चीनका राष्ट्रपति सीसँग भारतीय विदेशमन्त्री जयशंकरको भेट, गराए पछिल्लो घटनाक्रमको जानकारी

1.4k
Shares

एजेन्सी । भारतका विदेशमन्त्री एस जयशंकरले शाङ्हाई कोअपरेशन अर्गनाइजेशनका विदेशमन्त्रीहरूसँग मंगलवार चीनका राष्ट्रपति सी चिनपिङसँग भेटघाट गरेका छन् ।

बैठकमा जयशंकरले सीलाई द्विपक्षीय सम्बन्धमा विकसित पछिल्लो घटनाक्रमको जानकारी गराएका थिए ।

एससीओ सदस्य राष्ट्रहरूको विदेशमन्त्री स्तरीय बैठकमा भाग लिनका लागि जयशंकरले चीन भ्रमण गरेका हुन् । सोमवार उनले चिनियाँ समकक्षी वाङ यीसँग भेटवार्ता गरेका थिए । भारत र चीनको सम्बन्धलाई दीर्घकालीन दृष्टिकोणले हेर्न र स्थिर एवं रचनात्मक सम्बन्ध बनाउन उनले आग्रह गरे ।

वाङले दुई देशबीच शंका भन्दा पनि पारस्परिक विश्वास, शत्रुता भन्दा पनि सहकार्य र एकअर्काको सामना गर्ने भन्दा पनि सहयोग गर्नुपर्नेमा जोड दिए ।

चीन र भारतबीच द्विपक्षीय सम्बन्ध सुधारका लागि सकारात्मक सन्देश प्रवाह भइरहेको चिनियाँ कम्युनिस्ट पार्टीनिकट प्रकाशन ग्लोबल टाइम्सले लेखेको छ । भारतीय पक्षको सन्देश विगतमा भन्दा बढी सकारात्मक र व्यावहारिक भएको उसको दाबी छ ।