
काठमाडौं । सुरक्षित यातायातको रूपमा मानिने हवाई यात्रा बिहीबार एक भयावह दुर्घटनाको साक्षी बन्यो।
अहमदाबादबाट लन्डन जाँदै गरेको एअर इण्डियाको बोइङ ड्रीमलाइनर विमान एआई -१७१ उडेको केही मिनेटमै दुर्घटनाग्रस्त भयो। उक्त विमान एउटा मेडिकल कलेजको होस्टल भवनमा ठोक्किएर त्यसको मेसमा खसेपछि विस्फोटसहित आगोको मुस्लोमा परिणत भएको थियो ।
दुर्घटनामा १२ सदस्यीय चालक दलसहित २४२ यात्रु मध्ये २४१ जनाको मृत्यु भएको भारतीय सञ्चारमाध्यमले दावी गरेको छ। आज बिहान ६ बजेसम्म घटना वरिपरी भेटिएको शबसहित मृत्यु हुनेको संख्या २६१ पुगेको भारतीय सरकारले जनाएको छ । कतिपय विदेशी सञ्चार माध्यमले भने कम्तिमा २९० जनाको मृृत्यु भएको औल्याएको छ ।
एक यात्रु बाँच्न सफल भए
दुर्घटनामा आश्चर्यजनक रूपमा विश्वासकुमार रमेश नाम गरेका एक मात्र यात्रु जीवित बाँच्न सफल भएका छन्। उनी सिट नम्बर ११ ए मा आपतकालीन निस्कने ढोकाको छेउको झ्याल भएको सिटमा थिए। विमान खस्नै लाग्दा रमेशले हाम फालेर ज्यान जोगाएका थिए। हाल उनी अस्पतालमा उपचाररत छन्।
गुजरातका पूर्व मुख्यमन्त्री विजय रूपानीको निधन
मृतकमध्ये गुजरातका पूर्व मुख्यमन्त्री तथा भाजपा नेता विजय रूपानी समेत रहेका छन्। साथै, होस्टलमा बसिरहेका २० भन्दा बढी मेडिकल विद्यार्थीहरूको ज्यान गएको छ भने ५० भन्दा बढी घाइते छन्। प्रहरी उपायुक्त कानन देसाईका अनुसार हालसम्म २४० भन्दा बढी शव अस्पतालमा पुर्याइएको छ।
भारतको इतिहासमै सबैभन्दा भयावह विमान दुर्घटनामध्ये एक
ड्रीमलाइनर विमानको यो विश्वमै पहिलो दुर्घटना भएको एअर इण्डियाले राति जारी गरेको विज्ञप्तिमा उल्लेख छ। यो विमान अहिलेसम्मको सबैभन्दा सुरक्षित मानिन्थ्यो। यस दुर्घटनालाई भारतको इतिहासमै सबैभन्दा भीषण हवाई दुर्घटनामध्ये एक मानिएको छ।
राहत तथा उद्धार कार्य जारी
अहमदाबादस्थित सरदार वल्लभभाई पटेल अन्तर्राष्ट्रिय विमानस्थलबाट दिउँसो १.३९ मा उडेको विमान केही मिनेटमै एक आवासीय क्षेत्रमा खसेको हो। झण्डै डेढ एकड क्षेत्र आगो र धुवाँको चपेटामा परेको थियो। सूचना प्राप्त हुनासाथ व्यापक रूपमा राहत र उद्धार कार्य सुरु गरिएको हो।
दुर्घटनास्थलमा उद्धारकर्मीहरूले जलेको क्षेत्रभित्र अझै जीवित मानिसको खोजी भइरहेको छ । भारतका गृहमन्त्री अमित शाहले विमान दुर्घटनाका पीडितहरूको डिएनए परीक्षणका लागि फरेन्सिक विज्ञान प्रयोगशाला र राष्ट्रिय फरेन्सिक विज्ञान विश्वविद्यालयलाई जिम्मा दिइएको जानकारी दिए।
त्यसपछि मात्रै मृत्युको संख्या पुष्टि हुने बताइएको छ। घटनास्थलमा जताततै विमानका टुक्रा र मानव शरीरका जलेका अवशेष छरिएर रहेका थिए।
विमानको अगाडिको भाग भवनमा गाडिएको अवस्थामा
घटनामा वरपरका भवन तथा बोटबिरुवा समेत जलेर कालो भएको देखिन्छ। एक तस्वीरमा विमानको अगाडिको भाग भवनको माथिल्लो तल्लामा गाडिएको देखिन्छ। भिडियोमा विमानको नाक माथि उठ्नुपर्ने बेलामा तल झुकेको प्रस्ट देखिन्छ।
