उद्यमीप्रतिको नकारात्मक धारणा बदल्न नसके लगानीको वातावरण बन्दैन

196
Shares

नेपाल पल्प एण्ड पेपर इन्डष्ट्रिज आइएमई ग्रुपको उत्पादनमूलक क्षेत्रमा औपचारिक प्रवेश मात्र होइन, यो नेपालको औद्योगिक यात्रामै नयाँ शुरुवात हो । मुुलुकको आत्मनिर्भरता, आर्थिक वृद्धि तथा दीगो औद्योगिक विकासप्रतिको हाम्रो प्रतिवद्धता हो । विकासको राष्ट्रिय आकांक्षामा निजी क्षेत्रले गरेको ‘होस्टेमा हैंसे’को यो एक उदाहरण हो ।

बैंक, बीमा, रेमिट्यान्स, पर्यटन पूर्वाधार, सूचना प्रविधि तथा जलविद्युत जस्ता मुलुकको अर्थतन्त्रका प्राथमिकताका क्षेत्रमा लामो समयदेखि महत्वपूर्ण योगदान पुर्‍याइरहेको आइएमई गू्रपले नेपालको व्यावसायिक तथा औद्योगिक विकासमा दिएको टेवाका बारेमा जानकार नै हुनुहुन्छ ।

उद्योगहरु बन्द हुने, लगानीकर्ताहरु पलायन हुने र अरबका खाडीको ५० डिग्रीको तातोमा काम गर्न हाम्रा युवाहरु जानु पर्ने वाध्यता छ । त्यसलाई कम गर्न नयाँ उद्योगहरु खोल्दै आयात प्रतिस्थापन गर्ने र कर्ममुखी औद्योगिक विकासको नवजागरण सृजना गर्ने यो महत्वपूर्ण पाइला सावित हुने विश्वास छ ।

२०७८ साउनमा निर्माणको काम सुरु भएको यो उद्योगले अव दैनिक ७५ मेट्रिक टन लेखन तथा छपाई कार्यका लागि उपयुक्त गुणस्तरीय कागज उत्पादन गर्न थालेको छ । हाम्रो यो प्रयास स्वदेशी उद्योग प्रवद्र्धन गर्ने र प्रमुख क्षेत्रमा आत्मनिर्भरता हासिल गर्ने सरकारको सोचसँग हातेमालो पनि हो ।

विगत कैयौं वर्षदेखि नेपाल कागज तथा कागजजन्य उत्पादनका लागि आयातमा निर्भर रहँदै आएको छ । मुलुकै ठूलो उद्योगमध्येको एक भृकुटी कागज कारखाना बन्द भएसँगै हामीसँग औद्योगिकस्तरमा कागजको आन्तरिक उत्पादन छैन ।

यद्यपि साना तथा हाते कागज उद्योगहरुले भने हस्तकला तथा नेपाली कागजको आपूर्तिमा राम्रै योगदान गरिरहेका छन् ।

यसरी कागजमा आयातमुखी बन्दा हामीले दशौं अर्ब रुपैयाँ बराबरको विदेशी मुद्रा खर्चिनु परेको छ । अन्तर्राष्ट्रिय बजारमा हुने मूल्यको उतारचढावले बढ्दो मूल्यको समेत सामना गरिरहनु परेको छ । गत आर्थिक वर्ष २०८०/८१ मा मात्र नेपालले कागज तथा कागजजन्य उत्पादनको आयातमा झण्डै १२ अर्ब रुपैयाँ खर्चेको थियो । नेपालमा भारत, चीन, जर्मनी, अमेरिका, थाइल्यान्ड, इन्डोनेसिया र बंगलादेश लगायत मुलुकहरुबाट कागज आयात हुँदै आएको छ ।

हाल नेपालमा कागजका रोल तथा सिटहरु, विभिन्न आकार तथा तौलका पेपरबोर्डदेखि लिएर ट्वाइलेट पेपरसम्म पनि आयात हुने गरेको छ ।

कागज उद्योगले खर, पराल, काठ आदि पगालेर कागज बनाएको त हामीले देखेसुनेकै हो । तर, यस उद्योगको सोच भने नितान्त फरक छ । हामीले घर अफिसमा प्रयोग गरेर फालेका वा नष्ट गर्ने गरेका कागज नै यो उद्योगको मुख्य कच्चा पदार्थ हो ।

