दक्षिण कोरियाका राष्ट्रपतिले मध्यरातमा सैन्य कानुन घोषणा गरे
उत्तर कोरियाबाट खतरा रहेको भन्दै दक्षिण कोरियाका राष्ट्रपतिले मध्यरातमा सैन्य कानुन घोषणा गरेका छन् । प्रतिपक्षीहरुले भने विरोध गरिरहेका छन् । सत्तारुढ दलका नेताहरुले पनि राष्ट्रपतिको कदमको विरोध गरे ।
एजेन्सी । दक्षिण कोरियाका राष्ट्रपति युन सुक योलले उत्तर कोरियाको कम्युनिस्ट शासनलाई लक्षित गर्दै देशमा सैन्य कानुन ‘मार्सल ल’को घोषणा गरेका छन् ।
रातको समयमा टेलिभिजनबाट राष्ट्रको नाममा सम्बोधन गर्दै राष्ट्रपति युनले उत्तर कोरियाको कम्यिनस्ट बलबाट देशलाई असुरक्षा भएको भन्दै यो कदम जरुरी भएको बताएका छन् ।
यस्तै उनले यो कदम देशविरोधी तत्वहरुलाई परास्त गर्न उठाइएको पनि बताएका छन् । यसभन्दा कुनै विकल्प पनि आफूसँग नरहेको उनको भनाइ थियो ।
तर यो सैन्य कानुन कहिलेसम्म लागू हुने भन्ने विषयमा राष्ट्रपति युनले केही प्रतिक्रिया दिएका छैनन् । जवकि कुनै पनि देशमा संकट वा आपतकालीन अवस्थामा मात्रै यस्तो सैन्य कानुन लागू गरिन्छ ।
विपक्षी डेमोक्रेटिक पार्टीले भने राष्ट्रपतिको यस्तो कदमलाई असंवैधानिक भन्दै आपत्ति जनाएको छ । दक्षिण कोरियाका मिडियाका अनुसार सेनाले सबै किसिमका संसदीय कारबाहीलाई निलम्बन गर्ने घोषणा गरेको छ ।
योन्हप न्युज एजेन्सीका अनुसार राष्ट्रिय सभाका सदस्यहरुलाई सभा भवनमा प्रवेशमा रोक लगाइएको छ । सामाजिक सञ्जालमा सार्वजनिक भएका भिडियोमा पनि राजधानी सोलमा राष्ट्रिय सभा भवन बाहिर ठूलो संख्यामा सैनिक तैनाथ भएको देखिन्छ ।