
विराटनगर । नेपाल विद्युत प्राधिकरणले लोडसेडिङ अन्त्यको घोषणा गरे पनि उद्योगीले भने नियमित लोडसेडिङको मार खेप्नुपरेको छ । प्राधिकरणले २०७५ सालमा मुलुकमा लोडसेडिङ मुक्त घोषणा गरेको थियो । तर सुनसरी-मोरङ औद्योगिक क्षेत्रले अहिले सम्म नियमित लोडसेडिङको मार भोग्दै आएको छ ।
लोडसेडिङ मुक्त घोषणा गरेको करिब एक वर्षसम्म यहाँको सुनसरी मोरङ औद्योगिक क्षेत्रका ५ सयभन्दा बढी उद्योगले केही राहत पाएको अनुभव गरेका थिए । तर, त्यसको एक वर्षदेखि अहिलेसम्म यहाँका उद्योगले सुरुवाती दैनिक २ घण्टा, ४ घण्टा, ६ घण्टा, ८ घण्टा हुँदै यसबेला १२ घण्टा नियमित लोडसेडिङको मार भोग्दै आएको सम्बद्ध उद्योगीको गुनासो छ ।
‘घोषणाको करिब एक वर्षसम्म औद्योगिक क्षेत्रमा छोटो समय विद्युत आपूर्ति बन्द भएर आइहाल्थ्यो । घोषणाको एक वर्षपछि देखि उद्योगको विद्युत खपत क्षमताअनुसार दिनहुँ २–४ घण्टा विद्युत आपूर्ति हुन छाड्यो । त्यो क्रम बढदै साता अघिसम्म ठुला उद्योगमा दैनिक ८ घण्टा र साना उद्योगमा ६ घण्टा विद्युत आपूर्ति कटौती हुँदै आएको थियो,’ उद्योग संगठन मोरङका वरिष्ठ उपाध्यक्ष नन्दकिशोर राठीले भने, ‘अहिले त्यो क्रम बढेर दैनिक १२ घण्टा पुग्दा औद्योगिक वातावरण नै ध्वस्त बनेको छ ।’
उनका अनुसार साता पहिलासम्म दैनिक ८ घण्टा लोडसेडिङ हुँदा उद्योगले ६० प्रतिशतसम्म उत्पादन कटौती गरेका थिए । दैनिक १२ घण्टा लोडसेडिङ सुरु भएपछि उद्योगको उत्पादन ७० प्रतिशत सम्म कटौती भएको छ ।
विद्युत प्राधिकरणले विशेष गरेर सुनसरी मोरङ औद्योगिक क्षेत्रमा पुसदेखि जेठसम्म चरमबद्ध रुपमा विद्युत आपूर्ति अनियमित गर्दै आएको उद्योग संगठन मोरङको सर्वेक्षणले देखाएको छ ।
संगठनले औद्योगिक करिडोरका साना ठूला ६ सय उद्योगमा सर्वेक्षण गर्दा यो करिडोरमा एक महिनामा कम्तीमा १३ घण्टादेखि २९४ घण्टा सम्म विद्युत आपूर्ति बन्द भएको पाइएको छ ।
संगठनले पाँच वर्षसम्म औद्योगिक क्षेत्रको पुसदेखि जेठ महिनासम्मको विद्युत आपूर्तिको सर्वेक्षण गर्दा यो तथ्याङ फेला परेको महानिर्देशक चुडामणी भट्टराईको भनाइ छ ।

२०७७ साल पुसमा ४७ घण्टा १३ मिनेट, माघमा ४१ घण्टा, फागुनमा २८ घण्टा २१ मिनेट, चैतमा ७२ घण्टा २४ मिनेट, २०७८ बैशाखमा ८० घण्टा ४४ मिनेट र जेठमा ३७ घण्टा १७ मिनेट गरी ३०६ घण्टा ९ मिनेट विद्युत आपूर्ति बन्द भएको थियो । २०७८ साल पुसमा ५९ घण्टा १६ मिनेट, माघमा १३ घण्टा २७ मिनेट, फागुनमा १९ घण्टा २२ मिनेट चैतमा १४६ घण्टा ३ मिनेट, वैशाखमा १५० घण्टा ५९ मिनेट र जेठमा ७८ घण्टा १७ मिनेट गरी ४६५ घण्टा २४ मिनेट विद्युत आपूर्ति बन्द भएको तथ्याङक भट्टराईले क्लिकमान्डुलाई उपलब्ध गराए ।
