
काठमाडौं । चीनले अमेरिकी सामानको आयातमाथि ८४ प्रतिशत कर लगाउने घोषणा गरेको छ । यो नयाँ कर चीनले आजैदेखि कार्यान्वयनमा ल्याएको छ ।
अमेरिकाले चीनको सामानमाथि लगाएको १२५ प्रतिशत करपछि चीनले पनि अमेरिकी सामानमाथि ८४ प्रतिशत कर लगाउने नीति कार्यान्वनयमा ल्याएको छ ।
विश्वको दुई ठूलो मुलुकको अर्थव्यवस्था बीच भइरहेको यो व्यापार युद्धका कारण विश्व बजार तनावमा छ ।
यसअघि ट्रम्पले चीनलाई २४ घण्टाको अल्टिमेटम दिँदै अमेरिकी सामानमाथि लगाइएको ३४ प्रतिशत शुल्क फिर्ता लिन चेतावनी दिएको थियो । चीनले उक्त उक्त शुल्क फिर्ता लिन नमानेपछि ट्रम्पले चिनियाँ सामानमाथि १२५ प्रतिशत कर लगाएका थिए ।
चीनको वाणिज्य मन्त्रालयले बुधबार एक विज्ञप्ति जारी गर्दै चीनविरुद्ध अमेरिकाले शुल्क बढाएर पटक पटक गल्ति गरेको बताएको छ । अमेरिकाले बृद्धि गरेको शुल्क फिर्ता नलिए अमेरिकासँग चीन अन्तिम समयसम्म डटेर मुकावला गर्ने जनाएको छ।
गत् फेव्रुअरीमा अमेरिकाले चीनमाथि १० प्रतिशत शुल्क लगाएको थियो । यसको जवाफमा चीनले अमेरिकाबाट आयात हुने कोयला र तरल प्राकृतिक ग्यासमाथि १५ प्रतिशत शुल्क र कच्चा तेल, कृषि मेशिनरी र ठूलो कारमाथि १० प्रतिशत शुल्क लगाएको थियो ।
ट्रम्पले चीनको यो नीतिको कडा शब्दमा निन्दा गर्दै चीनमाथी १० प्रतिशत थप शुल्क लगाइदियो । यसले गर्दा चिनीको आयातमाथि कूल २० प्रतिशत शुल्क कायम भएको थियो ।
यसको प्रतिउत्तरमा चीनले फेरी अमेरिकाबाट आयात हुने अमेरिकी चिकेन, गहुँ, मकै र कपासमाथी १५ प्रतिशत र कोदो, सोयाबीन, सुँगुर वंगुर, बीफ, समुद्री उत्पादन, फल, तरकारी र डेरी उत्पादनमा १० प्रतिशत शुल्क लगाइदिएको थियो ।
यसपछि ट्रम्पले रेसिप्रोकल ट्यारिफ नीति कार्यान्वयनमा ल्याएका थिए । यो योजनाअनुसार अमेरिकाले कुनै पनि मुलुकद्वारा आफ्नो सामानमाथि लगाइने शुल्कको आधा हिस्सा त्यस मुलुकको आयात हुने सामानमाथि लगाउने नीति थियो ।
यो नीतिअनुसार चीनबाट हुने आयातमाथि ३४ प्रतिशत अतिरिक्त शुल्क लाग्यो । यसले गर्दा यो शुल्क कूल ५४ प्रतिशत पुगेको थियो । हालै अमेरिकाले थप ५० प्रतिशत थप शुल्क लगाइदियो । ५४ र ५० गरी कूल १०४ प्रतिशत शुल्क चीनमाथि अमेरिकाले लगाएको थियो ।
यसको जवाफमा चीनले अमेरिकाबाट आयात हुने सामानमा एकमुष्ट ८४ प्रतिशत शुल्क लगाएको थियो । यो शुल्क पहिले ३४ प्रतिशत थियो ।
चीनको नयाँ शुल्क दरपछि अमेरिकाले बुधबारदेखि अमेरिकाले चीनमाथि फेरी २१ प्रतिशत थप शुल्कसहित एक मुष्ट १२५ प्रतिशत शुल्क लगाइदिएको थियो ।
ट्रम्पको रेसिप्रोकल ट्यारिफ नीतिका कारण अमेरिकासहित वैश्विक बजारको शेयर बजारमा १० लाख करोड डलरबराबरको गिरावट आएको छ ।
अमेरिकामा आयात हुने कूल सामानको परिमाणमध्ये झण्डै १४ प्रतिशत चीनबाट भित्र्याउँछ । अमेरिकाले चीनबाट वार्षिक ४४० अर्ब डलरबराबरको सामान आयात गर्छ ।








प्रतिक्रिया