इप्सटाइन फाइल्समा विवाद बढेपछि गले ट्रम्प, विश्वसनीय प्रतिवेदन जारी गर्न दिए अनुमति


एजेन्सी । अमेरिकाका राष्ट्रपति डोनल्ड ट्रम्पले यौन दुराचारी जेफ्री इप्सटाइन सम्बन्धी फाइलहरू सार्वजनिक गर्न महान्यायाधिवक्ता पाम बोन्डीलाई अनुमति दिएका छन् ।

उक्त फाइलहरू सार्वजनिक नगरिँदा ट्रम्पसमर्थकहरूले चर्को विरोध गरेका थिए ।

इप्सटाइनले ग्राहकहरूको सूची राखेको विषयमा कुनै प्रमाण फेला नपरेको भन्दै जस्टिस डिपार्टमेन्टले जनाएपछि ट्रम्पसमर्थकहरूले बोन्डीको आलोचना गरेका छन् ।

पहिला बोन्डीले नै इप्सटाइन फाइल्स सार्वजनिक गर्नुपर्ने आवाज उठाएकी थिइन् । ट्रम्पका अन्य साझेदारहरूले पनि इप्सटाइनका बारेमा थप सूचना बाहिर ल्याउन माग गरेका थिए ।

मंगलवार ट्रम्पले इप्सटाइन केसमा मानिसले किन चासो देखाएका हुन् बुझ्न नसकिएको बताएका थिए । उनले बोन्डीको प्रतिरक्षा पनि गरेका थिए ।

बोन्डीले यस केसको फाइललाई राम्रो व्यवस्थापन गरिरहेको र विश्वसनीय लागेको कुरा सार्वजनिक गर्नुपर्ने ट्रम्पले पत्रकारहरूलाई बताए ।

ट्रम्पकै नाम पनि लिस्टमा भए नभएको विषयमा बोन्डीले केही भनेको हो कि भनी एक पत्रकारले सोध्दा ट्रम्पले त्यसलाई अस्वीकार गरे ।

पोहोर साल चुनावी अभियानका क्रममा ट्रम्पले इप्सटाइनको बारेमा बनेका फाइलहरू सार्वजनिक गर्ने वाचा गरेका थिए ।

हाउस अफ रिप्रेजेन्टेटिभ्सका सभामुख माइक जोनसनले पनि यस विषयमा पारदर्शिता आवश्यक भएको बताए । ट्रम्पकी बुहारी लाराले पनि यस विषयमा पारदर्शिताको माग गरेकी छन् ।

इप्सटाइनविरुद्ध यौनका लागि महिला तथा बालिकाको ओसारपसार गरेको आरोप थियो । उनी पुर्पक्षका लागि जेलमा हुँदा उनको मृत्यु भएको थियो ।

डिपार्टमेन्ट अफ जस्टिस र एफबीआईले जुलाईको सुरुतिर दुई पेजको मेमो सार्वजनिक गर्दै ग्राहकहरूको सूची फेला नपरेको जनाए । महत्त्वपूर्ण व्यक्तिहरूलाई इप्सटाइनले ब्ल्याकमेल पनि गरेको विषयमा विश्वसनीय प्रमाण पनि नरहेको उनीहरूले जनाए ।