त्यसैगरी यो औद्योगिक करिडोरका उद्योगमा २०७९ सालको पुस महिनामा ५५ घण्टा १३ मिनेट, माघमा ६५ घण्टा ५४ मिनेट, फागुनमा २७ घण्टा ८ मिनेट, चैतमा ३४ घण्टा २२ मिनेट, २०८० वैशाखमा १७९ घण्टा ८ मिनेट र जेठमा १५३ घण्टा २६ मिनेट गरेर ५१४ घण्टा ३१ मिनेट उद्योगमा विद्युत कटौती भएको उद्योग संगठनको तथ्याङक छ ।
त्यसैगरी २०८० सालमा पुसदेखि जेठसम्म यो औद्योगिक ८८७ घण्टा ३ मिनेट विद्युत आपूर्ति बन्द भएको पाइएको महानिर्देशक भट्टराईले वताए । उनका अनुसार उक्त वर्ष पुसमा १३ घण्टा १९ मिनेट, माघमा ६१ घण्टा ३३ मिनेट, फागुनमा ६५ घण्टा ५२ मिनेट, चैतमा २६२ घण्टा ३९ मिनेट, २०८१ बैशाखमा २९४ घण्टा ३३ मिनेट र जेठमा १९३ घण्टा ३४ मिनेट विद्युत आपूर्ति बन्द भएको थियो ।
यस वर्षको पुसमा १०७ घण्टा ५७ मिनेट, माघमा १०५ घण्टा ५८ मिनेट, फागुनमा ९९ घण्टा १३ मिनेट गरेर ३१२ घण्टा २८ मिनेट विद्युत आपूर्ति बन्द हुँदा चैतको एकसातामा ७२ घण्टा भन्दावढी समय औद्योगिक करिडोरमा विद्युत आपूर्ति बन्द भएको भट्टराईले जानकारी दिए ।
सुनसरी–मोरङ औद्योगिक करिडोर भित्र कटहरी, बुढीगंगा र दुहबी करिडोर पर्छन् । ती क्षेत्रमा फरक फरक फिडरबाट विद्युत वितरण हुन्छ ।
त्यसैगरी उद्योग संगठनको एक अध्ययनले सुनसरी मोरङ औद्योगिक करिडोरमा एकैदिन ६२ पटकसम्म ट्रिपिङ भएको देखिएको छ । करिडोरलाई विद्युत आपूर्ति गर्दै आएको ३३ केभी दुहबी, ११ केभी तरहरा, ११ केभी जुडी, ३३ केभी रघुपति जुटमिल्स र ११ केभी रानी क्षेत्रमा १५ दिन अध्ययन गर्दा एक दिनमा ६२ पटक सम्म ट्रिपिङ भएको पाइएको भट्टराईको भनाई छ।
उद्योगमा १२ घण्टा लोडसेडिङले औद्योगिक वातावरण चौपट भएको सुनसरी मोरङ औद्योगिक करिडोरका उद्योगीले गुनासो गरेका छन । संगठनका अध्यक्ष राकेश सुरानाले भन, ‘प्राधिकरणको अघोषित ६–८ घण्टा लोडसेडिङको माग भोग्दै आएका करिडोरका उद्योगमा १२ घण्टा लोडसेडिङ सुरु भएसँग हरेक उद्योगले ७० प्रतिशत सम्म उत्पादन कटौतीगर्न बाध्य भएको बताएका छन् ।’
दैनिक १२ घण्टे लोडसेडिङले औद्योगिक वातावरण नै चौपट भएको छ । सुरानाका अनुसार विद्युत आपूर्तिको दीर्घकालीन समाधान चाँडो नगरिए मुलुकको औद्योगिक गतिविधि झन ध्वस्त हुने स्थिति छ ।
औद्योगिक क्षेत्रमा चरम विद्युत संकटले उद्योगको उत्पादन र व्यापारमा प्रत्यक्ष असर पुगेको छ । उद्योग व्यापार संघका अध्यक्ष अनुपम राठीले भने दैनिक ६–८ घण्टा अघोषित लोडसेडिङ हुँदा करिडोरका हरेक उद्योगले ६० प्रतिशत सम्म उत्पादन कटौती गरेका थिए ।
