‘कर्मचारी पक्राउ पर्दा गृहमन्त्रीले राजीनामा दिनुपर्छ र ?’

0
Shares

काठमाडौं । सञ्चार, सूचना तथा प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले अध्यागमन विभागका एक कर्मचारी पक्राउ परेको आधारमा गृहमन्त्री रमेश लेखेको राजीनामा आवश्यक नरहेको बताएका छन् ।

आइतबार भद्रकालीमा आयोजित फोटो प्रदर्शनी कार्यक्रममा सहभागी हुन जाँदै गर्दा सञ्चारकर्मीहरूसँग कुरा गर्दै मन्त्री गुरुङले यस्तो धारणा राखेका हुन् ।

सरकारका प्रवक्ता समेत रहेका गुरुङले घटना सम्बन्धमा पहिले छानबिन हुन दिनुपर्ने बताए । ‘अध्यागमनमा जे प्रकारको अनियमितता भएको छ, त्यसको छानबिन भइरहेको छ। त्यसलाई अघि बढ्न दिनुपर्छ,’ उनले भने ।

गृहमन्त्रीको राजीनामा माग भइरहेको सन्दर्भमा उठेको प्रश्नमा उनले प्रतिप्रश्न गरे, ‘तीर्थ भट्टराई पक्राउ पर्छ भनेर गृहमन्त्रीले राजीनामा दिनुपर्ने हुन्छ र ?’

त्यसैगरी, मन्त्री गुरुङले केवल भाषण र नाराले समृद्धि सम्भव नहुने भन्दै अब कम बोल्ने र धेरै काम गर्ने संस्कृतिको थालनी गर्नुपर्ने आवश्यकता औँल्याए।