
एजेन्सी । भारत अहिले चीनसँगको सम्बन्ध क्रमशः सामान्य बनाउने प्रक्रियामा छ ।
कैलाश मानसरोवर यात्रामा नेपालको बाटो भएर भारतीयहरू फेरि जान थालेका छन् । त्यसपछि दुई देशबीच सीधा उडानहरू खोल्ने र नयाँ भिसा प्रणाली ल्याउने तयारी भइरहेको छ । यसले दुवै देशका नागरिकलाई सजिलै ओहोरदोहोर गर्न मद्दत गर्नेछ ।
तर, यो भारतले रणनीतिक रूपमा चीनप्रति विश्वास गर्न थालेको संकेत हो ? हैन । कारण के भने, हालै पाकिस्तानविरुद्ध भारतले चलाएको अपरेशन सिन्दूरमा चीनले पाकिस्तानलाई गरेको समर्थनले भारतलाई अझै पनि चीनसँग सचेत रहनुपर्ने पाठ सिकाएको छ ।
त्यस्तै, चीनसँग व्यापार गर्दा देखिएको आपूर्ति शृंखलाको समस्या र चीनले केही महत्त्वपूर्ण सामग्रीहरूको निर्यातमा प्रतिबन्ध लगाएपछि भारतलाई सजग बनाएको छ ।
त्यसैले समस्या समाधान गर्दै अगाडि बढ्ने भारतको अहिलेको कदम व्यावहारिक छ । तर, यसको अर्थ भारतले चीनप्रति पूर्ण विश्वास गरेर थप निर्भरता बढाउँछ भन्ने होइन । बरु, यसमार्फत भारतले वैकल्पिक आपूर्ति स्रोतहरू खोज्ने र जोखिम कम गर्ने लक्ष्य लिएको हो भन्न सकिन्छ ।
यस्तै दुविधा अमेरिकालाई पनि परेको देखिन्छ । अमेरिका एकातर्फ चीनलाई प्रतिस्पर्धी र आफ्नो लागि जोखिम मान्छ भने अर्कातर्फ व्यापारका लागि उससँग कुराकानी गर्न पनि चाहन्छ । जापान र दक्षिण कोरिया पनि चीनसँग व्यापार सुधार गर्ने प्रयासमा छन् ।
अब संसारले चीनसँग व्यवहार गर्दा नयाँ तरिका अपनाएको देखिन्छ । चीनको आपूर्ति सञ्जालमा भएको पकडलाई स्वीकार गर्दै उससँग व्यवहार गर्ने सोच अन्य मुलुकहरूले बनाएको देखिन्छ । अमेरिका दुर्लभ चुम्बकका लागि चीनसँग सम्झौता गर्न तयार छ भने भारतले पनि आफ्ना हित जोगाउने उपाय गर्नैपर्ने विश्लेषकहरू बताउँछन् ।
भारतको सन्दर्भमा हेर्दा, भारत–चीन सीमामा केही शान्ति देखिन थालेको छ । यद्यपि, तनाव पूरै हटेको छैन । केही ठाउँमा सैनिकहरूको संख्या घटाइएको खबरहरू छन् । यसले आर्थिक पक्षमा संवादको अवसर दिएको छ । भारत सुरक्षा र व्यापार दुवै मोर्चामा एकसाथ तनाव नहोस् भन्ने चाहन्छ ।
चीनलाई पनि भारतप्रति केही गुनासा छन् । भारतले चिनियाँ कम्पनीहरूको विस्तृत जाँचबुझ गर्ने गरेको छ, चिनियाँ लगानीको भविष्य अनिश्चित भएको छ र चिनियाँ कम्पनीहरूमाथि भारतीय निकायहरूले अनुसन्धान थालेका छन् । यी कुराले पनि चीन चिन्तित देखिन्छ ।
अब चीनसँग आर्थिक सम्बन्ध अघि बढाउन सीमा क्षेत्रमा शान्ति अनिवार्य रहेको भारतले स्पष्ट पारेको छ । पहिले चीनले सीमाविवादलाई अन्य सम्बन्धबाट अलग राख्ने भनाइ राख्थ्यो । अब भने भारतले दुवै कुरालाई जोडेर हेर्छ । मतभेद झडपको स्थितिमा नपुगोस् भन्ने सन्देश भारतले दिन खोजेको छ ।
सीमामा सुधार हुँदा अन्य क्षेत्रमा पनि प्रगति हुनु स्वाभाविक हो । विदेशमन्त्री एस जयशंकरको चीन भ्रमणजस्ता उच्चस्तरीय भेटवार्ताले यो संकेत गर्छ ।
भारतले चीन–पाकिस्तान गठबन्धनलाई चीनसितको सम्बन्ध सुधारसँग जोडेको छैन । यो खतरालाई भारतले अमेरिका लगायतका साझेदारहरूसँगको भूराजनीतिक सम्बन्धमार्फत सन्तुलनमा राख्ने प्रयास गरिरहेको छ ।
भारत अमेरिकातिर कतिसम्म ढल्किने हो भनी चीनले नियालिरहेको छ । क्वाड समूहमा भारतको भूमिका के हो ? चीनले भारतलाई यो प्रश्न सोधिरहने गरेको छ । चीन पाकिस्तानसँग मिलेर के गर्दैछ भनेर भारत पनि प्रतिप्रश्न गर्छ ।
यसरी दुवै देश एकअर्काप्रति सतर्क छन् । आफ्नो स्वार्थ सुरक्षित राख्दै उनीहरू अगाडि बढिरहेका छन् ।








प्रतिक्रिया