कुलमानले बोलाए आकस्मिक पत्रकार सम्मेलन
काठमाडौं । नेपाल विदयुत् प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङले बुधबार दिउँसो २ बजे पत्रकार सम्मेलन गर्दैछन् । सरकारले उनलाई हटाउने तयारी गरिरहेका बेला आकस्मिक रुपमा पत्रकार सम्मेलन बोलाएका हुन् ।
उनले पत्रकार सम्मेलन किन बोलाएको भन्ने बारे कुनै जानकारी दिएका छैनन् । कुलमान घिसिङको सचिवालयले पत्रकार सम्मेलनको सूचना पत्रकारहरुलाई पठाएको छ ।
आइतबार बसेको मन्त्रिपरिषद्को बैठकले लाल आयोगको प्रतिवेदन कार्यान्वयन गर्दै १५ दिनभित्र डेडिकेटेड फिडर तथा ट्रंकलाइनको बक्यौता उठाउने निर्णय गरेको थियो । साथै काटिएका उद्योगमा २४ घण्टाभित्र लाइन जोड्ने निर्णय गरेको थियो । मंगलबार सञ्चालक समितिको बैठकले लाइन जोड्ने निर्णय गरे केही उद्योगमा बिजुली जोडिएको छ भने ठूला उद्योगमा लाइन जोडिएको छैन ।
सञ्चालक समितिको बैठकमा उनले लाइन जोड्ने मानेका थिएनन् । उनले १५ दिनभित्र बक्यौता तिर्ने सुनिश्चितता नभई लाइन जोड्न नहुने तर्क गरेका थिए । ऊर्जा राज्यमन्त्री पूर्ण बहादुर तामाङ ‘कान्छाराम’ र अर्थ मन्त्रालयका सचिव दिनेश घिमिरेले मन्त्रिपरिषद्को निर्णय कार्यान्वयन नगर्दा अप्ठ्यारो पर्ने बताएपछि घिसिङ लाइन जोड्न तयार भएका थिए ।
घिसिङलाई ऊर्जा मन्त्रालयले कार्तिक ३ गते ६ बुदे स्पष्टीकरण सोधिसकेको छ । ऊर्जा सचिव सुरेश आचार्यले स्पष्टीकरण सोधेका हुन् । दशै अघि नै प्राधिकरणका प्रबन्ध निर्देशक घिसिङसँग मन्त्रालयले १५ बुदे विवरण मागेको थियो । उक्त विवरण नदिएपछि उनलाई स्पष्टीकरण सोधिएको हो । सरकारले उनलाई हटाउने प्रक्रिया अघि बढाएका बेला उनले गर्न लागेको पत्रकार सम्मेलनलाई अर्थपूर्ण रुपमा हेरिएको छ ।