४५६ मेगावाटको माथिल्लो तामाकोसीमा १ अर्ब ८० करोडको क्षति, मर्मतका लागि ८ महिना लाग्ने



काठमाडौं । मुलुककै सबैभन्दा ठूलो क्षमताको माथिल्लो तामाकोसी जलविद्युत् आयोजनामा १ अर्ब ८० करोड रुपैयाँ क्षति पुगेको छ ।

असोज १० गतेदेखिको निरन्तर वर्षाका कारण आएको बाढी र पहिरोले तामाकोसीमा ठूलो क्षति पूर्‍याएको थियो । कम्पनीले तयार पारेको रिपोर्टमा १ अर्ब ८० करोड रुपैयाँभन्दा बढी क्षति पुगेको उल्लेख छ ।

आयोजनाको ड्याम साइटको कन्ट्रोल बिल्डिङ पूरै ध्वस्त भएको छ । कन्ट्रोल रुमभित्र रहेका ४ जना कर्मचारीको ज्यानै गएको थियो । कन्ट्रोल रुमसँगै इलेक्ट्रिकल, मेकानिकाल इक्विपमेन्टहरुमा क्षति पुगेको छ । सिभिलतर्फ डिस्यान्टरको सुरुको भाग ध्वस्त भएको छ । बक्स कल्भर्टमा क्षति पुगेको छ । पहुँचमार्गमा ध्वस्त भएको छ ।

डिस्यान्डर पुग्ने पहुँचमार्ग भने मर्मत भएको छ । सिंगटीमा ४६ नम्बरको टावरको क्रस आमहरु भाचिएको छ । त्यसलाई अन्तै सार्नुर्पर्ने अध्ययनले देखाएको छ । स्लाइड प्रोगेसिभ भएकाले समानहरु लैजान समेत समस्या भएको तामाकोसीका प्रमुख कार्यकारी अधिकृत मोहन गौतमले बताए ।

‘काम सुरु भएको छ । तर बाटो नभएका कारण समान लैजान समस्या भएको छ । २० दिनमा सेन्टिलिङ बेसिन सफा गरेर आशिंक रुपमा सञ्चालन गर्ने तयारी छ । सबै कुरा मिल्यो भने सञ्चालनमा आउनेछ,’ उनले क्लिकमान्डुसँग भने, ‘सबै मर्मतका लागि ठेक्का लगाउनुपर्छ । ६/८ महिना लाग्छ । वर्खाअघि नै सक्ने तयारी छ ।’

हिउँदको समस्या हुने

४५६ मेगावाटको माथिल्लो तामाकोसीले उत्पादन थालेपछि नेपालमाको विद्युतमा गुणात्मक परिवर्तन आएको हो ।

नेपाल विद्युत प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङले तामाकोसी हिउँदसम्ममा मर्मत गर्न नसकिए  हिउँदमा आयात बढाउनुपर्ने बताए ।  नेपालका अधिकांश जलविद्युत् आयोजना नदी प्रवाहमा आधारित छ । जसको उत्पादन हिउँदमा ३० प्रतिशतभन्दा तल झर्छ । ३१०० मेगावाट जडित क्षमता पुगेपनि हिउँदको माग पूरा गर्न ६०० मेगावाटसम्म आयात गर्नुपर्छ । गएको हिउँदमा ६०० मेगावाटसम्म आयात गरेर आन्तरिक माग पूरा गरेको थियो । यो वर्ष ६०० मेगावाटभन्दा बढी आयात गर्नुपर्ने प्राधिकरणको अनुमान छ ।

तामाकोसीको उत्पादनपछि नेपाल विद्युत प्राधिकरणलाइ हिउँदको माग व्यवस्थापनमा केहि सहज भएको थियो । भने विद्युत खरिद बिक्री (पीपीए) दर समेत कम भएका कारण धेरै नाफा समेत थियो । भारतबाट हिउँदमा आयात हुने बिजुली १८ रुपैयाँ प्रतियुनिटसम्म पर्ने गरेको छ ।

प्राधिकरण गत आर्थिक वर्ष भारतबाट १६ अर्ब ९३ करोड रुपैयाँको विद्युत आयात गरिएको थियो । यही अवधिमा १७ अर्ब ६ करोड रुपैयाँको विद्युत् निर्यात गरिएको थियो । गत आवमा आयातभन्दा १३ करोड रुपैयाँ बढीको विद्युत् निर्यात गरी खुद विद्युत् आयातकर्ताबाट नेपाल खुद विद्युत् निर्यातकर्ता बनेको थियो ।

प्राधिकरणका अनुसार चालु आर्थिक वर्षको पहिलो २ महिनामा ७ अर्ब ५४ करोड ६१ लाख रुपैयाँको विद्युत् भारततर्फ निर्यात भएको छ । विद्युत प्राधिकरणले साउन र भदौमा देशभित्र खपत गरी अतिरिक्त भएको वर्षायामको १ अर्ब २ करोड ९२ लाख युनिट विद्युत् भारततर्फ निर्यात गरेको छ । प्राधिकरणले साउनमा ३ अर्ब ९९ करोड ५६ लाख रुपैयाँको विद्युत् निर्यात गरेको छ । भदौमा ३ अर्ब ५५ करोड ५ लाख रुपैयाँको विद्युत् निर्यात गरिएको छ ।

बाढी पहिरोका कारण सञ्चालनमा रहेका जलविद्युत केन्द्रहरु र प्रसारण लाइनमा क्षतिपुग्दा हाल विद्युत् निर्यात प्रभावित भइरहेको छ ।

‘चालू आवमा करिब ३० अर्ब रुपैयाँको विद्युत् निर्यात लक्ष्य राखेका थियौं, बाढीपहिरोले जलविद्युत् केन्द्र र प्रसारण लाइनमा क्षति पुर्याउँदा विद्युत् उत्पादन नै बन्द भई लक्ष्य प्रभावित हुने देखिएको छ’, घिसिङले भने ।


क्लिकमान्डु