयूभीको सुन्दरता थप निखारिएको थियो ।
एसयूभीमा सनरूफ राखेर ह्युन्डाईले थप ग्राहकहरू आकर्षित गरेको छ । सनरूफ भएको गाडी ग्राहकहरूलाई धेरै मन परेको छ । सन् २०२५ को पहिलो ६ महिनामा बिक्री भएका सबै क्रेटामध्ये ७० प्रतिशतमा सनरूफ राखिएको थियो ।
जुलाई २०२५ सम्ममा ह्युन्डाईले भारतमा मात्र १२ लाख क्रेटा बिक्री गरिसकेको छ । शहरी र अर्धशहरी ग्राहकहरूका लागि ह्युन्डाई भरपर्दो नाम भएको छ ।
सन्तुलित ड्राइभिङ डाइनामिक, अरूभन्दा अब्बल फिचर र बिक्रीपछिको उम्दा कस्टमर केयरका कारण ह्युन्डाईले ग्राहकहरूको मन जितिरहेको छ ।
क्रेटा भारतमा मात्र सफल भएकोे हैन । ह्युन्डाईले दक्षिण अमेरिका, अफ्रिका र एसियामा गरी १३ वटा देशमा २ लाख ८७ हजारवटा क्रेटा बिक्री गरिसकेको छ । ह्युन्डाई इन्डियाको निर्यात रणनीतिको यो महत्त्वपूर्ण अंश हो र विश्वव्यापी गाडी उत्पादनमा भारतको बढ्दो भूमिकालाई यसले स्थापित गरेको छ ।
ह्युन्डाईले भारतमा १० वर्षको यो यात्रा तय गरिरहँदा क्रेटा ब्रान्डप्रति ह्युन्डाईको प्रतिबद्धता सुदृढ छ । ग्राहकहरूको आवश्यकतामा परिवर्तन हुँदै जाँदा, नियमावलिहरू कठोर बन्दै जाँदा र प्रतिस्पर्धा बढ्दै जाँदा ह्युन्डाईले क्रेटामा थप फिचर, पावरट्रेन विकल्प र नयाँ प्रविधि थप्दै जाने अपेक्षा गरिएको छ ।
तत्कालका लागि ह्युन्डाई क्रेटाको १० वर्षे यात्रा भारतको प्रतिस्पर्धात्मक एसयूभी बजारमा कसरी प्रभुत्व कायम गर्ने र शीर्ष स्थानमा रहिरहने विषयमा उदाहरणीय बनेको छ ।








प्रतिक्रिया