अमेरिकी ‘गभर्मेन्ट इफिसेन्सी’को नेतृत्वमा एलन मस्कसँगै भारतीय मूलका विवेक नियुक्त
एजेन्सी । अमेरिकाको राष्ट्रपतिमा निर्वाचित डोनल्ड ट्रम्पले टेस्लाका मालिक एलन मस्कसँगै भारतीय मूलका अमेरिकी उद्यमी विवेक रामास्वामीलाई डिपार्टमेन्ट अफ गभर्मेन्ट इफिसेन्सी (डीओजीई)को नेतृत्वको जिम्मा दिएका छन् ।
उनीहरुलाई नियुक्ति गर्दै ट्रम्पले एलन मस्कलाई ‘महान’ भन्दै प्रशंसा गरेका थिए भने रामास्वामीलाई ‘देशभक्त अमेरिकी’ भनेर सम्बोधन गरेका थिए । आगामी जनवरीमा कार्यभार सम्हाल्ने तयारीमा रहेका ट्रम्पले केही महत्त्वपूर्ण पदहरुमा आफू निकटका व्यक्तिहरुलाई नियुक्त गरिसकेका छन् । तीमध्ये एलन मस्क र विवेक रामास्वामीलाई उनले डीओजीईको नेतृत्वको जिम्मा दिएको घोषणा गरे ।
एलन मस्क र विवेक रामास्वामी दुबै पछि अमेरिकी नागरिकता लिएका उद्यमीहरु हुन् । एलन मस्क ३ दशकअघि दक्षिण अफ्रिकाबाट अमेरिका गएका थिए भने विवेक रामास्वामीको परिवार भारतको केरलाबाट अमेरिका बसाइँसरेको थियो ।
ट्रम्पको दोस्रो कार्यकालमा नियुक्ति पाउने भारतीय मूलका अमेरिकीहरुमध्ये विवेक रामास्वामी पहिलो व्यक्ति हुन् । रामास्वामी र मस्कलाई नियुक्त गर्दै ट्रम्पले भनेका छन्, ‘यी दुई अद्भुत अमेरिकी मेरो प्रशासनका लागि सरकारी कर्मचारीतन्त्र अन्त्य गर्न, अतिरिक्त नियमहरु अन्त्य गर्न, अनावश्यक खर्च कटौती गर्न र संघीय एजेन्सीहरुको पुनर्गठनका लागि मार्ग प्रसस्त गर्नेछन् । जुन सेभ अमेरिका आन्दोलनका लागि आवश्यक छ ।’
राष्ट्रपति निर्वाचनमा ट्रम्पको अभियानमा अर्बौं रकम खर्च गरेका एलन मस्कलाई यसपटक ट्रम्पले महत्त्वपूर्ण जिम्मेवारीमा नियुक्त गर्नसक्ने धेरैले आकलन गरेका थिए । ट्रम्पले दुई उद्यमीहरुलाई विभागमा नियुक्त गर्दै उनीहरुले संघीय कर्मचारीतन्त्रमा परिवर्तन गर्दै सबै अमेरिकीहरुको जीवन उन्नत बनाउने अपेक्षा गरेका छन् ।
साथै दुबै जनाले संयुक्त रुपमा यो विभागको नेतृत्व गर्ने पनि बताइएको छ । अर्थतन्त्रलाई खुला बनाउने र सरकार आम जनताप्रति उत्तरदायी बनाउने काममा उनीहरुको ध्यान केन्द्रित हुने पनि ट्रम्पले बताएका छन् ।
को हुन् विवेक रामास्वामी ?
भारतीय मूलका ३९ वर्षीय विवेक रामास्वामी अमेरिकाको ओहायोमा जन्मिएका थिए । अमेरिकी सपनाको लागि एक सांस्कृतिक आन्दोलन गर्न चाहेको बताउँदै आएका विवेक मोटिभेसनल स्पिकरको रुपमा पनि प्रस्तुत भएका हुन्छन् । करोडौं डलरका मालिक उनले वोक, ट्रुथ्स लगायत चर्चित पुस्तक लेखेका छन् ।
रामास्वामीका बाबु एक इन्जिनियर थिए । आमाले भने अमेरिकामा मनोचिकित्सकको रुपमा काम गरेकी थिइन् । उनीहरु केरलाबाट अमेरिका पुगेका थिए । रामास्वामीका बाबुको अहिले पनि भारतीय पासपोर्ट नै रहेको बताइन्छ । तर विवेक भने अमेरिकी नागरिक नै हुन् ।
युवा अभियन्ताको रुपमा केही वर्षयता प्रभावशाली व्यक्ति बनेका विवेकले हार्वर्ड र एल युनिभर्सिटीमा पढेका हुन् । बायो टेक्नोलीजीको क्षेत्रबाट उनले करोडौं डलर कमाउनुका साथै प्रभावशाली वक्ताको रुपमा आफ्नो पहिचान बनाइसकेका छन् ।