स्पेन पुगेका सञ्चार सचिवसहितको टोली मुख्य कार्यक्रममै नगइ सपिङमा मस्त, यसरी भयो अन्तर्राष्ट्रिय बेइज्जत


काठमाडौं । सरकारबाट स्वीकृति लिएर दुई साता अगाडि अन्तर्राष्ट्रिय कार्यक्रममा गएका सञ्चार सचिव राधिका अर्यालसहितको एक टोली सम्बन्धित कार्यक्रममै सहभागी नहुँदा देशको अन्तर्राष्ट्रिय बेइज्जत भएको छ ।

स्पेनको वार्सिलोनामा फागुन १९ देखि २२ गतेसम्म भएको ‘मोबाइल वर्ल्ड कंग्रेस’ मा सहभागी हुन नेपाली प्रतिनिधिमण्डलका रुपमा सञ्चार सचिवसहितको सरकारी टोली गएको थियो । उक्त टोली सरकारी स्वीकृतिमा मोबाइल वर्ल्ड कंग्रेसमा सहभागी हुन गएको भए पनि उनीहरुले उक्त कार्यक्रममा सरकारी अधिकारीका रुपमा प्रवेश नै पाएनन् । कार्यक्रममा प्रवेश गर्ने गरी सरकारी प्रतिनिधिको पाससमेत नलिएका उक्त टोली सोही समयको एक मुख्य मिटिङमा सहभागि नभइ सपिङ र घुमघाममै व्यस्त थिए ।

सरकारी स्रोतको दुरुपयोग गरेर निजी भ्रमण गरेका सञ्चार सचिवसहितको उक्त टोलीले नेपालकै छवि घुमिल बनाउने काम गरेका छन् । नेपाली प्रतिनिधिमण्डललाई उक्त कार्यक्रमा प्यानलिष्टका रुपमा आमन्त्रण गरिएको थियो । कार्यक्रम आयोजकले नेपाली टोलीलाई पर्खिरहेको भए पनि नेपाली टोलीले भने उक्त कार्यक्रममा सभागिता नै नजनाएको गुनासो सञ्चार मन्त्रालयसम्म आइपुगेको छ ।

‘नेपाली टोलीले सरकारी स्वीकृति लिएर गएको भए पनि निजी क्षेत्रको स्वार्थमा चलेका कारण मूल कार्यक्रममा प्रवेशका लागि भने पास नै लिएका रहेनछन्’ सञ्चार मन्त्रालय स्रोतले क्लिकमान्डुसँग भन्यो ।

‘नेपाली सरकारी अधिकारीहरुलाई टेलिकम्युनिकेसन क्षेत्रको विकासका बारेमा कुनै चासो र चिन्ता नभएको पाएँ’ गर्गको भनाइ उदृत गर्दै स्रोतले भन्यो, ‘यस्तो चासो र चिन्ता नहुने गैरजिम्मेवार मानिसका अघि आएर प्रस्तुति दिनु भनेको आफैँ मुर्ख हुनु मात्रै हो । नेपालका सरकारी कर्मचारीको यस्तो व्यवहार र सोचले देश उन्नतिको बाटोमा अघि बढ्न सक्दैन ।’

सरकारको प्रतिनिधिका रुपमा गएका ती टोली मन्त्रीस्तरीय कार्यक्रममा सहभागी हुनुपर्ने थियो । तर, उक्त कार्यक्रममा प्रवेश गर्न सरकारी पास नै नबनाएको, सरकारी प्रनिनिधिले पाउने निःशुल्क पासका लागि निजी क्षेत्रबाट २ हजार युरो तिरेर पर्सनल इन्ट्रीको मात्रै पास लिएर कार्यक्रममा गएका नेपाली टोलीले सरकारी प्रतिनिधिकारुपमा निभाउनुपर्ने जिम्मेवारी भने पूरा नगरेको पाइएको छ ।

सम्बन्धित समाचार स्रोतले क्लिकमान्डुसँग भन्यो ‘जीएसएमएसँग नेपालको बीटुबी मिटिङ तय भएकै दिन नेपाली पक्ष सहभागी नभएको पाइएको छ ।’

‘पहिलो दिन देखि नै नियमित रुपमा सबै कार्यक्रममा सुरत पोखरेल, कृष्णप्रसाद शर्मा र शालिकराम सुवेदीले भने सहभागि भएका थिए । सञ्चार सचिवसहितको टोली भने पहिलो दिन ‘ओपन फर अल’ मा मात्र सहभागी भएको कार्यक्रममा सहभागी एक प्रतिनिधिले जानकारी दिए ।

शालिकराम सुवेदी, सुरत पोखरेल र कृष्णप्रसाद शर्मा

‘सरकारी खर्चमा स्पेन पुगेका अर्थ मन्त्रालयका सहसचिव धनीराम शर्मा पनि पहिलो दिनको कार्यक्रममा सहभागी भएनन्,’ उनले भने,’ उद्घाटन सत्रमा नगएका अन्य नेपाली प्रतिनिधि तय भइसकेको साइडलाईन मिटिङमा पनि सहभागी नभएका हुन्।

