मानव अधिकार आयोगले भन्यो- प्रधानमन्त्रीको अभिव्यक्ति चिन्ताजनक

189
Shares

काठमाडौं । राष्ट्रिय मानव अधिकार आयोगले प्रधानमन्त्री केपी शर्मा ओलीको आइतबारको अभिव्यक्तिप्रति गम्भीर ध्यानाकर्षण गराएको छ । प्रधानमन्त्रीको अभिव्यक्तिले मानव अधिकारका मूल्य र मान्यताविपरीत जाने भन्दै आयोगले आपत्ति जनाएको छ।

प्रधानमन्त्री ओलीले आइतबार दिउँसो पार्टीको एक प्रशिक्षण कार्यक्रममा सम्बोधन गर्दै, आगामी जेठ १५ गते दिउँसो ११ बजेदेखि २ बजेसम्म काठमाडौं आफ्नो पार्टीको नियन्त्रणमा रहनुपर्ने अभिव्यक्ति दिएका थिए ।

उनले सो दिन राजावादी समूहद्वारा आयोजना गरिने भनिएको प्रदर्शनलाई लक्षित गर्दै आफ्ना कार्यकर्ताहरूलाई त्यसविरुद्ध सडकमा उत्रन निर्देशनसमेत दिएका थिए ।

प्रधानमन्त्रीको उक्त भनाइप्रति सामाजिक सञ्जालमा तीव्र आलोचना भइरहेका छन् ।

यस सन्दर्भमा आयोगले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘यस्तो परिस्थितिमा अरूको विचार, अभिव्यक्ति र प्रदर्शनलाई लक्षित गरी प्रधानमन्त्रीबाट आएको उक्त अभिव्यक्ति चिन्ताजनक छ ।’

आयोगका प्रवक्ता डा. टिकाराम पोखरेलद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘देशको शान्ति, सुरक्षा र अमनचयन कायम गर्ने जिम्मेवारी सरकारका सुरक्षा निकायको हो । लोकतान्त्रिक मुलुकमा कुनै पनि पार्टीले कुनै क्षेत्र कब्जामा लिने अभिव्यक्ति दिनु विधिको शासनको विपरीत हो र यसले निषेधात्मक वातावरण सिर्जना गर्न सक्छ ।’

आयोगले नेपालका संविधान र कानुनले शान्तिपूर्ण ढंगले विचार र अभिव्यक्ति राख्न अनुमति दिएको स्मरण गराउँदै, प्रधानमन्त्रीजस्तो जिम्मेवार व्यक्तिले सार्वजनिक अभिव्यक्तिमा संयमता अपनाउनु आवश्यक रहेको उल्लेख गरेको छ ।

‘जुनसुकै व्यक्ति, समूह वा पार्टीलाई विचार र अभिव्यक्तिको स्वतन्त्रता भए पनि त्यसले मुठभेड निम्त्याउने खालका उत्तेजक अभिव्यक्ति हुनु मानव अधिकारका मूल्यमान्यताको उल्लङ्घन हो,’ विज्ञप्तिमा भनिएको छ ।

आयोगले सुरक्षा निकायलाई राजधानीसहितका क्षेत्रहरूको शान्ति-सुरक्षा सुदृढ बनाउन, र सबै पक्षलाई आफ्ना विरोध तथा प्रदर्शनहरू शान्तिपूर्ण तरिकाले गर्न आग्रह गरेको छ ।