लगानीकर्तामा गत वर्षको आशा दोहोरिँदै, यसैबेला सुरु भएको थियो ३ हजार विन्दुको यात्रा

1.1k
Shares

काठमाडौं । करिब २००० बिन्दु वरीपरी रहेको सेयर बजार सूचक नेपाल स्टक एक्सचेञ्ज (नेप्से) १००० बिन्दुले बढ्दै ३००० बिन्दुमा पुगेको एक वर्ष पुरा भएको छ । गत वर्ष अर्थात् २०८१ असार १६ मा २०३७ बिन्दुमा रहेको नेप्से ३३ कारोबार दिनमा ९६३ अंकले बढेर साउन ३१ गते ३०००.८१ बिन्दुमा पुगेको थियो जुन २०७८ यताकै उच्च हो ।

नेप्से २०७८ भदौ २ गते ३१९९.०३ अंक (त्यसदिन ३२२६ सम्म) पुगेपनि सो रेकर्ड हालसम्म तोडिएको छैन । त्यसयता नेप्से सबैभन्दा माथि पुगेको भनेकै गत वर्षको साउनमा (३००० बिन्दु) हो । अधिकांश समय १८०० र २००० बिन्दुको वरीपरी रहेको नेप्से खासगरी, २०८१ असार १६ मा कायम २०३७ बिन्दुबाट तिब्र गतिमा बढ्दै १००० अंक माथि पुगेको थियो ।

हाल असार १९ मा आईपुग्दा नेप्से गत असार १६ मा कायम २०३७ बिन्दुबाट ६६६ अंक माथि छ भने साउन ३१ को ३००० बिन्दुभन्दा करिब २९७ अंकले तल (२७०३ बिन्दुमा) छ । विगतका सेयर बजारको घटबढ चक्रलाई हेर्ने हो भने पनि असार, साउन र भदौ महिनालाई सूचक वृद्धिको समयको रुपमा समेत लिने गरिन्छ ।

हाल पनि सेयर बजारले विगतको सो चक्रलाई एक पटक पछ्याउने हो कि भन्ने चर्चा बजारमा सुरु भइसकेको छ । हुनपनि, २०८१ माघ २१ पछि नेप्से पहिलो पटक लगातार पाँच कारोबार दिनले उकालो लागेको छ । गत साताको पाँच कारोबार दिनमा पाँचै दिन बढेर नेप्से १०८ अंकको वृद्धिका साथ २७०३ बिन्दुमा रोकिएको छ ।

यसअघि, माघ २१ अघिका नौ कारोबार दिनमा भने नेप्से लगातार नौ दिन बढ्दै २८९० बिन्दुसम्म पुगेको थियो । अन्यथा, त्यसयता सूचक प्रायजसो घट्दोक्रममा नै थियो । गत वर्ष बजार उक्लिएको समय पारेर नेप्से पाँच दिनमा १०८ अंकले बढेर २७०३ बिन्दु कायम भएपछि अब बजार थप माथि उक्लिने आँकलनहरु भइरहेका छन् ।

२०७८ मा बनेको ३२२६ बिन्दुको उच्च रेकर्ड तोडिनका लागि पनि नेप्से करिब ५२३ अंकले मात्रै टाढा छ । यदि, राजनीतिक तथा अन्य स्थिति सकारात्मक रहेमा नेप्सेले रेकर्ड ब्रेक गर्नसक्ने सम्भावना रहेको चर्चा लगानीकर्ताले गर्दै आएका छन् । सेयर लगानीकर्ता देव गुरागाईं बजारलाई प्रत्येक्ष असर पुराउने कुराहरु यो बीचमा नआए गति लिन कठिन नभएको बताउँछन् ।

