
एजेन्सी । अमेरिकाका राष्ट्रपति डोनल्ड ट्रम्पले युक्रेनलाई थप आर्थिक सहयोग गर्ने विषयमा विचार गरिरहेको सीबीएस न्युजले समाचार दिएको छ ।
विगत केही दिनयता रुसले युक्रेनमाथि ड्रोन र क्षेप्यास्त्रको वर्षा गरिरहेको स्थितिमा रुसलाई संकेत दिनका लागि यो सहयोग गर्न लागिएको बताइएको छ ।
गत साता ट्रम्पले युक्रेनलाई थप प्रतिरक्षात्मक हतियार पठाउने योजना रहेको संकेत दिएका थिए जबकि उनको प्रशासनले त्यसको केही दिनअघि कतिपय हतियारको आपूर्ति रोकेको थियो । अमेरिकी हतियारको मौज्दातलाई विचार गरी आवश्यकताअनुसार हतियार आपूर्ति गर्नका लागि उक्त रोक लगाइएको थियो ।
युक्रेनलाई दिइने भनेको नयाँ आर्थिक सहायताको स्रोत स्पष्ट छैन । अधिकारीहरूले ट्रम्पसँग ३.८५ अर्ब डलर रहेको बताएका छन् । बाइडन प्रशासनले त्यो रकम छुट्याएको हो । त्यस पैसाले अमेरिकी सैन्य उपकरण युक्रेन पठाउन सकिन्छ ।
विदेशी बैंकहरूमा रोक्का गरेर राखिएको रुसको सम्पत्तिलाई कब्जा गर्ने विकल्प पनि ट्रम्पसँग रहेको पूर्व अधिकारीहरूले बताएका छन् ।
तर, ट्रम्पले अनि उनीअघिका राष्ट्रपति जो बाइडनले यो अधिकार प्रयोग नगरेको सीबीएसले जनाएको छ ।
केही दिनअघि पोलिटिको सञ्चारमाध्यमले पनि युक्रेनलाई लाखौं डलर बराबरको सैन्य सहायता प्याकेज उपलब्ध गराउने विषयमा ट्रम्पले सोचविचार गरिरहेको खबर दिएको थियो ।
दोस्रो कार्यकाल चलाउन थालेपछि पहिलोपटक ट्रम्पले युक्रेनका लागि नयाँ सैन्य सहायता प्याकेज तयार पारिरहेको रोयटर्स समाचार संस्थाले पनि खबर दिएको थियो ।
रुसका राष्ट्रपति भ्लादिमिर पुटिनलाई शान्ति सम्झौताका लागि फकाउन नसकेपछि निराश भएका ट्रम्पले युक्रेनलाई नयाँ सहायता उपलब्ध गराएर कडा संकेत दिन खोजेको बताइएको छ ।








प्रतिक्रिया