
एजेन्सी । इलोन मस्कको टेस्ला कम्पनीले मोडल वाई गाडीहरू भारतमा पनि बिक्री गर्न थालेको छ ।
टेस्लाको वेबसाइटमा उल्लेख भएअनुसार, यो गाडीको स्टार्टिङ प्राइस ६९ हजार ७७० डलर छ । त्यो भनेको करिब एक करोड रुपैयाँ हो ।
विद्युतीय गाडीहरूमा अग्रणी रहेको टेस्लाले मुम्बईमा पहिलो शोरूम खोलेको छ ।
भारत अहिले संसारको तेस्रो ठूलो अटोमोबाइल बजार हो तर विद्युतीय गाडीहरूको हिस्सा एकदमै सानो छ । चार्जिङ स्टेशनहरूको कमीका कारण धनाढ्य ग्राहकहरू पनि विद्युतीय गाडी किन्न हिचकिचाइरहेका छन् ।
डिजेल र पेट्रोलबाट चल्ने गाडीहरूको प्रभुत्व रहेको भारतीय सडकमा टेस्लाले जर्मन कार कम्पनी बीएमडब्ल्यू र मर्सिडिज–बेन्जसँग प्रतिस्पर्धा गर्नुपर्ने हुन्छ ।
भारतीय गाडी निर्माताहरूमा टाटा मोटर्स र महिन्द्रा विद्युतीय गाडीको बजारमा बढी सक्रिय छन् ।
मस्कले भारतीय बजारमा लामो समयदेखि आँखा लगाइरहेका छन् । संसारको सबभन्दा धेरै जनसंख्या भएको मुलुक भारतमा धनी ग्राहकहरू विलासी गाडीमा खर्च गर्न लालायित छन् ।
भारतले सन् २०३० सम्ममा आफ्नो बजारमा विद्युतीय कारहरूको बिक्री ३० प्रतिशत पुर्याउन खोजेको छ । अहिले त्यो जम्मा ४ प्रतिशत छ । भारतमै उत्पादन गर्न खोज्ने विदेशी कार कम्पनीहरूलाई भारत सरकराले करछुटको व्यवस्था गरेको छ ।
यी पहलहरूले मस्कलाई भारतप्रति आकर्षित गरेको हो । तर, भारतमा टेस्लालाई परिचित गराउनु नै मस्कको तत्कालीन लक्ष्य हो ।
भियतनामको विद्युतीय कार निर्माता भिनफास्टले आफ्नो भीएफ७ र भीएफ६ एसयूभीको बूकिङ भारतमा खोल्न लागेकै समयमा टेस्ला पनि आइपुगेको हो ।








प्रतिक्रिया