सिरियाको सैनिक हेडक्वार्टरमा इजरायलको ड्रोन आक्रमण


एजेन्सी । इजरायली सेनाले सिरियाको राजधानी दमास्कसमा रहेको सैनिक हेडक्वार्टरमा बुधवार आक्रमण गरेको छ ।

दक्षिणी सिरियामा ड्रुज जातिका नागरिकमाथि सिरियाली सेनाले हिंस्रक गतिविधि गरिरहेकाले इजरायलले सैनिक हेडक्वार्टरमा आक्रमण गरेको जनाएको छ ।

इजरायली आक्रमणका कारण दुईजना नागरिक घाइते भएको सिरियाली सञ्चारमाध्यमहरूले खबर दिएका छन् ।

अहिले इजरायल र सिरियाको सीमामा तनाव चलिरहेको छ । दर्जनौं ड्रुज नागरिकहरू सीमाको तारबार नाघेर सिरियामा प्रवेश गरिरहेका छन् ।

इजरायली सेनाले परिस्थितिमा नियन्त्रण कायम गर्न खोजेको छ ।

मंगलवार इजरायलमा रहेका ड्रुज नागरिकहरू सिरिया पसेका थिए । तर, उनीहरू केही घन्टामै फर्केका थिए ।

सिरियाली ड्रुजहरूलाई इजरायल प्रवेश गर्नबाट रोक्न इजरायलले अश्रूग्यास प्रहार गरेको छ ।

केही दिनअघि दक्षिणी सिरियामा रहेको ड्रुज बहुल शहर स्वेदामा हिंस्रक भिडन्त भएपछि यो घटनाक्रम विकसित भएको हो ।