अफताब आलमलाई सफाई दिने न्यायाधीश थारूमाथि इजलासमै छिरेर कालोमोसो

2.8k
Shares

काठमाडौं । उच्च अदालत, वीरगञ्जका न्यायाधीश खुसीप्रसाद थारुलाई कालो मोसो खलिएको छ । अफताब आलमलाई सफाइ दिएको भन्दै न्यायाधीश थारूलाई नेकपा बहुमतका कार्यकर्ताहरूले छ्यापेका हुन् ।

इजलासमा मुद्दा सुनुवाई भइरहेको समयमै छिरेर न्यायाधीश थारुमाथि मोसो छ्यापिएको हो । न्यायाधीशमाथि कालो मोसो छ्याप्ने दुई जना पक्राउ परेका छन् । मोसो छ्याप्न पुगेका उनीहरूले आलमलाई सफाई दिएकोमा विरोध गरेका थिए ।

गत जेठ १४ गते बम विस्फोटमा घाइते भएकालाई जिउँदै इँटाभट्टामा जलाएर हत्या गरेको आरोप लागेको पूर्वसांसद मोहम्मद अफताब आलमले सफाइ पाएका थिए । उच्च अदालत जनकपुरको वीरगञ्ज इजलासले जिल्ला अदालत रौतहटको फैसला उल्ट्याएको थियो ।

न्यायाधीशद्वय थारु र अर्जुन महर्जनको इजलासले जिल्ला अदालत रौतहटको फैसला उल्टी गर्ने आदेश दिएको थियो ।

नेपाली कांग्रेसको पूर्वसांसद समेत रहेका आलमले काका शेख इन्द्रिसको घरमा बम बनाउने क्रममा विस्फोट भएर घाइते भएका त्रिलोकप्रताप सिंह र ओशी अख्तरसहित घाइतेहरूलाई जिउँदै इँटाभट्टामा जलाएर हत्या गरेको आरोप आलममाथि थियो ।

२०६४ को संविधान सभाको निर्वाचनको अघिल्लो राति बम विस्फोटमा घाइते भएकाहरुलाई रौतहटको राजपुरस्थित इँटा भट्टामा पोलेर हत्या गरेको आरोपमा उनलाई जिल्ला अदालत रौतहटले दोषी ठहर गरेको थियो । घटनाको १२ वर्षपछि आलमलाई १९ असोज २०७६ मा पक्राउ गरी प्रहरीले अनुसन्धान गरेको थियो । सोही मुद्दामा जिल्ला अदालत रौतहटले उनलाई दोषी ठहर गर्दै जन्मकैदको फैसला गरेको थियो । तर, उच्च अदालत जनकपुरको वीरगञ्ज इजलासले भने उनलाई सफाइ दिएको हो ।

आलमले नै बनाउन लगाएको बम बिस्फोटमा परेर घाइते भएकाहरूलाई घटना सार्वजनिक हुने भन्दै जिउँदै इँटाभट्टामा जलाएर हत्या गरिएको आरोपमा उनी जिल्ला अदालतबाट दोषी ठहर भएका थिए ।