
एजेन्सी । साउदी अरबले सन् २०२६ देखि गैरसाउदी नागरिकलाई विशेष क्षेत्रमा घरजग्गा किन्ने अनुमति दिने भएको छ ।
गल्फ न्युजमा छापिएको समाचारअनुसार, साउदी मन्त्रिपरिषद्ले यसको स्वीकृति दिएको हो । विदेशी लगानी भित्र्याउन तथा तेलमा आधारित बाहेकको अर्थतन्त्र विस्तार गर्न साउदी सरकारले यो कदम चालेको हो ।
साउदीका शहरी तथा ग्रामीण मामिलामन्त्री माजेद अल होगेलले यस निर्णयका कारण साउदीको घरजग्गा कारोबारमा वृद्धि हुने, विदेशी लगानीकर्ता एवं डिभलपरहरू आकर्षित हुने र साउदी बजारमा प्रत्यक्ष वैदेशिक लगानी थप बढ्ने बताए ।
नयाँ कानूनअनुसार, गैरसाउदीहरूले निश्चित क्षेत्रमा घरजग्गा किन्न पाउनेछन् । राजधानी रियाद र प्रमुख शहर जेद्दाहमा पनि यो सुविधा दिइनेछ । तर, मक्का र मदिनामा धार्मिक संवेदनशीलताका कारण त्यस्तो अनुमति दिइने छैन ।
रियल इस्टेट जनरल अथोरिटीले कुन भौगोलिक क्षेत्रलाई विदेशी स्वामित्वको अनुमति दिने भनी पहिचान गर्नेछ र विस्तृत कार्यकारी नियमनहरू जारी गर्नेछ ।
आधिकारिक गजेटमा यो कानून प्रकाशित भएको १८० दिनमा यससम्बन्धी नियमहरू सार्वजनिक परामर्शका लागि खुला गरिनेछ ।
साउदीमा घरजग्गा किन्नका लागि निवेदन प्रक्रिया, क्रेताहरूको योग्यता र नियमको अनुपालनका लागि सरकारी संयन्त्रहरूका विषयमा नियमावलि बनाइनेछ ।
साउदीले भिजन २०३० अन्तर्गत अर्थतन्त्रलाई विविधीकरण गर्न खोजेको छ र घरजग्गा खोल्ने निर्णय त्यसैअन्तर्गत लिइएको हो ।
विदेशीहरूलाई आफ्नो घरजग्गा कारोबारमा प्रवेश दिएर साउदीले विदेशी डिभलपर र लगानीकर्ताहरूलाई आकर्षित गर्न खोजेको हो । यसका साथै साउदीले सामाजिक र नियमनकारी अपेक्षाहरूलाई पनि व्यवस्थापन गर्न खोजेको छ ।








प्रतिक्रिया