
काठमाडौं । सोना प्याकेजिङ इन्डष्ट्रिजले चालु आर्थिक वर्षको ९ महिनामा डेढ अर्बको कारोबार गरेको छ । कम्पनीले सन् २०२५ को ९ महिनाको अवधिमा १ अर्ब ५० करोड ५० लाख रुपैयाँको कारोबार गरेको हो ।
कम्पनीले सन् २०२४ मा १ अर्ब ७३ करोड रुपैयाँ, सन् २०२३ मा १ अर्ब ७४ करोड ५० लाख रुपैयाँ र सन् २०२२ मा १ अर्ब ६९ करोड ५० लाख रुपैयाँको व्यापार गरेको थियो ।
सन् २००७ मा स्थापना भएको कम्पनीले विभिन्न प्रकारका फ्लेक्जिबल र्यापर र प्याकिङ सामग्री उत्पादन गर्दै आएको छ । रुपन्देहीमा उद्योग रहेको कम्पनीले मासिक ७ सय मेट्रिक टन प्याकिङ सामग्री उत्पादन गर्ने क्षमता छ।
कम्पनीअनुसार सन् २०२५ को ९ महिनाको अवधिमा कारोबार रिबाउन्ड भएको जनाएको छ ।
कम्पनीले दीर्घकालीन तथा अल्पकालीन कर्जाका लागि ७२ करोड १८ लाख रुपैयाँको रेटिङ गराएको छ । कम्पनीले दीर्घकालीन कर्जाका लागि ६ करोड ३१ लाख रुपैयाँ र अल्पकालीन कर्जाका लागि ६६ करोड १० लाख रुपैयाँको रेटिङ गराएको छ ।
कम्पनीले अधिकांश व्यापार प्याकिङ सामग्रीबाट गरेको जनाएको छ । उक्त प्याकिङ सामग्री विभिन्न उद्योगमा प्रयोग हुने गरेको कम्पनीको भनाइ छ ।
कम्पनीले प्याकिङ सामग्री उत्पादनका लागि आवश्यक कच्चा पदार्थ स्वदेशी तथा विदेशबाट आयात गरी उत्पादन गर्दै आएको छ । कम्पनीले विशेषगरी कच्चा पदार्थ भारतबाट आयात गर्ने गरेको रेटिङमा उल्लेख गरेको छ ।
कम्पनीको अध्यक्ष चुन्नप्रसाद शर्मा हुन् । उनी यशोदा फुड्स प्रालिको पनि अध्यक्ष हुन् ।







प्रतिक्रिया