अमेरिका जान खोज्ने विद्यार्थीमाथि ट्रम्पको कडाइ, अन्तर्वार्ता रोक्न दूतावासहरुलाई पत्र

224
Shares

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रशासनले विद्यार्थी भिसाका लागि अन्तर्वार्ता गर्ने काम बन्द गर्न दूतावासहरूलाई आदेश दिएको छ । यस्तो भिसा आवेदकहरूका लागि सामाजिक सञ्जाल परीक्षण विस्तार गर्ने तयारी भइरहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् ।

विदेशमन्त्री मार्को रुबियोले उक्त रोक ‘अर्को निर्देशन नभएसम्म’ कायम रहने बताएका छन् ।

दूतावासहरूमा पठाइएको सन्देशमा भनिएको छ, विद्यार्थी र विदेशी विनिमय कार्यक्रमका भिसाहरूका लागि सामाजिक सञ्जाल परीक्षण कडाइका साथ गरिनेछ, जसको ‘दूतावास र वाणिज्य दूतावासहरूमा महत्वपूर्ण प्रभाव’ पर्नेछ।

यो घटनाक्रम अमेरिका भित्रका केही प्रतिष्ठित विश्वविद्यालयहरूसँग ट्रम्पकोको विवादबीच आएको हो । ति विश्वविद्यालयहरुलाई उनले अत्यधिक वामपन्थी भएको आरोप लगाउँदै आएका छन् । उनले केही क्याम्पसहरूमा यहूदी विरोधी गतिविधिलाई प्रोत्साहन गरिएको र विभेदकारी प्रवेश नीतिहरूलाई समर्थन गरिएको आरोप लगाएका छन् ।

बीबीसीका अमेरिकी साझेदार सीबीएस न्यूजले प्राप्त गरेको विदेश मन्त्रालयको मेमो अनुसार, मंगलबार अमेरिकी दूतावासहरूलाई विद्यार्थी भिसाका लागि बाँकी रहेका अन्तर्वार्ता हटाउन भनिएको छ, यद्यपि पहिले नै तालिकाबद्ध गरिएका अन्तर्वार्ताहरू भने यथावत रहनेछन्।

डिप्लोम्याटिक क्याबल अनुसार, विदेश मन्त्रालयले सबै विद्यार्थी भिसा आवेदनहरूमा लागू हुने गरी ‘सामाजिक सञ्जाल परीक्षण र छानबिनको विस्तार’ गर्न तयारी गरिरहेको छ । तर उक्त परीक्षणले के के कुरा जाँच्नेछ भन्ने भने उल्लेख गरिएको छैन ।

अमेरिकामा अध्ययन गर्न चाहने विदेशी विद्यार्थीहरूलाई प्रायः आफ्नो देशस्थित अमेरिकी दूतावासमा अन्तर्वार्ताका लागि समय तय गर्नुपर्छ, जुन स्वीकृतिको लागि अनिवार्य प्रक्रिया हो।

धेरै शिक्षण संस्थाहरू आफ्नो आम्दानीको ठूलो हिस्सा विदेशी विद्यार्थीहरूबाट प्राप्त शुल्कमा भर पर्छन्, किनभने उनीहरूले घरेलु विद्यार्थीभन्दा बढी शुल्क तिर्छन्।

विद्यार्थी भिसाका बारेमा विदेश मन्त्रालयका प्रवक्ता ट्याम्मी ब्रुसले मंगलबार पत्रकारहरूलाई भनिन्, ‘हामी हाम्रो देशमा को प्रवेश गर्छ भन्ने प्रक्रिया निकै गम्भीरताका साथ लिन्छौं, र त्यसलाई निरन्तर गर्दै जानेछौं ।’

ट्रम्प प्रशासनले विश्वविद्यालयहरूको लागि सयौं मिलियन डलरको बजेट रोक्का गरेको छ र केही विद्यार्थीहरूलाई निष्कासन गर्न खोजेको छ, साथै हजारौंको भिसा खारेज गरिएको छ । यस्ता धेरै कार्यहरू अदालतद्वारा रोकिएको छ।

ह्वाइट हाउसले केही अमेरिकी विश्वविद्यालयहरूलाई क्याम्पसमा भएको प्यालेस्टिनी समर्थक गतिविधिमा यहूदी विरोधी भावना हावी हुन दिएको आरोप लगाएको छ।

विश्वविद्यालयहरूले भने ट्रम्प प्रशासनले अभिव्यक्ति स्वतन्त्रताको हकमा हस्तक्षेप गर्न खोजेको आरोप लगाएका छन्।

हार्वर्ड विश्वविद्यालय राष्ट्रपति ट्रम्पको आलोचनाको केन्द्रमा रहेको छ । गएको हप्ता ट्रम्प प्रशासनले हार्वर्डलाई अन्तर्राष्ट्रिय विद्यार्थी भर्ना गर्ने वा विदेशी अनुसन्धानकर्ताहरूलाई स्वागत गर्ने अधिकार खारेज गर्‍यो । तर अदालतले ट्रम्पको उक्त नीतिलाई रोक लगाइदियो ।

यदि यो नीति लागू भयो भने, अधिकां विदेशी विद्यार्थी रहेको हार्वर्ड विश्वविद्यालयलाई ठूलो क्षति पुर्याउन सक्ने बीबीसीले जनाएको छ ।