
म्याग्दी । यहाँको धवलागिरी गाउँपालिका–७ ताकममा कोदोको पिठोबाट बिस्कुट उत्पादन गर्न थालिएको छ ।
धौलागिरी बेकरी, क्याफे एण्ड एग्रो मार्टका सञ्चालक अनिल भण्डारी र निमा छन्त्याल भण्डारीले कोदोको पिठोबाट बिस्कुट उत्पादन गर्न सुरु गरेका हुन । ‘ओभन मेसिन’ मा पकाएर कोदोको पिठोबाट बिस्कुट उत्पादन सुरु गरेको भण्डारीले बताए ।
‘कोदो फल्ने, पिस्ने, मह, उखुको खुदो, चिनी र काउलोको धुलो मिसाएर गोलो आकारको बनाएर ओभन मेसिनमा पकाएपछि ड्रायरमा सुकाउने गरेको छु,” उनले भने,’स्थानीय बजारका साथै घुम्न आउने पर्यटक र पाहुनाहरुले कोसेलीका रुपमा बिस्कुट लैजानुहुन्छ ।’
मह र उखुको खुदोबाट बनेको बिस्कुटलाई प्रति दर्जन (१२ वटा) लाई दुई सय ५० र चिनी मिसाएको बिस्कुट प्रति दर्जन एक सय ३० रुपैयाँ मूल्य कायम गरिएको छ ।
काउलोले बिस्कुट र रोटी टुक्रा पर्न दिँदैन । गुलियो बनाउन कोदोको पिठोमा मिसाइने मह र उखुको खुदो शक्तिवद्र्धक मानिन्छ । पाउरोटी र केक बनाउने क्रममा परीक्षणका लागि तयार गरेको कोदोको विस्कुट उपभोक्ताले रुचाएपछि खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयबाट प्रयोगशाला परीक्षण गरी नियमित उत्पादनको तयारी गरेको भण्डारीले बताए ।
मागका आधारमा बिस्कुट उत्पादन गरी बिक्री गर्दै आएको उनले बताए । ३७ वर्षीय भण्डारी रोजगारीका लागि छ वर्ष मलेसिया, दुई वर्ष कतार, दुई महिना साउदी र ४५ दिन युएईमा काम गरेर फर्किएका छन् ।
भाडाको घरमा व्यवसाय सञ्चालन गर्दै आएका उनले आफ्नै जग्गामा करिब ७५ लाख रुपैयाँमा लगानीमा पूर्वाधार निर्माण गरिरहेका छन् ।
धवलागिरी गाउँपालिका–७ का वडाअध्यक्ष अशोक खत्रीले भण्डारीले बिस्कुट बनाउन थालेपछि कोदोलाई ब्रान्ड बनाउन सकिने सम्भावना देखिएकाले गुणस्तर प्रमाणित गराउन सहजीकरण गरिने बताए ।
‘कोदो खेती कम हुँदै आएको छ, गाउँमै उद्योग स्थापना गरी बिस्कुट उत्पादन गरेर बजारीकरण गर्दा कोदो उत्पादक किसानलाई फाइदा पुग्छ,’ वडाअध्यक्ष खत्रीले भने, ‘विदेशबाट आयात गरेर गहुँ, जौ र मकैको पिठोबाट बिस्कुट बनाइरहेको अवस्थामा स्थानीय कोदोबाटै बिस्कुट उत्पादन हुन थालेपछि आयात घटाउन पनि सहयोग पुग्नेछ ।’
प्रतिक्रिया