घरअफिसमा प्रयोग भएका पुराना कागजहरू सााना व्यवसायी मार्फत् संकलन गर्दै यस उद्योगसम्म पुग्नेछन । त्यसलाई गलाएर त्यहाँबाट पिन, प्लास्टिक, मसीलगायतका अनावश्यक वस्तु छुट्याएर पुनः नयाँ कागज बनेर फेरी बजारमा आउनेछन् । त्यसैले यही संभावनालाई मध्यनजर गर्दै स्वदेशमै कागज उत्पादन गर्ने यो पहल थालेका हौं ।

अहिले हामी पुरानै लयमा फर्किन सकेका त छैनौँ तर अर्थतन्त्र सुधारका लागि थालिएका प्रयासहरुले सकारात्मक संकेत देखिन सुरु गरेको छ । वर्तमान सरकार अर्थतन्त्रको सुधारमा कार्यरत छ भने हामी सरकारको होस्टेमा हैंसे गरेर अघि बढिरहेका छौँ ।

हाम्रो उद्योगले आयात प्रतिस्थापनमा उल्लेख्य भूमिका निर्वाह गर्दै नेपाली उपभोक्ता, व्यवसायी, र उद्योगहरूलाई प्रतिस्पर्धी मूल्यमा स्वदेशमै उत्पादित कागज उपलब्ध गराउनेछ ।

२ अर्ब रुपैयाँ भन्दा बढी लगानी रहेको यस उद्योगले औद्योगिकस्तरमा कागज उत्पादनको पहिलो चरणमा फोटोकपी पेपर उत्पादन गरिरहेको छ । शैक्षिक, प्रशासनिक तथा अन्य धेरै क्षेत्रमा उच्च माग रहेको फोटोकपी पेपरको उत्पादनले आन्तरिक बजारको माग सम्बोधन गर्नेछ । विद्यालयको पाठ्यपुस्तक छपाई गर्दै आएको जनक शिक्षा सामग्री केन्द्र लगायतलाई पनि स्वदेशी उत्पादन प्रयोगका लागि ढोका खुल्नेछ ।

हाम्रो उद्योग केवल उत्पादन, बिक्रीवितरण र नाफामा मात्रै केन्द्रित छैन । हामी वातावरणप्रति पनि उत्तिकै सचेत छौँ । उद्योगबाट हुने वायुप्रदूषण र जलप्रदुषण न्यूनीकरणका लागि उद्योगले विभिन्न पहल लिएको छ । वायु प्रदुषण कम गर्नका लागि उद्योगले पीसीसी प्लान्ट प्रयोग गरिरहेको छ । जसबाट प्रदुषण त कम हुन्छ नै साथमा स्वदेशमै प्रेसिवेटेड क्याल्सियम कार्बोनेट समेत उत्पादन हुनेगर्छ । यसका लागि चिम्नीबाट निस्किने धुँवाबाट कार्बनलाई निकालेर चुनढुङ्गामा मिसाएर पीसीसी केमिलक बनाउने गरिएको छ । सो केमीकल पुनः उद्योगमै राम्रो गुणस्तरको कागज बनाउन प्रयोग हुने गर्छ ।

औद्योगिक विकास रोजगारीको प्रमुख कारक हो । नेपाल पल्प एण्ड पेपर इन्डष्ट्रीले प्रत्यक्षरुपमा ३०० बढी र अप्रत्यक्षरुपमा हजारौंका लागि रोजगारीका अवसर सिर्जना गर्ने छ

यसले एकातिर क्याल्सियम कार्बोनेटको आयात घटाउने छ भने अर्कोतिर धुँवा कम फाल्दा वातावरण प्रदुषण कम हुनेछ । त्यस्तै उद्योगबाट निस्किने पानीलाई पनि ट्रिटमेन्टपछि रिसाइकलिङ गरेर पुनः प्रयोग गर्नेगरी काम भइरहेको छ । यसले एकातिर जमिनबाट हुने पानीको दोहन घटाउने छ भने अर्कोतिर जल प्रदुषणलाई पनि कम गर्ने छ ।