पछिल्लो पटक दैनिक १२ घण्टा विद्युत आपूर्ति ठप्प भएपछि उद्योगले ७० प्रतिशत सम्म उत्पादन कटौती गरेर उद्योग बन्दको अवस्थामा पुगेका छन् ।
‘दैनिक १२ घण्टे लोडसेडिङले औद्योगिक उत्पादन मात्र नभएर मुलुकको समग्र अर्थतन्त्रमै नकरात्मक असर परेको छ । विद्युत आपूर्ति नहुँदा उत्पादन लागत बढ्दो छ । बजारको माग धान्ने स्थिति पनि छैन,’ राठीले भने, ‘यसले कालो बजारीलाई प्रोत्साहन गर्ने पक्का छ ।’
औद्योगिक क्षेत्रमा सुरु भएको १२ घण्टो लोडसेडिङले उद्योगीलाई निराश वनाएको र यसले समग्र मुलुकको औद्योगिक वातावरण धराशायी बनेको नेपाल उद्योग परिसंघका कोशी अध्यक्ष पवनकुमार सारडाको प्रतिक्रिया छ । विगत ५–६ वर्षदेखि विद्युत प्राधिकरण्को असान्दर्भिक र अव्यावहारिक नीतिका कारण औद्योगिक क्षेत्र धराशायी भएको र यसलाई सुधार गर्न उद्योगी व्यवसायिले पटक पटक अनुरोध गर्दा कुनै सुधार नभएर झन जटिल बन्दै गएको सारडाको गुनासो छ । उनले भने, ‘अहिले उर्जा मन्त्रालय र विद्युत प्राधिकरणको टकराव र समन्वयको अभावमा दैनिक भइरहेको १२ घण्टे लोडसेडिङले औद्योगिक क्षेत्र थप धराशायी बनेको छ ।’
विद्युत प्राधिकरण कोशी प्रदेश प्रमुख उमेशकुमार झा भारतबाट आउने ५५० मेगावट विद्युत आपूर्ति बन्द भएसँगै औद्योगिक क्षेत्रमा विद्युत आपूर्तिमा समस्या सुरु भएको बताउँछन् । दैनिक १२ घण्टा होइन ६ घण्टा उद्योगमा विद्युत आपूर्ति कटौती भएको उनको दाबी छ । ‘साँझ ६ बजेदेखि बिहान ६ बजेसम्म होइन,’ उनले भने, ‘पाँच दिनदेखि उद्योगमा साँझ ६ देखि राति १२ बजेसम्म विद्युत आपूर्ति कटौती भएको छ ।’
पहिला पनि साँझ ६ बजेदेखि १० राती सम्म ठूला उद्योगमा विद्युत आपूर्ति कटौती थियो । झाले भने, ‘पाँच दिनदेखि साँझ ६ देखि राति १२ बजेसम्म ठूला उद्योगमा विद्युत आपूर्ति कटौती भएको हो ।’ उनले राती १२ बजेपछि उद्योगमा विद्युत आपूर्ति भइरहेको दावी गरे ।
इनरुवा–ढक्लेबर ४ सय केभी प्रशारण लाइन सञ्चालनमा आएपछि कोशी प्रदेशमा विद्युत आपूर्तिको समस्या नहुने प्राधिकरणको भनाई छ । यो प्रदेशमा अहिले विद्युतको माग अत्याधिक छ । तर उपलब्धता नै आधा मात्र छ । यसले उद्योगमा साँझ कटौती गर्नुपरेको झाको तर्क छ । ‘डोमेस्टिकमा समस्या छैन, ‘झाले भने, ‘प्रसारण लाइन र पावरहाउसमै आवश्यकता अनुसारको विद्युत उपलब्ध नभएपछि यो स्थिति आएको हो ।’
उद्योगीहरूले उद्योगमा साँझ ६ बजेदेखि बिहान ६ बजेसम्म लोडसेडिङ भइरहेको दाबी गर्दै विद्युत आपूर्ति हुने समयमा पनि अत्याधिक ट्रिपिङ हुने गरेकाले उद्योग सञ्चालनमै समस्या भएको बताएका छन् ।
प्रतिक्रिया