दक्षिण कोरियामा सैन्य कानुन लगाएपछि तनाब, संसद भवनको छतमा हेलिकप्टर अवतरण
एजेन्सी । उत्तर कोरियाको खतराको कारण देखाउँदै दक्षिण कोरियाका राष्ट्रपति युन सुक योलले सैन्य कानुन घोषणा गरेसँगै राजधानी सोलमा व्यापक प्रदर्शन भइरहेको छ ।
विपक्षी दल डेमोक्रेटिक पार्टीसहित आम नागरिकहरुले संसद भवन अगाडि कडा विरोध प्रदर्शन गरिरहेका छन् । राष्ट्रपति युनले उत्तर कोरियाको खतरा र दुश्मनहरुका कारण सैन्य कानुन आफूसँग एक मात्रै विकल्प रहेको भन्दै मध्यरातमा टेलिभिजनबाट घोषणा गरेका थिए ।
सैन्य कानुन लागु भएसँगै दक्षिण कोरियामा अब आपतकालीन अवस्थामा सैन्य अधिकारीहरुले शासन चलाउन सक्नेछन् । यस कदमलाई दक्षिण कोरियाको सरकारले सेना परिचालन गर्न अभ्यास गरेको रुपमा पनि अर्थ्याइएकोछ । मंगलबार नै संसद भवन अगाडि विरोध प्रदर्शन भइरहँदा भीडलाई नियन्त्रण गर्न सरकारले सेना परिचालन गरेको छ ।
अन्तर्राष्ट्रिय सञ्चारमाध्यम एएफपीका अनुसार संसद भवनको छतमा हेलिकप्टर अवतरण गरिएको छ । साथै सरकारले सेनाको विशेष फौज परिचालन गरेको छ ।
यसबीचमा राष्ट्रिय सभा भवनमा प्रवेश गर्न खोजिरहेका प्रदर्शनकारीहरुलाई नियन्त्रण गरिएको छ । यसका लागि सरकारले ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन गरेको छ भने संसद भवनभित्र भने सेनाको विशेष फौज परिचालन गरिएको छ ।
रातको समयमा राष्ट्रपति युनले अचानक सैन्य कानुन लागू गरेका थिए । जहाँ उनले उत्तर कोरिया र अन्य दुश्मनबाट देशलाई बचाउन आफूसँग रहेको एक मात्र विकल्प भनेका थिए ।
यससँगै राष्ट्रपति युन विवादित बनेका छन् । यस कदमलाई सत्तारुढ दलसहित विपक्षी दल र अभियन्ताहरुले चर्को विरोध गरिरहेका छन् । गत वर्ष बजेटको विवादित विधेयकलाई लिएर दक्षिण कोरियामा सत्तारु दल रविपक्षी दलबीच कडा मतभेद रहँदैआएको छ ।
अमेरिकी प्रतिक्रिया
लामो समयदेखि दक्षिण कोरियाको सहयोगीको रुपमा रहेको अमेरिकाले भने यस घटनालाई नजिकबाट नियालिरहेको जनाएको छ ।
यद्यपि यसबारे आफ्नो धारणा व्यक्त गरेको छैन । तर राजदूतले भने सामाजिक सञ्जालमा छोटो प्रतिक्रिया दिएका छन् ।
कोरियास्थित अमेरिकी राजदूत फिलिप गोल्डबर्गले लेखेका छन्, ‘अमेरिकी दूतावास राष्ट्रपति युनको हालैको मार्सल लको घोषणालाई नजिकबाट नियालिरहेको छ । अवस्था तरल छ। यो स्थिति बढ्दै जाँदा अपडेटका लागि स्थानीय समाचार स्रोतहरु हेर्नुहोला ।’