कुखुराको भाले आकृतिको अनौठो होटेल: जसले ‘भाले जुधाइ’ संस्कृतिसँगै विश्व रेकर्ड बनायो



एजेन्सी । पछिल्लो समय पर्यटकहरुको मुख्य गन्तव्य बन्दै गरेको फिलिपिन्समा एउटा अनौठो होटेल बनेको छ । जसले विश्वभर चर्चा पाइरहेको छ ।

कुखुराको भालेको आकारमा निर्मित विश्वकै सर्वाधिक ठूलो भवनको रुपमा यो होटेलले हालै गिनिज बुक अफ वर्ल्ड रेकर्डमा सूचीकृत भएपछि अझै यसको व्यापक चर्चा हुँदैछ ।

फिलिपिन्सको दुर्गम पहाडमा बनेको यो होटेलसँगै विशाल पार्क पनि छ । जहाँ पर्यटकहरुको भीड नै लाग्ने गरेको छ । विशेषगरी यो होटलको आकार तथा बनोटलाई लिएर पर्यटकहरु घुम्न उत्साही हुने गर्छन् । तर ६ तले ११४ फिट अग्लो उक्त होटेलमा जम्मा १५ वटा कोठा छन् । र ती सबै कोठामा एयर कन्डिसनिङ गरिएको छ तर कुनै पनि कोठामा झ्याल भने छैनन् ।

क्याम्पेस्तोन हाइल्यान्ड रिसोर्ट नामको यो होटेल नेग्रोस अक्सिडेन्टल क्षेत्रमा अवस्थित छ । जुन रिसोर्टले गत सेप्टेम्बर ८ मा गिनिज वर्ल्ड रेकर्डको टाइटल समेत पाएको छ । कुखुराको भाले आकारको भवनको रुपमा यस रिसोर्टले विश्व रेकर्ड राखेको हो।

यो रिसोर्टको परिकल्पनाकार रिकार्दो कानो ग्वापो तानले आफूले पहिलेदेखि नै यो नाशवान विश्वमा विशाल विरासत कायम गर्न चाहेको प्रतिक्रिया दिएका छन् । राजनीति छाडेर हाल सिर्जनात्मक व्यवसायमा लागेका तान आफूलाई ‘ठूलो केटाकेटी’को रुपमा व्याख्या गर्छन् । र आफ्नो रिसोर्ट सबैका लागि खेल मैदान जस्तो आकर्षक गन्तव्य रहेको बताउँछन् ।

तान आफ्नो रिसोर्टलाई कुखुरा पालन उद्योगका लागि समर्पित गर्न चाहेको बताउँछन् । जवकि कुखुरा पालन व्यवसायले फिलिपिन्समा दसौं हजारलाई रोजगारी दिएको छ । यसैले पनि उनले नेग्रोस क्षेत्रमा पंक्षीको महत्त्वको सम्मान गर्न यो खेलमैदान जस्तो रिसोर्ट तयार पारेको तानले बताएका छन् ।

फिलिपिन्स स्पेनको उपनिवेश हुनुभन्दा पहिलेदेखि नै यस क्षेत्रमा ‘भाले जुधाइ’ कुखुराको भाले जुधाउने खेललाई मौलिक संस्कृतिको रुपमा लिने गरिन्थ्यो । र यो भाले जुधाइ संस्कृति विशेषगरी फिलिपिन्स र थाइल्यान्डमा लोकप्रिय संस्कृतिको रुपमा चिनिएको छ ।

यस्तै यो प्रान्तमा भाले जुधाइ उद्योग नै अर्बौं पेसो (फिलिपिन्सको मुद्रा)को छ । तान फिलिपिन्सको आइकोनिक बिल्डिङको रुपमा यो भवनलाई व्याख्या गर्छन् । नेग्रोस अक्सिडेन्टलमा २ हजारभन्दा धेरै भाले उत्पादनका लागि फार्म रहेको मानिन्छ । र यो चिनी उत्पादन र सुँगुर प्रजननपछि यस क्षेत्रको ठूलो उद्योग कुखुराले ओगटेको छ।

रोचक त के छ भने फिलिपिन्सभर भाले जुधाइको खेल रोचक मानिन्छ । र ‘ककफाइटिङ एरेना’ भाले जुधाइ खेलमा पशु अधिकारकर्मीहरुको विरोधका बावजुद बाजी लगाउनेहरुले लाखौं फिलिपिनो पेसो खर्च गर्ने प्रचलन छ । भाले जुधाइ खेलमा लडाकु भालेहरुको जितमा खुसियाली मनाइरहँदा तान भने भालेलाई शान्त र आज्ञाकारी पंक्षीको रुपमा पनि व्याख्या गर्छन् ।

तानका अनुसरा सार्वजनिक बिदाको अघिल्लो साँझ होटेल पूरा प्याक हुने गर्छ । जहाँ बस्नका लागि चार जनाको लागि एउटा कोठाको ८० डलरभन्दा कम पर्छ । र सात जनासम्मको ठूलो समूहका लागि करिब १२० डलर पर्छ । मूल्य लगायत कोठा खाली भएनभएको विषयमा होटेलले आफ्नो फेसबुक पेजमार्फत पनि सूचना जारी गर्दैआएको छ ।

पहाडको टाकुरामा रहेको यो होटेल अवस्थित रहेको जग्गा भने तानकी पत्नी अनिताले १० वर्षभन्दा पहिले नै खरिद गरेकी थिइन् । हाल होटेलमा पर्यटकलाई आकर्षित गर्न स्विमिङ पुल, क्याफेसहित पार्कमा डाइनोसर, बाघ लगायत विभिन्न जनावरको आकृति पनि बनाइएको छ ।

यो ठाउँमा राजधानी मनिलादेखि आन्तरिक उडानमार्फत जहाजमा जानुपर्छ । विमानस्थलबाट १७ माइल दूरीमा रहेको ठाउँ यतिबेला पर्यटकहरुको आकर्षक गन्तव्य बन्दैआएको छ ।


क्लिकमान्डु