एनपीएलका प्रत्येक चौका वापत एनसेलले सामुदायिक विद्यालयलाई सहयोग गर्ने



काठमाडौं । एनपीएलका खेलहरूमा प्रहार गरिने प्रत्येक चौका वापत एनसेल फाउन्डेसनले ग्रामीण र दुर्गम क्षेत्रका सामुदायिक विद्यालयका विद्यार्थीहरूलाई चारवटा शैक्षिक सामाग्री प्रदान गर्ने घोषणा गरेको छ ।

यस पहलबाट विद्यार्थीहरुको पठनपाठनमा सकारात्मक परिवर्तन ल्याउने एनसेल फाउन्डेसनले उद्देश्य राखेको छ । साथै शिक्षालाई प्रवर्द्धन गर्दै विद्यार्थीको उज्ज्वल भविष्यका लागि अवसरहरूको ढोका खोल्न मद्दत पुग्ने अपेक्षा गरेको छ ।

फाउन्डेसनबाट विद्यार्थीहरुले प्राप्त गर्ने प्रत्येक शैक्षिक किटमा आवश्यक शैक्षिक सामग्री समावेश हुनेछन् । यसले स्रोतको अभाव घटाउन सहयोग गर्ने र विद्यार्थीहरूलाई पठनपाठनमा योगदान दिने बताइएको छ ।

‘क्रिकेट यस्तो खेल हो, जसले एकताबद्ध बनाउँछ र प्रेरणा पनि दिन्छ । यस पहलमार्फत हामी क्रिकेटप्रतिको चाख र यसको शक्ति प्रयोग गरी ग्रामीण र दुर्गम विपन्न क्षेत्रका विद्यार्थीहरूको जीवनमा सकारात्मक प्रभाव पार्न चाहन्छौं । शिक्षा दिगो विकासको मुख्य आधार हो । यो पहलले हाम्रो भावी पुस्तालाई सक्षम बनाउने प्रतिबद्धताको प्रतिनिधित्व गर्छ,’ एनसेलकी कर्पोरेट कम्युनिकेसन र सीएसआर हेड विशाखालक्ष्मी खड्काले भनिन् ।

नेपालको एक वहुप्रतिक्षित प्रमुख प्रतियोगिताको रुपमा लिइएको एनपीएल क्रिकेटले नेपालका समुदायहरूसँग गहिरो सम्बन्ध राख्दै एनसेलको नयाँ पहलले खेलमा रोमाञ्चकता थप्दै आवश्यकता भएका क्षेत्रमा सहयोग पुर्‍याउने पनि खड्काले बताइन् ।

साथै यी शैक्षिक सामाग्रीहरू वितरण क्रिकेट एशोसिएसन नेपाल (क्यान), स्थानीय निकाय र सरोकारवालाहरूको समन्वयमा गरिने बताइएको छ । जसले सामुदायिक विद्यालयका लक्षित विद्यार्थीहरुसम्म आवश्यक सामग्री पुग्ने सुनिश्चितता गर्नेछ ।

क्यानले एनपीएलका लागि एनसेलसँग साझेदारी सम्झौता गरिसकेको छ । यस साझेदारी अन्तर्गत एनसेल, सिद्धार्थ बैंक नेपाल प्रिमियर लिगको ‘पावर्ड बाई’ पार्टनरको रूपमा रहेको छ । यसले नेपालको आफ्नै घरेलु क्रिकेट प्रतिभाहरुको निर्माणमा गर्न सहयोग पुर्‍याउने छ ।

यो साझेदारी एनसेलको ‘हामी तपाईंकै लागि’भन्ने आफ्नो थिम र नेपालमा क्रिकेट र खेलकुदको विकासमा समर्थन गर्ने प्रतिबद्धता अनुरुप रहेको बताइएको छ ।


क्लिकमान्डु