ट्रम्पले रुसलाई ५० दिनको चेतावनी दिएपछि के होला पुटिनको रणनीति ?


एजेन्सी । अमेरिकाका राष्ट्रपति भ्लादिमिर पुटिनले रुसलाई युक्रेनसँग ५० दिनभित्र शान्ति सम्झौता गर्न चेतावनी दिएका छन् ।

त्यसो नगरेमा रुसको ऊर्जा निर्यातमा प्रतिबन्ध लगाइने धम्की उनले दिएका छन् । तर, उनले रुसलाई शान्ति सम्झौतामा आउन ५० दिनको समय भने दिए ।

यस्तो अवस्थामा आफू अनुकूल सम्झौता हुने गरी रुसले युक्रेनमाथिको आक्रमण बढाउने विज्ञहरूले आकलन गरेका छन् ।

तर, युक्रेनले तीन वर्षको युद्धमा गरिरहेको प्रतिकार देख्दा रुसी सेनाले तत्कालै लाभ हासिल गर्न सक्ने देखिँदैन ।

रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले रुसको नियन्त्रणमा रहेका चार युक्रेनी क्षेत्रबाट युक्रेन पछि हटे मात्र शान्ति सम्झौता सम्भव हुने बताइरहेका छन् ।

उनले नेटोमा युक्रेन जोडिन नहुने र युक्रेनी सेनामाथि सीमा लगाइनुपर्ने पनि माग राखेका छन् । उनका यी मागलाई युक्रेन र पश्चिमी साझेदारहरूले खारेज गरेका छन् ।

तर, युक्रेनी सेनामा सैनिक र हातहतियार लगातार घट्दै गएपछि उनीहरू प्रत्याक्रमण गर्न भन्दा पनि आफ्नो भूभागको प्रतिरक्षा गर्नमा व्यस्त छन् ।

रुसले विगत केही हप्तायता युक्रेनको राजधानी किएभ र अन्य शहरहरूमा हवाई आक्रमण चर्काएको छ । युक्रेनलाई रुसी शर्त मान्नका लागि बाध्य बनाउने गरी थप भूभागमा कब्जा गर्न ५० दिनको अल्टिमेटम पर्याप्त नहुने युक्रेनी अधिकारीहरू बताउँछन् ।

यस वसन्त ऋतुदेखि रुसी सैनिकहरूले भूभागमा कब्जा गर्दै गइरहेका छन् । सन् २०२२ मा युद्ध सुरु भएयता रुसले यसै वर्ष सबभन्दा बढी भूभागमा नियन्त्रण कायम गरेको हो ।

रुसी सैनिकहरू दोनेत्स्क क्षेत्रमा रहेका पोक्रोभ्स्क र कोस्त्यातिनिभ्कामा अघि बढिरहेका छन् । यी दुवै शहर नजिकका गाउँमा उनीहरू लगातार कब्जा जमाउँदै गएका छन् । युक्रेनी सेनाको सप्लाई रुटलाई काट्न र युक्रेनी प्रतिरक्षकहरूर्ला घेराबन्दी गर्नका लागि उनीहरूले प्रयास गरिरहेका छन् ।

यी शहरहरूमा कब्जा गरेपछि रुसले स्लोभयान्स्क र क्रामातोर्स्कतर्फ अघि बढ्न पाउँछ । त्यस अवस्थामा रुसले सम्पूर्ण दोनेत्स्क क्षेत्र नियन्त्रणमा लिन पाउँछ ।

त्यसपछि रुसी सैनिकहरू पश्चिमतर्फ रहेको निप्रोपेत्रोव्स्क क्षेत्रमा अघि बढ्न पाउँछन् । क्षेत्रीय राजधानी निप्रो रुसी सैनिकहरू भएको ठाउँभन्दा १५० किलोमिटर पश्चिमतर्फ पर्छ । त्यो प्रमुख औद्योगिक केन्द्र हो र त्यहाँ लगभग १० लाख मानिसको बसोवास गर्छन् ।

निप्रोपेत्रोव्स्कमा लडाइँ पुग्यो भने युक्रेनी सैनिकहरूको मनोबल गिर्नेछ र क्रेमलिनलाई सम्झौतामा माथिल्लो हात पार्नेछ ।
रुसको सैन्य कारवाहीको गति हेर्दा उसलाई विशाल लाभ हुने सम्भावना खासै देखिँदैन । निकै सुस्त गतिमा अघि बढिरहेकाले रुसी सैनिकहरूले चर्को मूल्य बेहोर्नुपरेको छ ।

युक्रेनी सैनिकहरू पनि थाकिसकेका छन् र उनीहरूको संख्या पनि घटिरहेको छ । उनीहरूको रुसको आक्रमण रोक्नका लागि ड्रोनमा निर्भर छन् ।