‘गत वर्षको जस्तै यस वर्ष पनि नेप्से एक महिनामै १००० अंकले बढ्छ भन्न सक्ने स्थिति छैन । किनभने, गत वर्षको र हालको राजनीतिक तथा अन्य स्थितिमा निकै फरक छ,’ गुरागाईं भन्छन्, ‘तर, समग्र माहोल सकारात्मक रहेको, राष्ट्र बैंकले मौद्रिक नीति पनि लचिलो ल्याउने चर्चा रहेकाले यो स्थिति कायम रहेमा बजारले नयाँ रेकर्ड बनाउन सक्दछ ।’ उनले गभर्नर सेयरबजारप्रति सकारात्मक रहेको संकेत देखिएकाले पनि यसले बजार बढाउन भूमिका खेल्ने बताए ।

हुन, त हालैमात्र राष्ट्र बैंकका गभर्नर विश्वनाथ पौडेलको सेयर बजारमा रहेको लगानी पनि सार्वजनिक भइसकेको छ । यसले पनि लगानीकर्तामा मनोवैज्ञानिक प्रभाव पार्ने गर्दछ । साथै, केन्द्रीय बैंकले चालु आर्थिक वर्षको मौद्रिक नीतिको तेस्रो त्रैमासिक समीक्षामार्फत् सेयर धितो कर्जाको जोखिमभार १२५ प्रतिशतबाट १०० मा झारेर आगामी मौद्रिक नीति बजारको पक्षमा आउने संकेत गरिसकेको छ ।

यसले, मौद्रिक नीतिको पर्खाइमा रहेका लगानीकर्तामा समेत एक किसिमको सकारात्मक सन्देश प्रवाह गरिसकेको छ । नेपाल सेयरधनी संघका अध्यक्ष घनश्याम पाण्डे समग्र राष्ट्र बैंक र नेतृत्व बजारप्रति सकारात्मक रहेको, नियामक नेपाल धितोपत्र बोर्डबाट पनि आईपीओ स्वीकृति लगायतका काम भइरहेको जस्ता विषय बजारका लागि सकारात्मक भएको बताउँछन् ।

‘गत वर्षको भन्दा यस वर्षको ब्याजदर आधा कम रहेकाले असार मसान्तको दबाब तुलनात्मकरुपमा कम पर्ने देखिन्छ । यदि, अब करिब एक साता बजार थामियो भने साउन लागेपछि त बजार उकालो लाग्ने समय नै हो,’ पाण्डे भन्छन्, ‘समग्रमा बजार सकारात्मक लयमा नै अगाडि बढ्ने देखिन्छ ।’ उनले पालैपालो सबै समूह चलेको उल्लेख गर्दै यसलाई सहज ढंगमा लिनुपर्ने बताए ।

सेयर बजारको माहोल र वित्तीय सूचक

राष्ट्र बैंकमा गभर्नरको रुपमा आएपछिको पहिलो मौद्रिक नीति समीक्षाबाट नै पौडेलले सेयर धितो कर्जाको जोखिमभार १२५ प्रतिशतबाट १०० मा झारेर सकारात्मक सन्देश दिइसकेका छन् । सार्वजनिक मञ्चहरुमा समेत सेयर बजारका विषयमा सकारात्मक ढंगमा वक्तव्य दिँदै आएका पौडेलको आफ्नै १५ लाख ३७ हजार कित्ता सेयर लगानी रहेको विवरण बाहिर आएको छ ।

यसले पनि उनले पुँजी बजारलाई नजिकबाट बुझेको रुपमा लगानीकर्ताले लिएका छन् । राष्ट्र बैंकले बैंकिङ क्षेत्र सुधार सुझाव कार्यदल गठन गरेको छ भने त्यसले सेयर बजारका माग, समस्या र सुझावसमेत लिएको छ । बजारका अन्य वित्तीय सूचकलाई हेर्ने हो भने पनि बजार अनुकुलन नै देखिन्छन् ।

अहिले ठूलो मात्रामा सेयर कर्जा प्रवाह भएको छ भने विशेषगरी, ठुला र संस्थागत लगानीकर्तातर्फ बढी कर्जा गएको छ । बैंकको ब्याजदर न्यून छ भने बजारमा तरलता पर्याप्त छ । हिजो बैंकमा १० देखि १२ प्रतिशतसम्म ब्याज लिएर रमाएका मानिस अहिले ब्याजदर घटेका कारण लगानी क्षेत्रको खोजिमा छन् । गत वर्षको तुलनामा ब्याजदर न्यून रहेकाले असार मसान्तको दबाब पनि धेरै नपर्ने तर्क लगानीकर्ताले गरिरहेका छन् ।

