
एजेन्सी । अमेरिकाका राष्ट्रपति डोनल्ड ट्रम्पले विदेशबाट आयात हुने सबै वस्तुमा चर्को भन्सार शुल्क लगाएपछि अमेरिकामा मूल्यवृद्धि बढेको अर्थशास्त्रीहरूले बताएका छन् ।
अघिल्लो वर्षको तुलनामा गत जुन महिनामा उपभोक्ता मूल्य २.६ प्रतिशत बढेको हुन सक्ने फ्याक्टसेट नामक डेटा कम्पनीको तथ्यांकमा देखिएको छ । श्रम विभागले मंगलवार मूल्यवृद्धिको प्रतिवेदन सार्वजनिक गर्दैछ । मासिक तथ्यांकलाई हेर्दा मेको तुलनामा जुन महिनामा वस्तुको मूल्य ०.३ प्रतिशतले बढेको छ ।
मूल्यवृद्धि बढिरहेमा फेडरल रिजर्भले ब्याजदरमा अल्पकालीन कटौती गर्न देखाइरहेको हिचकिचाहटलाई थप बल पुग्नेछ । ट्रम्पले फेडलाई ब्याजदर घटाउनका लागि निरन्तर दबाब दिइरहेका छन् ।
खाद्यान्न र ऊर्जामा मूल्यवृद्धि घटबढ भइरहने भए पनि एक वर्षअघिको तुलनामा जुन महिनामा मूल्यवृद्धि ३ प्रतिशतले बढेको हुन सक्ने अनुमान गरिएको छ । अर्थशास्त्रीहरूले कोर मूल्यलाई नजिकैबाट नियालिरहेका हुन्छन् किनकि तिनले मूल्यवृद्धि कतातर्फ गइरहेछ भनी सटीक दिशा देखाउँछ ।
ट्रम्पले सबै विदेशी आयातमा कम्तीमा १० प्रतिशत भन्सार शुल्क लगाएका छन् भने स्टील र अल्मुनियममा ३० प्रतिशत, चिनियाँ सामानमा ३० प्रतिशत र आयातित कारमा २५ प्रतिशत आयातकर लगाएका छन् । गत साता मात्र ट्रम्पले युरोपेली संघलाई अगस्ट १ देखि लागू हुने गरी थप ३० प्रतिशत भन्सार शुल्क लगाउने धम्की दिएका छन् ।








प्रतिक्रिया