अकामा होटलको व्यापार २५ प्रतिशतले बढ्यो, कति गर्यो व्यापार

350
Shares

काठमाडौं । काठमाडौंको धुम्बराहीमा सञ्चालनमा रहेको पाँचतारे अकामा होटलको व्यापारमा वृद्धि भएको छ ।

कम्पनीको व्यापार सन् २०२३ को तुलनमा सन् २०२४ मा २५ प्रतिशतले बढेको छ ।

सन् २०२३ मा १७ करोड ७० लाख रुपैयाँको व्यापार गरेको होटलले सन् २०२४ मा २२ करोड १० लाख रुपैयाँको व्यापार गरेको छ । सन् २०२२ मा अकामाले १० करोड र सन् २०२१ मा २ करोडको व्यापार गरेको थियो ।

कम्पनीले २२ करोड रुपैयाँको व्यापार गर्दा मिटिङ, इन्सेन्टिभ्स, कम्फरेन्स र एक्जिभसनबाट मात्रै ४६ प्रतिशत आम्दानी गरेको छ । त्यसपछि ४९ प्रतिशत आम्दानी कोठाको लजिङ र सेवाबाट गरेको छ ।

सन् २०१४ मा निजी कम्पनीका रुपमा सुरु भएको अकामा सन् २०२२ मा पब्लिक कम्पनीमा रुपान्तरण भएको थियो । धुम्रबाराहीमा रहेको यो होटल १.१३ एकड जमिनमा फैलिएको छ भने यसमा १०८ वटा कोठाहरु रहेका छन् ।

कम्पनीले अकामाको नामबाट होटल सञ्चालन गर्दै आएको छ । सानिमा ग्रुप अफ कम्पनीज प्रोमोटर समूहका रुपमा रहेको अकामाको बोर्डलाई बिनय कुमार श्रेष्ठले नेतृत्व गरिरहेका छन् ।

विभिन्न सेवा सुविधाका साथ सेवा दिँदै आएको कम्पनीले दीर्घकालीन कर्जाका लागि १ अर्ब १० करोड ५२ लाख रुपैयाँको रेटिङ गराएको छ ।