नीतिगत रुपमा पनि सेयर बजारका लागि खास किसिमका कठिनाई छैनन् । सेयर लगानीकर्ताले बैंक तथा वित्तीय संस्थाले व्यक्तिगत तर्फ जारी गर्ने सेयर धितो कर्जाको १५ करोड रुपैयाँको एकल ग्राहक सीमा पूर्णरुपमा खारेज गर्नुपर्ने विषय बढी उठाइरहेका छन् ।

यसका अलावा संघहरूले लघुवित्त संस्थालाई लगाइएको १५ प्रतिशतभन्दा बढी लाभांश वितरण गर्न नपाउने व्यवस्था खुला अर्थनीतिको सिद्धान्त विपरीत भएको लगायतका केही गुनासा मात्रै लगानीकर्तासँग छन् । बजारमा बैंक तथा वित्तीय संस्थाहरुको स्थिति पनि नाजुक छैन ।

यद्यपि, माहोल सकारात्मक स्थितिमा रहेपनि बजारमा देखिने बेथिति र नकारात्मक टे«न्डलाई भने नियमन गर्न आवश्यक छ । बजार चलयमान हुँदा नकारात्मक जानकारी र अफहवा बढी फैलाइने भएकाले यसमा नियामकको ध्यान पुग्नेपर्ने आवाज लगानीकर्ताले उठाउँदै आएका छन् । अन्यथा, समग्रमा अधिकांश वित्तीय सूचक र माहोल सेयर बजार अनुकुल नै देखिन्छन् ।

बैंकको लाइसेन्स अवधि तोक्ने गभर्नरको तर्कले जन्माएको आशंका

बिहीबार संघीय संसद अन्तर्गतको अर्थ समितिमा राष्ट्र बैंकका गभर्नर विश्वनाथ पौडेलले बैंकको लाइसेन्स अवधि तोक्न आवश्यक रहेको तर्क गरे । सबै क्षेत्रमा लाइसेन्स अवधि रहेको उल्लेख गर्दै पौडेलले बैंकको लाइसेन्सको पनि निश्चित अवधि तोकिनुपर्ने धारणा राखे जसलेसमेत लगानीकर्ताको ध्यानाकर्षण गराएको छ ।

समितिको बैठकमा गभर्नर पौडेलले धेरैजसो लाइसेन्सहरूको आयु रहेको तर, बैंकहरूको हकमा भने नरहेको उल्लेख गरे । जलविद्युतको आयोजना ३० वर्षमा फर्केर आउने, टेलिकमको पनि निश्चित वर्ष पछि सरकारको स्वामित्वमा आउने गरेको भएपनि बैंकको हकमा भने यस्तो नभएको तर्क उनको छ ।

‘गभर्नर र उनका सबै कुरालाई लगानीकर्ताले सकारात्मक रुपमा नै लिइरहेका थिए । यस्तो अवस्थामा उनले यस्तो तर्क नगरेको भए राम्रो हुन्थ्यो,’ गुरागाईं भन्छन्, ‘हुन त, त्यो उहाँले भन्ने बित्तिकै लागू हुन्छ भन्ने छैन । तर पनि यसले प्रमोटर सेयर लगानीकर्तालाई झस्काउने काम गर्छ ।’

उनले बैंकिङ समूह सेयर बजारको ठूलो हिस्सा रहेको क्षेत्र भएकाले सूचक उकालो लाग्न यस क्षेत्र सकारात्मक बन्न आवश्यक रहेको बताए । यसर्थ, सेयर बजारमा नकारात्मक प्रभाव पार्न सक्ने किसिमका यी र यस्ता कुराहरु अगाडि आएमा भने बजारले लय पक्रन नसक्ने तर्क लगानीकर्ताको छ ।