अमेरिकाले विदेशमा उपस्थिति घटाउँदै जाँदा चीनले बढायो कूटनीतिक पहल

371
Shares

एजेन्सी । अमेरिकाका राष्ट्रपति डोनल्ड ट्रम्पको प्रशासनले देशको अन्तर्राष्ट्रिय उपस्थिति खुम्च्याउँदै जाँदा चीनले कूटनीतिक पहल थालेको छ ।

अमेरिकी सिनेटको फरेन रिलेसन्स कमिटीले सोमवार सार्वजनिक गरेको प्रतिवेदनमा यस्तो दाबी गरिएको हो ।

महिनौंसम्म अमेरिकी कर्मचारीहरूले गरेको यात्रा र अनुसन्धानका आधारमा यो प्रतिवेदन तयार पारिएको रोयटर्स समाचार संस्थाले समाचार दिएको छ ।

ट्रम्प प्रशासनले विदेश मन्त्रालयमा कर्मचारी कटौतीको काम शुक्रवारबाट सुरु भएको छ । कुल ३ हजार कर्मचारीलाई बर्खास्त गर्ने योजना छ ।

ट्रम्पले विदेशी सहायतामा दिइँदै आएको अर्बौं डलर पनि कटौती गरेका छन् । उनले संसारभरि मानवीय र विकास सहायता निकाय यूएस एजेन्सी फर इन्टरनेशनल डिभलपमेन्ट (यूएसएड) पनि बन्द गरिदिएका छन् । यूएसएड बन्द गरिँदा हजारौं कर्मचारीलाई बर्खास्त गरिएको छ र ८० प्रतिशतभन्दा बढी कार्यक्रमहरू बन्द गरिएका छन् ।

विदेशमा अमेरिकी सरोकारलाई प्रतिरक्षा र प्रवर्धन गर्नका लागि यस्तो कटौतीले रोक लगाउने आलोचकहरू बताउँछन् । द ल्यान्सेट नामक मेडिकल जर्नलले प्रकाशित गरेको अनुसन्धान प्रतिवेदनले यूएसएडको लगानी कटौतीका कारण सन् २०३० सम्ममा १ करोड ४० लाख मानिसको मृत्यु हुन सक्ने प्रक्षेपण गरेको छ ।

‘ट्रम्प प्रशासनले दोस्रो कार्यकाल चलाउन थालेको केही दिनमै संसारभरि अमेरिकाको कार्यक्रममा कटौती गरिदियो,’ उक्त समितिकी डेमोक्रेट सांसद जीन शाहीनले बताइन्, ‘चीनले त्यति बेलैदेखि अमेरिका भरपर्दो साझेदार हैन भन्न थालिसकेको थियो । हामी विश्व मञ्चबाट पछि हट्दै गर्दा चिनियाँहरूले आफ्नो प्रभाव विस्तार गरिरहेका छन् ।’

तर, अनावश्यक खर्च घटाउन र संघीय प्रशासनलाई सानो बनाउनका लागि ट्रम्प प्रशासनले काम गरिरहेको बहालवाला अधिकारीहरू बताउँछन् ।

अमेरिकाले विदेशी सहायताका लागि अनावश्यक खर्च गरिरहेको र अन्य मुलुकहरूले थप भार वहन गर्नुपर्ने ट्रम्प तर्क गर्छन् ।
डेमोक्रेट सिनेटरहरूले तयार पारेको ९१ पृष्ठको प्रतिवेदनमा चीनले प्रसारणदेखि स्वास्थ्य कार्यक्रम र विकास निर्माणमा प्रभाव विस्तार गरिरहेको उल्लेख छ ।

उदाहरणका लागि, अफ्रिकामा अमेरिकाले खाद्य सहायता कार्यक्रममा कटौती गरेपछि चीनले मार्च महिनामा युगान्डालाई २० लाख डलर बराबरको चामल सहयोग गरेको थियो । त्यस्तै मे महिनामा अमेरिकाले जाम्बियालाई दिँदै आएको ३ करोड ७० लाख डलर बराबरको एचआईभी/एड्स निवारण अनुदान बन्द गरेपछि चीनले ५ लाखवटा एचआईभी परीक्षण किटहरू दान गरेको छ ।

दक्षिणपूर्वी एसियामा चीनका राष्ट्रपति सी चिनपिङले भियतनाम, कम्बोडिया र मलेसिया भ्रमण गरी शीर्ष नेतृत्वसँग भेटघाट गरेका थिए । भियतनाममा रेलमार्ग निर्माण, कम्बोडियामा ऊर्जा, शिक्षा र पूर्वाधार क्षेत्रमा ३७ वटा सहकार्य सम्झौताका साथै मलेसियामा उत्पादन आदानप्रदानका विषयमा सम्झौता भएको छ ।

चीनले गत मे महिनामा चाइना–ल्याटिन अमेरिकन यान्ड द करिबियन फोरम आयोजना गरेर दक्षिण अमेरिकामा ९ अर्ब डलर बराबरको क्रेडिट लाइन र थप पूर्वाधार लगानीको घोषणा गरेको थियो ।