गभर्नर सम्बन्धी मुद्दा श्रेष्ठ र ढकालको इजलासमा, आज सुनुवाइ हुने सम्भावना कति ?

644
Shares


काठमाडौं । गभर्नरको उमेरहद सम्बन्धी मुद्दामा आज(बुधबार) सुनुवाइ हुँदै छ । न्यायाधीशद्वय तिलप्रसाद श्रेष्ठ र बालकृष्ण ढकालको इजलासमा पेसी परेको हो । सरकारले अर्थमन्त्रालय सम्वद्ध सार्वजनिक संस्थानको पदाधिकारी तथा सदस्य नियुक्ति सम्बन्धी मापदण्ड संशोधन गर्दै उमेहद सम्बन्धी व्यवस्था हटाएको थियो ।

गत फागुनमा नै सरकारले मापदण्ड संशोधन गरी पदाधिकारीको हकमा ३० वर्ष पूरा भई ६५ वर्ष ननाघेको र सदस्यको हकमा ३५ वर्ष पूरा भई ६५ वर्ष ननाघेको हुनुपर्ने व्यवस्था हटाएको थियो । उक्त व्यवस्था कुनै व्यक्तिलाई नियुक्त दिनको लागि हटाएको भन्दै अधिवक्तद्वय विशाल थापा र प्रतिभा उप्रेतिले चैत ३१ मा सर्वोच्चमा रिट दायर गरेका थिए ।

उक्त रिटमाथि सुनुवाइ गर्दै सर्वोच्च अदालतका न्यायाधीश नित्यानन्द पाण्डेयका एकल इजालाले वैशाख २ मा कारण देखाउ आदेश जारी गर्दै अल्पकालीन अन्तरीम आदेश दिएको थियो । साथै अन्तरिम आदेशका लागि छलफलको लागि ७ गते पेशी तोके पनि सुनुवाइ हुन सकेको छैन ।

त्यसैबीच उच्च राजनीतिक नेतृत्वबीच राष्ट्र बैंकका कार्यकारी निर्देशक डा. गुणाकर भट्टलाई गभर्नर नियुक्त गर्ने सहमति भएको समाचार बाहिरियो । डा. भट्टले पनि ५ चैतमा राष्ट्र बैंकको कार्यकारी निर्देशकबाट राजीनामा दिए ।

भट्टले राजीनामा दिए पनि उनको राजीनामा स्वीकृत भएको छैन । उनले राष्ट्र बैंकको कर्मचारी सेवा विनियमावलीको व्यवस्था पूरा गरी राजीनामा दिए पनि कायम मुकायम गभर्नर डा. निलम ढुंगाना तिम्सिनाले राजीनामा स्वीकृत गरेकी छैनन् ।

भट्टलाई गभर्नर बनाउने सहमति भएको र उनले राजीनामा दिएको समाचारसँगै वैशाख ५ मा अधिवक्ताद्वय थापा र उप्रेतीले उमेहद सम्बन्धी रिटमा नै गुणाकर भट्टको योग्यता नपुग्ने भन्दै पुरक निवेदन दर्ता गराए । बहालवाला कार्यकारी निर्देशकको गभर्नरको लागि योग्यता नपुग्ने भन्दै पूरक निवेदन सर्वोच्च प्रशासनले दर्ता गरे पनि उक्त मुद्दामाथि सुनुवाइ हुन नसकेको कारण इजलासले उक्त पूरक निवेदन स्वीकार गर्ने वा नगर्ने निश्चित छैन ।

सोही मुद्दाको सुनुवाइको लागि बुधबार पेसी चढेको छ । झ नम्बरमा पेसीमा रिट परेको छ । झ नम्बर अघि दुईवटा अन्तरिम आदेशका मुद्दा सुनुवाइ भएपछि गभर्नर सम्बन्धी मुद्दामाथि सुनुवाइ हुने छ । यसअघि यस मुद्दा ७ पटक हेर्न नभ्याइनेमा परिसकेको छ ।