सो कार्यक्रममा जीएसएमएका तर्फबाट साउथ एसियाको स्पेक्ट्रम एन्ड पोलिसी हेर्ने वरिष्ठ प्रवन्धक आशिष गर्गसहतिको टोलीले नेपाली प्रतिनिधिलाई खोजेको थियो । उक्त कार्यक्रममा सहभागी नभएपछि नेपाली प्रतिनिधिको विश्वास गुमेको भन्दै २९ फागुनमा नेपाल आर्थिक पत्रकार समाज (सेजन)ले आयोजना गरेको एक कार्यक्रममा गर्ग उपस्थित भएनन् ।

सञ्चार मन्त्री पृथ्वीसुब्बा गुरुङ सहभागि उक्त कार्यक्रममा गर्गलाई सेजनले प्रमुख वक्ताको रुपमा आमन्त्रण गरेको थियो । नेपाली प्रतिनिधिलाई पर्खिएर बसेको कार्यक्रममा सहभागी नभएको र टेलिकम क्षेत्रको बारेमा चासो नै नदिएका सरकारी उच्च अधिकारीकै सामू आफ्नो प्रस्तुतीकरणले कुनै अर्थ नदिने भन्दै गर्गले अन्तिम समयमा नेपालको कार्यक्रम रद्द गरिदिएका थिए । गर्ग नेपाल नआएपछिको कारण खोतल्दै जाँदा स्पेनमा नेपाली उच्च सरकारी अधिकृतकै चरम बेइमानी सार्वजनिक भएको हो ।

‘नेपाली सरकारी अधिकारीहरुलाई टेलिकम्युनिकेसन क्षेत्रको विकासका बारेमा कुनै चासो र चिन्ता नभएको पाएँ’ गर्गको भनाइ उदृत गर्दै स्रोतले भन्यो, ‘यस्तो चासो र चिन्ता नहुने गैरजिम्मेवार मानिसका अघि आएर प्रस्तुति दिनु भनेको आफैँ मुर्ख हुनु मात्रै हो । नेालका सरकारी कर्मचारीको यस्तो व्यवहार र सोचले देश उन्नतिको बाटोमा अघि बढ्न सक्दैन ।’

उक्त मोबाइल कंग्रेसमा सञ्चार सचिव अर्याल, अर्थ मन्त्रालयका सहसचिव धनिराम शर्मा, सञ्चार मन्त्रालयका प्रशासन सहसचिव कोशहरि निरौला, उपसचिव सुरत पोखरेल, कृष्णप्रसाद शर्मा, सञ्चार मन्त्रीका सञ्चार विज्ञ शालिकराम पराजुली, नेपाल दूरसञ्चार प्राधिकरणका कर्मचारीहरु अमर स्थापित, विजय रोय, प्राधिकरण संचालक समिति सदस्य गोकर्ण सिटौलासहित नेपाल टेलिकमका कर्मचारी डिल्लीराम अधिकारी समेत सहभागी भएका थिए ।

सञ्चार मन्त्रालयकै एक उच्च अधिकारीले सचिव अर्यालले गम्भीर त्रुटी गरेको बताए । विदेश भ्रमणमा मरिहत्ते गर्ने अर्यालले सरकारबाट विदेश भ्रमणको स्वीकृति लिएर व्यक्तिगत पासपोर्ट प्रयोग गरेर भिसा आवेदन दिएको, सरकारी कार्यक्रमको लागि लिनुपर्ने पासको लागि सरकारी तबरबाटै प्रयास नगरेको र निजी क्षेत्रसँगको मिलेमतोमा स्वार्थ बाझिने गरी काम गरेको देखिएको छ । यो विषयमा सञ्चार मन्त्रीले छानबिन समिति बनाउने अनौपचारिक घोषणा गरे पनि अहिलेसम्म औपचारिक निर्णय भने भएको छैन ।

मन्त्रालयका अनुसार मन्त्रिस्तरीय बैठक भएकोले मन्त्रीलाई नै आमन्त्रण भए पनि सञ्चार मन्त्री पृथ्वीसुब्बा गुरुङ भने वार्सिलोना गएनन् । मन्त्री गुरुङले भने राज्यलाई लाभ नहुने गरी कुनै पनि विदेश भ्रमणमा नजाने र विदेशी भ्रमणमा जति निम्तो आउँछ सबैमा दौडिएर जानुपर्ने अर्थ नभएको तर्क गर्ने गरेका छन् ।

मुख्य कार्यक्रममा सहभागी नै नभएका सचिवसहितका टोलीले विदेश भ्रमणवापतको सरकारी भत्ता भने बुझे छन् । नेपाल टेलिकमका अध्यक्ष अर्याल र बोर्ड सदस्य धनिराम शर्माले भने टेलिकमबाट समेत गरेर दोहोरो भत्ता बुझेको स्रोतको दाबी छ ।

वार्सिलोना जाने भनेपछि मन्त्रालयका जिम्मेवार कर्मचारीले आफैं आवेदन दिएर भिसा आएपछि मात्रै सरकारलाई जानकारी गराएका थिए ।

वार्सिलोनामा भएको उक्त मोबाइल कंग्रेस नेपालको लागि उपलब्धी नै हुने थियो । यो मोबाइल कंग्रेसमा फोरजीको उपयोगिता, फाइभजीकोको आवश्यकता, एआईको प्रयोगसहित टेलिकम क्षेत्रकै बारेमा महत्वपूर्ण छलफल हुने अन्तर्राष्ट्रिय प्लेटफर्म हो ।