साउदीको मरुभूमिमा कसरी भयो हिमपात ?

1.8k
Shares

एजेन्सी । तपाईंले मरुभूमिमा कल्पना गर्न सक्ने अन्तिम कुरा के हो ? शीतल मौसम ? झमझम झरी ? वा शर्दिको जस्तो हिमपात ?

आश्चर्यजनक रुपमा साउदी अरबको मरुभूमिका लागि भने यी सबै कुरा सत्यका रुपमा देखिएका छन्, जसले त्यहाँको परिदृश्यलाई शिशिर मौसमको अलौकिक दुनियाँजस्तो बनाएको छ ।

साउदी प्रेस एजेन्सीका अनुसार अध्याधिक वर्षा र त्यस्तै मात्रामा असिना त्यहाँको अल-ज्वाफ क्षेत्रमा देखिएको थियो । अहिले भने हिमपातका कारण मरुभूमिका पहाडहरु छोपिएका छन्, जसले त्यहाँ हेर्न लायक दृश्य सिर्जना गरिदिएको छ ।

यस्तो दृश्य जुन कहिल्यै पनि मरुभूमिमा देखिएको थिएन । तर मरुभुमिमा हिमपात कसरी भयो ? के कारण यस्तो कल्पना नै गर्न नसकिने माैसमी प्रकिया देखापर्‍यो त ? साउदी अरबमा पछिल्लो एक साता यता असामान्य माैसम देखिएको छ ।

गत बुधबार त्यहाँको अल-ज्वाफ क्षेत्रमा अध्याधिक वर्षा र त्यहि मात्रामा असिना परेको थियो । जुन अल-ज्वाफका साथै साउदीको उत्तरी सिमाना रियाद र मेक्का क्षेत्रमा पनि देखिएको थियो । वाचर डट न्युजका अनुसार यो असामान्य मौसमि प्रकियाले असिर, तबुक र अल बहाह क्षेत्रलाई पनि प्रभाव पारेको छ ।

सोमबार भने अल-ज्वाफको पहाडी क्षलाकामा हिमपात भएको थियो, जसले स्थानियलाई अचम्मित तुल्याउनका साथै सामाजिक सञ्जालमा तस्बिरहरु राखिँदा कैयौं किसिमका प्रतिक्रियाहरु आएका थिए ।

सामाजिक सञ्जालमा राखिएका तस्बिरहरुमा असिना उपत्यका र सडकभरि देखिएका थिए । कतिपय सामाजिक सञ्जालका प्रयोगकर्ताहरुले भने आँधिका कारण झरना र हिम नदि पनि बनाएको दाबी गरेका देखिन्छन् ।

किन भयो हिमपात ?

संयुक्त अरब इमिरेट्स (युएई) को राष्ट्रिय जलवायु केन्द्रकाअनुसार असामान्य रुपमा असिना र हिमपात हुनुको कारण अरबियन सागरबाट ओमानतर्फ फैलिरहेको न्युन दबाब प्रणाली रहेको छ ।

यो मौसमी ढाँचाले प्राय सुख्खा रहने क्षेत्रमा आद्रताले भरिएको हावा देखिएको छ । जसकारण चट्याङ, असिना र झरि पर्ने जस्तो मौसमि प्रक्रिया साउदी अरब र छिमेकी संयुक्त अरब इमिरेट्समा पनि देखिएको छ ।

खालिज टाइम्सका अनुसार त्यहाँको राष्ट्रिय जलवायु केन्द्रले अल-ज्वाफका धेरै जसो क्षेत्रमा आगामी दिनमा पनि चट्याङ पर्न सक्ने सम्भावना रहेको भन्दै चेतावनी पनि जारी गरेको छ ।

अहिले त्यहाँको मौसम प्रक्षेपणमा भने अत्याधिक वर्षा र असिना पर्न सक्ने र यसकारण दृश्यतामा पनि कमि हुन सक्ने उल्लेख गरिएको छ । साथै, यी मौसमि अवस्थाका साथमा अत्याधिक आँधिको पनि सम्भावना रहेको बताइएको छ ।

(फस्टपोस्ट डटकमबाट)