दोस्रो विश्वदर्शन योग प्रतियोगिता सम्पन्न, विजेताहरु पुरस्कृत
काठमाडौं । ‘सन्तुलित जीवन नै योगको मुख्य आधार हो’ सन्देशसहित विश्व दर्शन अभियान नेपालले ‘दोस्रो विश्वदर्शन योग प्रतियोगिता’ सम्पन्न गरेको छ ।
स्वस्थ, शान्त, खुसी एवं आनन्दित जीवनका लागि ऋषिमुनिहरूले प्रतिपादन गरेको योग साधनालाई मानवजातिले अबलम्वन गर्नु अपरिहार्य रहेको सन्देश प्रवाह गर्न चाँगुनारायण–४, शंखदहस्थित ग्रामीण अपांगत भवनमा प्रतियोगिता आयोजना गरिएको संस्थाका अध्यक्ष योगगुरु नारायणप्रसाद भट्टराईले बताए ।
काठमाडौं महानगरपालिका अन्तर्गतका कैलाशबोधी स्कुल बौद्ध र विपुल पाठशाला नयाँबस्ती, कागेश्वरीमनोहरा नगरपालिका अन्तर्गतका अक्षरा स्कुल, अर्किड स्कुल, अक्षरिका स्कुल, हाइली क्रिएटिभ स्कुल, विद्याआर्जन स्कुल, प्रारम्भ एकेडेमी, किड्सी लिबर्टी स्कुल, शिक्षालय नेपाल, श्रीयन्त्र स्कुल र गोकर्णेश्वर नयाँबस्तीको टाइमलाइन स्कुलका विद्यार्थीहरूले प्रतियोगितामा भाग लिएका थिए ।
प्रतियोगितामा कक्षा ४ देखि कक्षा ८ का छात्रछात्राले प्रदर्शन गरेको कठिन योगासन मूल्यांकन गरिएको थियो । त्रिभुवन विश्वविद्यालयका योग अध्यापक गुरुहरू डा. कृष्णशरण (टीपी धमला) र डा. आनन्द गैरेले निर्णायकको कुशल भूमिका निर्वाह गरेका थिए ।
कतारका लागि पूर्वराजदूत डा. माया शर्मा, चाँगुनारायण नगरपालिका वडा नं. ४ का वडाध्यक्ष रोजबहादुर तामाङ, वेदाचार्य द्रोण सुवेदी लगायतका विशिष्ट व्यक्तित्वहरूले योग प्रतियोगिता उद्घाटन गरेका थिए ।
प्रतियोगितामा कक्षा ४ सम्मका छात्रा समूहको प्रदर्शनमा हाइली क्रिएटिभ स्कुलकी शिरिषा मगर प्रथम, शिक्षालय नेपालकी आर्यना आचार्य द्वितीय, विद्या आर्जन स्कुलकी कृष्टिना गोले तृतीय र किड्स लिबर्टी स्कुलकी आयुश्री खनालले सान्त्वना स्थान हासिल गरे ।
त्यसैगरी छात्रतर्फ प्रारम्भ एकेडेमीका गणेश तामाङ प्रथम, हाइली क्रिएटिभ स्कुलका गिदन राई द्वितीय, अक्षरिका स्कुलका आरभजंग थापा तृतीय र हाइली क्रिएटिभ स्कुलका सुशन थापाले सान्त्वना स्थान प्राप्त गरे ।
त्यस्तै कक्षा ५ र ६ का छात्रा समूहको प्रदर्शनमा शिक्षालय नेपालकी सदीक्षा डोटेल प्रथम, हाइली क्रिएटिभ स्कुलकी वर्षा आचार्य द्वितीय, श्रीयन्त्र स्कुलकी परिधि भट्टराई तृतीय र हाइली क्रिएटिभ स्कुलकी निक्षिका पौडेलले सान्त्वना स्थान तथा छात्र समूहको प्रदर्शनमा श्रीयन्त्र स्कुलका रञ्जित थापा मगर प्रथम, टाइमलाइन स्कुलका अविराज तामाङ द्वितीय, प्रारम्भ एकेडेमीका रिजन खड्का तृतीय र अक्षरिका स्कुलका आशिष थापाले सान्त्वना स्थान हासिल गरे ।
त्यसैगरी कक्षा ७ र ८ का छात्रा समूहमा अक्षरिका स्कुलकी प्रजुना कार्की प्रथम, कैलाशबोधी स्कुलकी डिकी साङ्मो लामा द्वितीय, हाइली क्रिएटिभ स्कुलकी विनिता बोहोरा तृतीय र श्रीयन्त्र स्कुलकी अस्मिता ढुङ्गाना सान्त्वना भए । साथै छात्र समूहमा अक्षरिका स्कुलका अनुज कार्की प्रथम, प्रारम्भ एकेडेमीका आसमान मगर द्वितीय, अर्किड स्कुलका शिशिर जिरेल तृतीय र विपुल पाठशालाका सुशांक घिमिरेले सान्त्वना भए ।
प्रत्येक समूहका प्रथम, द्वितीय, तृतीय स्थान हासिल गर्नेहरूलाई प्रोत्साहनस्वरूप क्रमशः १५ सय ५, १ हजार ५ र ५ सय ५ रुपैयाँको साथमा प्रमाणपत्र, ट्रफी, मेडल, टिसर्ट प्रदान गरियो । यसैगरी सान्त्वना हासिल गर्नेहरूलाई ट्रफी, टिसर्ट र प्रमाणपत्र दिइयो । प्रत्येक सहभागीलाई प्रमाणपत्र एवं टिसर्ट प्रदान गरिएको थियो ।
प्रतियोगितामा संस्थाका तर्फबाट ज्येष्ठ योग साधक सम्मानपत्र ७० वर्षीय भगवती खनाल र सहायक योग प्रशिक्षक सम्मानपत्र बैकुण्ठ ढुङ्गाना, सर्वोत्कृष्ट सहभागी लक्ष्मी देवकोटा खनाल, उत्कृष्ट सहभागी, विजया सापकोटा र उत्साहपूर्ण सहभागी प्रमाणपत्र सम्झना भडेललाई प्रदान गरियो भने गत गुरुपूर्णिमाबाट दैनिक योगाभ्यासमा सहभागीहरूलाई प्रमाणपत्र पनि दिइयो ।
चाँगुनारायण नगरपालिकाको प्रमुख सहयोग र कागेश्वरीमनोहरा नगरपालिकाको विशेष सहयोगमा सम्पन्न यो प्रतियोगितामा संस्थाका सल्लाहकार तीर्थप्रसाद भट्टराई, ज्येष्ठ सदस्य इन्द्र कर्माचार्य, कोषाध्यक्ष चन्द्रमणि ढुङ्गाना, स्थानीय समाजसेवी प्रधुम्न पोखरेल, ज्येष्ठ नागरिक कृष्णप्रसाद खनाल लगायतको उपस्थिति रहेको थियो ।
स्थानीय युवा समाजसेवी दिनेश खनाल र विन्दु अधिकारीले कुशल सञ्चालकको भूमिका निर्वाह गरेका थिए । यो संस्थाले विश्व दर्शन योग व्यवस्थापन समिति गठन गरेर दैनिक योगाभ्यास, सत्संग, नेपाली मौलिक परम्परा र यौगिक वैदिक संस्कृतिका कार्यक्रमहरू सञ्चालन गर्दै आएको छ ।