जेसीबी हेभी इक्विपमेन्ट २० प्रतिशत डाउन पेमेन्टमा पाइने



काठमाडौं । नेपालका लागि जेसीबी निर्माण तथा हेभी इक्विपमेन्टको आधिकारिक विक्रेता एमएडब्लु अर्थमुभर्सले २० प्रतिशत डाउनपेमेन्टमा जेसीबी मेसिन खरिद गर्न सकिने योजना ल्याएको छ ।

यो योजना अनुसार ग्राहकले मात्र २० प्रतिशत डाउन पेमेन्टमा जेसीबी ब्रान्डका मेसिन खरिद गर्न पाउनेछन् । यसअघि यस्तो मेसिन २० प्रतिशत डाउनपेमेन्टमा खरिद गर्न पाउने योजना नरहेको कम्पनीको दाबी छ ।

जेसीबीको नयाँ अफरमा एनसीसी बैंकले फाइनान्स सुबिधा उपलब्ध गराउने भएको छ । यसको लागि बुधबार एमएडब्लु अर्थमुभर्सका प्रबन्ध निर्देशक विष्णु कुमार अग्रवाल र एनसीसी बैंकका प्रमुख कार्यकारी अधिकृत रमेश राज अर्यालले समझदारी पत्रमा हस्ताक्षर गरे ।

यो योजना अनुसार ग्राहकले जेसीबी मेसिन खरिद गर्दा एनसीसी बैंकमा मूल्यको २० प्रतिशत रकम डाउन पेमेन्ट गर्दा हुने बैंकका प्रमुख कार्यकारी अधिकृत अर्यालले जानकारी दिए । मेसिन खरिद गर्नको लागि थप धितो पनि चाहिन सक्ने उनले संकेत गरे ।

यस्तो कर्जा ५ बर्षको हुने सो कार्यक्रममा जानकारी दिइयो । कर्जाको ब्याजदर प्रचलित दर अनुसारै हुने बैंकले जानकारी दिएको छ । मेसिनको मूल्य साढे ९२ लाख रुपैयाँदेखि १ करोड ३८ लाख रुपैयाँसम्म पर्ने प्रालिका प्रबन्ध निर्देशक अग्रवालले जानकारी दिए । मेसिनको १ बर्षसम्मको बीमा प्रालिले आफ्नो तर्फबाट गरिदिनेछ ।

यो योजनालाई आकर्षक बनाउन ‘विकासका लागि निर्माण, निर्माणका लागि जेसीबी’ अभियान सुरु गरिएको छ । स्थानीय, प्रादेशिक र संसदीय निर्वाचनको समापनसँगै अब विकास निर्माणको कामले तीव्रता पाउने भएकोले त्यसको लागि आवश्यक हेभी इक्विमेन्ट खरिदमा यस्तो योजना ल्याइएको कम्पनीका मार्केङ हेड दीपकराज गिरीले जानकारी दिए ।

जेसीबीका एस्काभेटर, ब्याकहो लोडर, रोलर, कम्प्याक्टर, ह्विल लोडर, लोडअल र रोबोट लगायत उत्पादन बजारमा छन् । इन्धन कम खपत हुने, मर्मत खर्च कम लाग्ने र उत्कृष्ट काम गर्ने भएका कारण यी मेसिनहरु लोकप्रिय छन् । पर्याप्त जनशक्ति र स्पेयर्सका कारण जेसीबीप्रतिको जनविश्वास बढ्दै गएको प्रालिको भनाइ छ ।

एमएडब्लु अर्थमुभर्सले सन् २००३ मा बेलायती हेभी इक्विपमेन्ट ब्रान्ड जेसीबीको डिलरसिप लिएको थियो । ललितपुरमा रहेको जेसीबीमा हाल साढे दुई सयभन्दा बढी कर्मचारी कार्यरत छन् भने अर्थमुभिङ र निर्माण उपकरण क्षेत्रमा यसको बजार हिस्सा ५० प्रतिशतभन्दा बढी रहेको प्रालिको दाबी छ ।

देशभर ११ स्थानमा ‘थ्रि एस’ सुविधासहितको शाखा, चार वटा आधिकारिक विक्री केन्द्र (एआरओ) र एक सय ६६ जना सर्भिस इन्जिनियर जेसीबीका ग्राहकको सेवामा छन् । हाल जेसीबीले काठमाडौं, पोखरा, बुटबल, धनगढी, इटहरी, वीरगञ्ज, चितवन, दाङ, सुर्खेत र जनकरपुरबाट सेल्स, सर्भिस र स्पेयरको सेवा दिइरहेको छ ।

नयाँ योजना अनुसार मेसिन खरिद गर्न चाहनेले कम्पनीको आधिकारिक विक्री सेन्टर वा एनसीसी बैंकको शाखा कार्यालयमा सम्पर्क गर्न सक्ने सो अबसरमा जानकारी दिइयो ।


क्लिकमान्डु