औद्योगिक विकास रोजगारीको प्रमुख कारक हो । नेपाल पल्प एण्ड पेपर इन्डष्ट्रीले प्रत्यक्षरुपमा ३०० बढी र अप्रत्यक्षरुपमा हजारौंका लागि रोजगारीका अवसर सिर्जना गर्ने छ । जसमा इन्जिनियर, प्राविधिक र कारखाना श्रमिकदेखि आपूर्ति व्यवस्थापक, खुद्रा विक्रेता र किसानहरु समेत समावेश छन् । हामीले ५० प्रतिशतभन्दा बढी स्थानीय र महिलाहरुलाई अवसर दिनेछौँ । उद्योगले विशेष गरेर महिला सशक्तीकरण र सबलीकरणका लागि पनि ठूलो योगदान पुर्‍याउने लक्ष्य छ ।

कागज उत्पादन मात्र हाम्रो उद्देश्य होइन, आत्मनिर्भरता, रोजगारी सिर्जना, र दिगो आर्थिक विकासलाई प्रवद्र्धन गर्ने अभियानको नेतृत्व गर्नु पनि हाम्रो अभिप्राय हो । हाम्रो व्यावसायिक अभियानका केही प्राथमिकताका विषय छन् । पहिलो राष्ट्रले प्राथमिकतामा राखेको क्षेत्रमा लगानी गर्ने । दोस्रो, बढीभन्दा बढी नागरिकलाई प्रत्यक्ष रुपमा लाभ पुग्ने क्षेत्रमा लगानी गर्ने । र, तेस्रो मुलुकको दीर्घकालीन र सबैको खाँचोको व्यवसाय बन्न सक्ने क्षेत्रमा लगानी गर्ने ।

रेमिटेन्स, बैंक, बिमा, सूचना प्रविधि, जलविद्युत र पर्यटन पूर्वाधार सबै व्यवसाय यसै प्राथमिकतामा आधारित छन् । यस कारखानाले राज्यका प्राथमिकता पूरा गर्न सक्छ ।

यसकारण अर्थत्रन्त्रमा सुस्तता देखियो

कोभिड महामारी, रुस युक्रेन युद्ध, श्रीलंकाको आर्थिक संकट र केही आन्तरिक कारणहरु थपिँदा हामी पनि आर्थिक मन्दीको अवस्थाबाट गुज्रियौँ । संसारका देशहरुले पोष्ट कोभिड प्याकेजहरु घोषणा गरिरहँदा हाम्रोमा हामीले पनि संकटबाट उठ्ने यथाशक्य प्रयास अघि बढायौँ । त्यसका लागि राज्यका योजनाहरुमा हामी निजी क्षेत्र सक्रीयताका साथ अघि बढेका हौँ । जसका कारण अहिले हामी पुरानै लयमा फर्किन सकेका त छैनौँ तर अर्थतन्त्र सुधारका लागि थालिएका प्रयासहरुले सकारात्मक संकेत देखिन सुरु गरेको छ । वर्तमान सरकार अर्थतन्त्रको सुधारमा कार्यरत छ भने हामी सरकारको होस्टेमा हैंसे गरेर अघि बढिरहेका छौँ ।

मुलुकको अर्थतन्त्र चलायमान बनाउन, हामीसँगका अथाह सम्भावना छन् । यी सम्भावनाहरुको उजागर गरी स्वदेशी तथा विदेशी लगानीकर्ताहरुलाई आकर्षित गर्नका लागि उचित वातावरण आवश्यक पर्दछ । पछिल्लो समय सरकारले ल्याएका कतिपय कानुनहरु नेपालमा लगानीमैत्री वातावरण निर्माणका लागि सहयोगी सिद्ध हुने हामीले महसुस गरेका छौं ।

यसको वकालत निजी क्षेत्रले सार्वजनिक रुपमा नै गरिरहेको छ । मुलुकमा अर्थतन्त्रको सुधार र विकासका लागि आवश्यक नीति तथा कानुनहरु निर्माणमा सरकार हाम्रा सुझावहरुको निकटमै रहेर काम गरिरहेको महसुस हामीलाई भएको पनि छ ।
स्वदेशी होस या विदेशी होस्, लगानीकर्ताले फिल्डमा काम भए नभएको हेर्ने गर्दछ । त्यसैले यस्तै नयाँ नयाँ ठूला आयोजनाहरु वर्षमै सञ्चालनमा आए भने त्यसले मुलुकमा लगानीको वातावरण छ भन्ने अर्थ आफैँ लाग्नेछ । त्यसैले आज सञ्चालनमा आएको यो आयोजनाले पनि नेपालमा लगानीको वातावरणको सकारात्मक सन्देश यथेष्ट मात्रामा दिनेछ भन्ने लागेको छ ।

