अदालतको गेटबाट रविले भने- अदालतले मलाई न्याय दिन्छ, ओली सरकार रहुन्जेल जनताले दु:ख पाउँछन्



पोखरा । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले आफूलाई अदालतले न्याय दिने बताउँदै केपी ओली नेतृत्वको सरकार रहेसम्म जनताले दुख पाउने बताएका छन् ।

सहकारी ठगीमा अनुसन्धानका लागि हिरासतमा राख्ने म्याद थपका लागि आइतबार प्रहरीले जिल्ला अदालत लगेका बेला पत्रकारहरुसँगको छोटो कुराकारी गर्दै न्यायलयले आफूलाई न्याय दिन्छ भन्ने कुरामा विश्वस्त रहेको प्रतिक्रिया दिएका हुन् ।

‘मलाई न्यायालयप्रति एकदमै धेरै विश्वास छ । अदालतले मलाई न्याय दिन्छ । तर केपी ओली सरकार रहिरहने हो भने जनताले धेरै दुख पाउँछन् । यो सरकार रहँदासम्म झुटा मुद्दामा मान्छेलाई फसाउने काम गरिरहन्छ’, उनले भने– ‘यो सरकारको विरूद्ध देशैभरिबाट सबैजनालाई उत्रन आह्वान गर्छु ।’

अधिनायकवादी ओली सरकारका विरूद्ध देशैभरि देशका लागि बाहिर निस्कने बेला आउन सक्ने उनले बताए ।

‘केपी ओलीको शासन सत्ता रहेसम्म, यो सरकार रहेसम्म यो देश बन्दैन,’ उनले भने, ‘मलाईजस्तै डेढ वर्ष लगाएर केपी ओलीलाई छानबिन गर्ने हो भने सबैभन्दा धेरै भ्रष्टाचारको जगमा उभिएको मानिस हो। ओली देशको प्रधानमन्त्री भएकोमा दुर्भाग्य हो।’

उनले सरकारविरुद्ध देशभरबाट सडकमा उत्रिन पनि पार्टी कार्यकर्तालाई आह्वान गरे। आफू अदालतको विश्वास गरेर न्याय प्रक्रियामा सघाउन आएको लामिछानेले बताए ।

सरकार आफैंले भ्रष्टाचारीको संरक्षण गरेर आफूलाई झुटा मुद्दा लगाएको भन्दै लामिछानेले आक्रोश पोखे ।


क्लिकमान्डु