१ अर्बको लगानीमा म्याग्नस फर्माले उद्योग विस्तार गर्दै

693
Shares

वीरगञ्ज । वीरगञ्ज–पलथैया औद्योगिक कोरिडोरमा सञ्चालित म्याग्नस फर्माले एक अर्ब रुपैयाँको लगानी बढाएर उद्योगको विस्तार गरेको छ ।

उद्योगले एक अर्ब रुपैयाँ लगानी बृद्धि गरी ‘इन्जेक्टेबल’ औषधि पनि उत्पादन गर्ने भएको छ ।

कम्पनीले ‘भाइल’ तथा ‘ड्रप’हरु उत्पादन गर्न आवश्यक उपकरण जडान तथा परीक्षण गरिहेको तथा आगामी वैशाखदेखि पूर्ण क्षमतामा काम नयाँ औषधि बनाइने फर्माका प्रबन्ध निर्देशक सुधिरप्रकाश मास्केले बताए ।

उद्योगमा थपिएको नयाँ ‘इन्जेक्टेबल प्लान्ट’बाट औषधिका भाइल र एम्पुलको उत्पादनका साथसाथै आँखा, नाक र कानमा प्रयोग हुने ड्रप पनि बनाउने उनले बताए ।

‘कम्पनीले एक सय भन्दा धेरै औषधि उत्पादन गर्न सक्ने प्लान्ट स्थापना गरे पनि हालसम्म २० प्रकारका औषधि उत्पादनको अनुमति पाएका छौँ’, उनले भने ।

कम्पनीमा हाल तीन सय ५० भन्दा बढीले प्रत्यक्ष रोजगारी पाएका छन् । गत आर्थिक वर्षमा एक अर्ब २६ करोड रुपैयाँबराबरको कारोबार गरेको कम्पनीको चालु आवमा एक अर्ब ४० करोड रुपैयाँको कारोबार गर्ने लक्ष्य लिएको छ ।