पाथीभरामा बन्न लागेको केबलकारको विषयमा सतहमा आएका केही विषयले मुलुकमा लगानी र व्यवसायिक वातावरणप्रति नकारात्मक सन्देश प्रवाह हुने आशंका लागेको छ । त्यहाँका स्थानीय जनता, स्थानीय सरकार र प्रदेश सरकारले बारम्बार गरेको आग्रहमा पाथिभरामा केबलकारको निर्माण परियोजना सुर गरेको हो। यो नयाँ नभएर स्थानीय मागमा आधारित परियोजना हो । करिब ७ बर्षदेखि नै यो कुरा सबैलाई थाहा नै छ ।

स्थानीयको माग, उक्त प्रसिद्ध देवस्थलको सांस्कृतिक मूल्यमान्यता र पर्यावरणीय सन्तुलन जस्ता आयोजना निर्माणका सबै पक्षलाई ध्यानमा राखेर र जिल्लाबासी सबैको सहमति र सहभागितामा परियोजनाको निर्माण कार्यको थालनी भएको हो । जब उक्त मेगा प्रोजेक्टको काम सुरु भयो, त्यसपछि जिल्ला भन्दा बाहिरबाट गएर अवरोधको प्रयास भयो । यस्तो वातावरणले भोलिका दिनमा लगानीको अवस्था के हुन्छ र लगानीकर्ता यस्तो अवस्थामा थप लगानीका लागि तयार हुन्छन् कि हुँदैनन भन्ने कुरा निजी क्षेत्र र राज्यले सोच्नुपर्ने अवस्था आएको छ । पूर्वाधार निर्माणजस्तो काममा देखिएको अवरोध सूचना प्रविधिको विकासले साँघुरो बनिरहेको संसारमा पुग्दा त्यसले विश्वका लगानीकर्ताहरुमा कस्तो सन्देश सञ्चार गर्ला भन्ने चिन्ता हामी निजी क्षेत्रमा बढाएको छ ।

विश्वका विभिन्न धनी र सम्पन्न मुलुकहरु देखेका छौं । ती देश कसरी धनी र सम्पन्न भए ? ती देश धनी र सम्पन्न बन्न त्यहाँका व्यवसायी र उद्यमीहरुको के कति योगदान छ ? त्यसका लागि व्यवसायी र उद्यमीले लिएको रिस्क र उनीहरुको मिहिनेत र परिश्रमको हेक्का भने राख्ने गरेको देखिदैन । एउटा उद्यमी व्यवसायीले ठूलो रिस्क उठाएर उद्यम गर्छ । तर, पनि ती उद्यमी व्यवसायीले लगानी गरेका छन् । धेरैलाई लाग्न सक्छ, कुनै पनि उद्यमी व्यवसायीले व्यक्तिगत नाफा वा फाइदाका लागि मात्र व्यवसाय गरेको हुन्छ । त्यसले व्यवसाय नगर्दा हामीलाई के फरक पर्छ ।

एक जनाले होटल नचलाउँदा के हुन्छ ? एक जनाले पसल नचलाउँदा के हुन्छ ? एक जनाले बस नचलाउँदा के हुन्छ ? एक जनाले उद्योग नचलाउँदा के हुन्छ ? एक जनाले एक ठाउँमा अस्पताल नबनाउँदा के हुन्छ ? एक जना उद्यमीले एक ठाउँमा विद्यालय नचलाउँदा के हुन्छ ? तर, वास्तविकता त्यस्तो होइन । मुलुकको अर्थतन्त्रमा ८१ प्रतिशतभन्दा बढी र रोजगारीमा ८६ प्रतिशतभन्दा बढी योगदान भएको निजी क्षेत्र र तिनै उद्यमी व्यवसायीले उत्पादन नगरिदिने हो भने वा व्यवसायीले सेवा नदिने हो भने तपाई हाम्रो अवस्था के होला ? राज्यको सबैभन्दा ठूलो आम्दानी, यातायत, शिक्षा, स्वास्थ्य, पूर्वाधार तथा रोजगारीको अवस्था के होला ?

