
एजेन्सी । दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन सार्कको बहालवाला अध्यक्ष नेपाल तत्कालका लागि चीन र पाकिस्तानले बनाउन खोजेको वैकल्पिक संगठनप्रति अनिच्छुक रहेको इकोनोमिक टाइम्सले समाचार दिएको छ ।
सार्कको बहालवाला अध्यक्ष तथा सार्क सचिवालय भएको मुलुकको हैसियतमा नेपालले सार्कलाई नै पुनः ब्युँताउन खोजेको स्रोतहरूलाई उद्धृत गर्दै उक्त पत्रिकाले लेखेको छ ।
चीनले अहिलेसम्म नेपाललाई वैकल्पिक संगठनको विषयमा प्रस्ताव नराखेको भए पनि काठमाडौंलाई यसमा रुचि नै नरहेको बताइएको छ ।
भारतलाई सदस्य नबनाइएको कुनै पनि दक्षिण एसियाली संगठनमा जोडिन नेपालले अनिच्छा देखाएको पत्रिकाको दाबी छ ।
भइरहेको सार्कलाई नै बलियो बनाएर यस क्षेत्रलाई समृद्ध बनाउनुपर्ने नेपालको धारणा रहेको बताइएको छ ।
सार्कको पछिल्लो शिखर सम्मेलन काठमाडौंमा सन् २०१४ मा आयोजना गरिएको थियो । १९औं सार्क सम्मेलन पाकिस्तानको राजधानी इस्लामाबादमा सन् २०१६ मा हुनुपर्ने थियो । तर, कश्मीरको उरीमा आतंकवादी आक्रमण भएपछि भारतले सम्मेलनमा भाग नलिने निर्णय लिएको थियो ।
चीन र पाकिस्तानले दक्षिण एसियामा भारतलाई बाहेक गरेर क्षेत्रीय संगठन बनाउन खोजेका छन् । भारतको निकटतम साझेदार भुटानलाई त्यस्तो प्रस्ताव चीनले नगर्ने अपेक्षा रहेको इकोनोमिक टाइम्स लेख्छ ।
गत जुन महिनामा चीनले पाकिस्तान र बंगलादेशका विदेशमन्त्रीहरूसँग त्रिपक्षीय संवाद गरेर नयाँ संगठन बनाउने विषयमा प्रस्ताव राखेको थियो ।








प्रतिक्रिया