बैंकहरुमा बढी भएको पैसा तान्न एकैदिन ९० अर्बको निक्षेप संकलन बोलकबोल हुँदै


काठमाडौं । बैंकिङ प्रणालीमा रहेको अधिक तरलता व्यवस्थापन गर्न नेपाल राष्ट्र बैंकले एकैदिन ९० अर्ब रुपैयाँको निक्षेप संकलन उपकरण बोलकबोल गर्ने भएको छ । ३५ दिन अवधिको ९० अर्ब रुपैयाँको निक्षेप संकलन बोलकबोलमार्फत तरलता प्रशोचन गर्न लागेको केन्द्रिय बैंकले जनाएको छ ।

बैंकहरुले कर्जा लगानी गर्न नसक्दा अधिक तरलताको चाप बढ्दै गएको छ । बैंकिङ प्रणालीमा रहेको अधिक तरलता राष्ट्र बैंकले निरन्तर प्रशोचन गरीरहेको छ । निक्षेप संकलन बोलकबोलका साथै ब्याजदर करिडोरको तल्लो सीमा (फ्‌लोर रेट) को रुपमा रहेको निक्षेप संकल न दरमा स्थायी निक्षेप सुविधा पनि उपलब्ध गराउँदै आएको छ ।

फ्‌लोर रेटका कारण नै बचतको ब्याजदर राष्ट्र बैंकले ३ प्रतिशबाट तल झर्न दिएको छैन । यस्तै अ‍ौसत अन्तरबैंक ब्याजदर ३ प्रतिशतको करिब कायम राखेको छ । जसले गर्दा निक्षेपको ब्याजदर बैंकहरुले धेरै घटाउने नसकदा पनि औसन निक्षेपको ब्याजदर र कर्जाको ब्याजदर दशकपछिकै तल झरेको छ ।

आर्थिक वर्षको अन्त्यतिर आउँदा तरलताको चाप थप बढ्दै गएको छ । जसले गर्दा २१ दिनको निक्षेप संकलन उपकरण बोलकबोल गर्दै आएको राष्ट्र बैंकले पछिल्लो समय ४२ दिन र ३५ दिनको लागि उक्त उपकरण बोलकबोल सुरु गरेको छ ।

बुधबार पनि ३५ दिनको लागि ९० अर्ब तरलता प्रशोचन गर्न निक्षेप संकलन बोलकबोल गर्न लागेको हो । यसको ब्याजदर बोलकबोलबाट तय हुनेछ ।

राष्ट्र बैंकको ३ असारको तथ्यांक अनुसार बैंकिङ प्रणालीमा अधिक तरलता भएपछि खिचेको तररलता मौज्दात ४ खर्ब २८ अर्ब ९५ करोड पुगेको छ । चालु आर्थिक वर्ष सहित पछिल्लो ३ वर्षदेखि निक्षेपको तुलनामा कर्जाको वृद्धिदर न्युन हुँदा अधिक तरलताको चाप बढ्दै गएको छ । १ असारको तथ्यांक अनुसार बैंकिङ प्रणालीको कुल निक्षेप ७० खर्ब १ अर्ब पुग्दा कुल कर्जा ५५ खर्ब ६८ अर्ब पुगेको छ ।

गत २०८१ असार मसान्तमा कुल निक्षेप ६४ खर्ब ९६ अर्ब र कुल कर्जा ५१ खर्ब ७० अर्ब रुपैयाँ थियो । आर्थिक वर्षको ११ महिना सकिदा कुल निक्षेप ५ खर्ब भन्दा बढीले वृद्धि भई ७० खर्ब १ अर्ब पुगेको छ । त्यस्तै कर्जा २०८१ असार मसान्तमा ५१ खर्ब ७० अर्ब रहेकोमा १ असार २०८२ मा पुग्दा करिब ४ खर्बले बढेर ५५ खर्ब ६८ अर्ब पुगेको राष्ट्र बैंकले जनाएको छ ।