अर्को महत्वपूर्ण कुरा यिनै उद्यमी व्यवसायीको उत्पादनले तपाई हामी धेरैको जीवन सहज बनेको हो । उनीहरुकै उद्योग व्यवसायले रोजगारी सृजना गरेको हो । तिनै उद्यमीले तिरेको कर तथा राजश्वबाट पूर्वाधारको विकास भएको हो । राज्य सञ्चालन भएको हो ।

एकजना व्यवसायीले जति आम्दानी गर्छ त्यति पुनः लगानी गर्ने, रोजगारी सृजना गर्ने र त्यसबाट राज्यलाई थप कर र राजश्व तिर्ने हो । सामान्य व्यक्ति र उद्यमी व्यवसायीमा यति फरक छ । एक जना व्यवसायीले २ लाख रुपैयाँ मात्र आम्दानी गर्‍यो भने उसले १० लाख रुपैयाँको रिक्स उठाउँछ र अर्को व्यवसाय सञ्चालन गर्छ । २ लाख रुपैयाँ इक्विटी लगाएर बाँकी बैंक तथा वित्तीय संस्थाको ऋण जुटाएर १० लाख रुपैयाँसम्म लगानी गर्छ । निजी क्षेत्रले गर्ने भनेकै यही हो । यसका लागि व्यवसायीले २४ सै घण्टा गर्ने मिहिनेत, लगनशिलता र शारिरीक तथा मानसिक तनावको प्रसंशा गर्नुपर्छ ।

हामी एलन मस्क, जेफ बेजोस र लारी एलिसनका जीवनी पढ्छौं । टाटा, अम्बानी र अडानीका बयान गर्छौ । तर, हाम्रा उद्यमी व्यवसायी प्रति सधै नकारात्मक धारणा देखिन्छ । यो सोँच बदल्न जरुरी छ । यो भाष्य, चेत र धारणा रहेसम्म लगानी बढ्दैन, मुलुक बन्दैन र सम्मृद्धि आउदैन ।

विदेशी अनुदान तथा सहायता घट्दैछ । त्यसैले स्वदेशी उद्यमी, रोजगारी र राजस्व सृजना गर्ने कर्मशिलहरुलाई प्रोत्साहन गर्नुको विकल्प छैन । प्रकृतिले दिएका अपार सम्भावनाहरुलाई उपयोग गर्दै समृद्धि तर्फको यात्रामा सँगसँगै अगाडि बढौं

पूर्वाधार विकास, रोजगारी सृजना, आम नागरिकले पाउने सेवा र राज्यले प्राप्त गर्ने राजश्वको मुख्य श्रोतको लागि सबै पक्ष एकै ठाउँमा उभिनुपर्दछ । अन्यथा तपाई हाम्रा सन्ततिले तपाई हाम्रै कारणले अभाव, गरिबी र पछौटेपनको सामान गरिरहनु पर्नेछ । जुन विषयमा पश्चाताप गर्ने समय पनि रहने छैन ।

त्यसैले म फेरि पनि आग्रह गर्दछु, पूर्वाधार निर्माण, आर्थिक विकास र आम नागरिकले प्राप्त गर्ने सेवा, सुविधा र आवश्यकताका विषयमा राजनिति नगरौं । पूर्वाधार विकास भयो भने मात्र नागरिकको जीवनस्तर सुधार हुने हो । रोजगारी सृजना हुने हो । राजश्व वृद्धि हुने हो र मुलुक सम्मृद्ध हो ।

तपाई हाम्रा अगाडि बदलिदै गरेको विश्व परिवेश छ । विदेशी अनुदान तथा सहायता घट्दैछ । त्यसैले स्वदेशी उद्यमी, रोजगारी र राजस्व सृजना गर्ने कर्मशिलहरुलाई प्रोत्साहन गर्नुको विकल्प छैन । प्रकृतिले दिएका अपार सम्भावनाहरुलाई उपयोग गर्दै समृद्धि तर्फको यात्रामा सँगसँगै अगाडि बढौं ।

(नेपाल उद्योग वाणिज्य महासंघ तथा आईएमई ग्रुपका अध्यक्ष चन्द्रप्रसाद ढकालको नेतृत्वमा महोत्तरीमा नेपाल पल्प एण्ड पेपर इण्डष्ट्रिजको उद्घाटनका क्रममा व्यक्त विचार )