प्रारम्भिक रिपोर्टअनुसार विमानका दुबै इन्जिनले काम गर्न छाडेका थिए। यात्रुहरूमा धेरैजसो उच्चस्तरीय व्यक्ति, प्रवासी भारतीय तथा लन्डनको भिसा पाएका युवा थिए।
प्रत्यक्षदर्शीका अनुसार विमान निकै तल उडिरहेको थियो
प्रत्यक्षदर्शी हरेश शाहका अनुसार विमान निकै तल उडिरहेको थियो र बीजे मेडिकल कलेज तथा सिभिल अस्पतालको आवासीय क्वार्टरमा ठोक्किएको थियो। भवनमा बसोबास गर्ने धेरैजसो व्यक्ति घाइते भएका छन्।
ब्ल्याक बक्सको खोजी जारी
भवनको परिसरमा पार्क गरिएका गाडीहरूमा समेत आगो लागेको थियो। दुर्घटनापछि केहीबेरका लागि अहमदाबादको सम्पूर्ण उडान सेवा रोकिएको थियो। विमानको ब्ल्याक बक्स, फ्लाइट डाटा रेकर्डर तथा ककपिट भ्वाइस रेकर्डर खोजी भइरहेको छ। अमेरिकाले चाहेमा अनुसन्धानमा सहयोग गर्न तयार रहेको जनाएको छ।
बोइङ कम्पनीको आधिकारिक प्रतिक्रिया
विमान निर्माता कम्पनी बोइङले एअर इण्डियासँग सम्पर्कमा रहेको जनाएको छ। बोइङले अनुसन्धानमा आवश्यक सबै प्रकारको सहयोग गर्ने प्रतिबद्धता जनाएको छ। बोइङले यात्रु, चालक दल, उद्धारकर्मी र पीडितप्रति संवेदना व्यक्त गरेको छ। घटनाको अनुसन्धान एयरक्राफ्ट एक्सिडेन्ट इन्भेस्टिगेसन ब्यूरोले गर्नेछ, जसमा बेलायत तथा अमेरिकी विशेषज्ञको सहयोग लिइने सम्भावना छ।
पाइलटले ‘मेडे’ सन्देश दिएका थिए
एअर ट्राफिक कन्ट्रोलका अनुसार पाइलट कप्तान सुमित सबरवालले उडानको केही समयमै ‘मेडे’ आपतकालीन सन्देश दिएका थिए। त्यसपछि विमानको सँग सम्पर्क टुटेको थियो। ‘मेडे’ शब्द फ्रेन्च भाषाबाट आएको हो, जसको अर्थ हो ‘मलाई सहयोग गर।’
विमान विशेषज्ञहरूको प्रारम्भिक आँकलन
पूर्व पाइलट एहसान खालिदका अनुसार विमानको फ्लाइट डाटा रेकर्डर तथा ककपिट भ्वाइस रेकर्डरबाट मात्र वास्तविक कारण खुल्नेछ। तर उनले भने, ‘एकैचोटि दुबै इन्जिनले काम गर्न छाड्नु दुर्लभ घटना हो।’ ल्यान्डिङ गियर पनि उडानपछि झिकिनु पर्ने हो, तर त्यस्तो नभएको देखिन्छ। यसले टेकअफको समयमा नै इन्जिनको समस्या देखिएको संकेत दिन्छ।
अमेरिकी विशेषज्ञको भनाइ
अमेरिकी विमान सुरक्षा सल्लाहकार जान एम कोक्सका अनुसार विमानका स्ल्याट र फ्ल्यापहरू ठीकसँग कन्फिगर नभएको हुन सक्ने संकेत देखिन्छ। अर्का विशेषज्ञ एन्थनी ब्रिकहाउसले ल्यान्डिङ गियरको स्थिति असामान्य रहेको बताएका छन्।
अघिल्लो यात्रुको अनुभव पनि शंकास्पद
दुर्घटनाको केही घण्टा अघि मात्र सोही विमानमा यात्रा गरेका आकाश वत्सले उक्त विमानको एसी, रिमोट र स्क्रिनले काम नगरेको बताएका छन्। एक्स (ट्विटर) मा पोस्ट गर्दै उनले यात्राको अनुभव बाँडेका छन्। उनले विमानको फ्ल्यापले अजीबो व्यवहार गरेको बताएका छन्। पाइलटले मौसम सामान्य भए पनि टर्बुलेन्सको चेतावनी दिएका थिए। आकाशले विमानको भित्रको भिडियो र तस्वीर समेत सार्वजनिक गरेका छन्।
अस्पतालमा नखसेर ठूलो दुर्घटना टर्यो
कप्तान सबरवालले विमानलाई अस्पतालमा नखसालेर होस्टलतर्फ मोड्नु एक निर्णयले ठूलो जनधनको क्षति हुनबाट जोगाएको बताइएको छ। नजिकै रहेको १,२०० बेडको सिविल अस्पतालमा विमान खसेको भए क्षति अझ भयावह हुन सक्थ्यो।








प्रतिक्रिया