लिलाममा नबिकेको धितोका कारण ठूला बैंक थलिँदै, कसको गैरबैंकिङ सम्पत्ति कति ?
सबैको गैरबैंकिङ सम्पत्ति बढ्दा प्राइम मात्रै घटाउन सफल
काठमाडौं । पुँजी र बिजनेस आकारमा आधारमा देशका ठूला बैंकहरु गैर बैंकिङ सम्पत्तिको कारण थलिने देखिएको छ । लिलाम गर्दा पनि नबिकेको धितो अर्थात् निष्क्रिय कर्जा डेढ वर्षको अन्तरमा दोब्बर हुँदा बैंकहरुलाई चरम दबाब हुने देखिएको हो ।
बैंक तथा वित्तीय संस्थाले कर्जा प्रवाह गर्दा लिएको धितो ती कर्जा नउठेको खण्डमा लिलाम गर्छन् । लिलामीको बेला पनि नबिकेको खण्डमा बैंकले गैरबैंकिङ सम्पत्तिको रुपमा सकार्छन् । यसरी सकारेको सम्पत्ति बैंकहरुका लागि घाँडो बन्ने भएका हुन् ।
वाणिज्य बैंकहरु तर्फ सबैभन्दा धेरै गैर बैंकिङ सम्पत्ति ग्लोबल आईएमई बैंकको छ । ग्लोबल आईएमई बैंकको यस्तो सम्पत्ति डेढ वर्षको अन्तरमा तेब्बर भएको हो । २०८० असारमा ग्लोबल आईएमई बैंकको गैरबैंकिङ सम्पत्ति १ अर्ब ७३ करोडमात्र थियो । गत कात्तिक मसान्तसम्म यस्तो सम्पत्ति ५ अर्ब १३ करोड रुपैयाँ पुगेको हो ।
गैरबैंकिङ सम्पत्तिका आधारमा एनआईसी एसिया दोस्रो स्थानमा छ । एनआईसी एसिया बैंकसँग ४ अर्ब २२ करोड रुपैयाँ बराबरको यस्तो सम्पत्ति छ ।
एनआईएमबी र हिमालयन बैंकसँग ३ अर्ब बढीको गैरबैंकिङ सम्पत्ति छ भने नबिल र कुमारी बैंकसँग २ अर्ब बढी यस्तो सम्पत्ति छ । अन्य ५ बैंकसँग १ अर्ब बढीको निष्क्रिय कर्जा हुँदा स्ट्यान्डर्ड चार्टर्ड बैंकबाहेक अन्यसँग १ अर्बभन्दा कमको निष्क्रिय कर्जा छ ।
यता सबैभन्दा बढी दरले गैर बैंकिङ सम्पत्ति बढ्ने बैंक नेपाल एसबीआई बैंक हो । डेढ वर्ष अघि एक रुपैयाँ पनि गैरबैंकिङ सम्पत्ति नभएको एभरेष्टसँग यस्तो सम्पत्तिको आकार ५१ करोड पुगेको छ ।
ठूला बैंकमध्ये हिमालयन बैंकको निष्क्रिय कर्जा ६ गुणाले बढेको छ भने कुमारीको २.२ गुणाले र एनआईएमबीको २.६ गुणाले बढेको हो ।
यता गत कात्तिकको तुलनामा वाणिज्य बैंकहरुको गैरबैंकिङ सम्पत्ति ७७ प्रतिशतले विस्तार भएको छ । ठूला बैंकमध्ये एक वर्षको तुलनामा सर्वाधिक दरले गैरबैंकिङ सम्पत्ति बढ्ने बैंक हिमालयन र ग्लोबल आईएमई नै हुन् ।
एक वर्षको अन्तरमा ग्लोबलको गैरबैंकिङ सम्पत्ति ३ अर्ब २९ करोडले बढ्दा हिमालयनको २ अर्ब ८० करोडले विस्तार भएको छ ।
एक वर्षको अवधिमा प्राइम कमर्सियल बैंकले मात्रै गैरबैंकिङ सम्पत्ति घटाएको छ ।
कसको गैरबैंकिङ सम्पत्ति कति ?