वेल्सका रग्वी युनियन खेलाडी ज्याक डिक्शनले भनेका छन्- यदि तिमीले नतिजामा ध्यान दियौ भने तिमि कहिल्यै पनि परिवर्तन हुंदैनौं, यदि तिमिले परिवर्तनमा ध्यान दियौ भने तिमिले नतिजा पाउनेछौं ।
ज्याकले हामिलाई कुनै नतिजाको लागि परिवर्तनमा ध्यान दिनको लागि सुझाव दिएका छन् । परिवर्तनले नयाँ नयाँ र राम्रो नतिजा दिइरहेको हुन्छ । यस भनइमा परिवर्तनको अर्थ निक्कै धेरै लगाउन सकिन्छ । तर यसलाई सोचमा परिवर्तन भन्ने अर्थ लगाइएमा सोच्ने तरिकामा परिवर्तन गरिएमा मानिसले नतिजा प्राप्त गर्न सक्छ । कुनै न कुनै अर्थमा जित हासिल प्राप्त गरिरहेकै हुन्छ ।
सामान्यतय जित भन्नाले प्रथम हुनु वा उत्कृष्ट हुनु भन्ने बुझिन्छ । तर सबै ठाउँमा र सबै परिस्थितमा यो लागु नहुन पनि सक्छ । रुघाले ग्रस्त मानिसको लागि अलि अलि बोल्न सक्नु नै जित हुन सक्छ भने सामान्य मानिसलाई सामान्य बोलचाल गर्न सक्नु नै जित हुन सक्ला भने एउटा भाषण प्रतियोगितामा गएको मानिसलाई एकदमै उर्जाको साथ बोल्नु नै जित हुनसक्ला । यदि यो शब्दले सबै जात, भाषा, संस्कृति तथा परिस्थितिमा समान हुन्थ्यो भने हामिले कुनै एउटा बिदेशी नागरिकले नेपाली बोलेको सुनेर छक्क मान्नु पर्थेन, उनीहरुले नेपाली टोपी लगाएको देखेर दंग हुनु पर्ने थिएन । यदि यस्तो हुन्थ्यो त ती बिदेशीले नेपाली बोलेको सुनेर हर नेपालीले आफूलाई फरर नेपाली बोल्न आउने ठानेर आफूलाई निक्कै ठुलो सम्झनुपर्थ्यो, बिदेशीले नेपाली टोपी लगाएर रमाएकोमा नेपालीहरु एकमदै रमाउनुपर्थ्यो ।
३ जना एकदमै मिल्ने साथिहरु एउटा म्याराथन दौडमा भाग लिएका थिए । तर दौड अन्य ब्यक्तिले जित्यो । अन्य ब्यक्तिले दौड जितेपनि ति ३ जना ब्यक्तिहरु बिजेता जस्तै प्रफूल्लित देखिन्थे । उनीहरुमा हारको कुनै भाव नै थिएन र एकदमै आत्मविश्वास बढेको देखिन्थ्यो । तिनै जनालाई नजिकबाट नियालिरहेका एकजना पत्रकार उनिहरुकहाँ गएर प्रश्न गर्छन्- तपाईंहरु म्याराथन दौडमा हारेर पनि यतिधेरै खुशी देखिनुको कारण के हो ?
पहिलो ब्यक्ति- मैले अहिलेसम्म म्याराथन दौडमा भाग लिएको थिइन । तर आज भाग लिने सौभाग्य पाएँ । आज मेरो जिन्दगीको एउटा सपना पुरा भएको छ । त्यसकारण खुशी छु ।
दोश्रो ब्यक्ति- मैले यसअघि हाफ म्याराथनमा दौडमा सहभागि भएको थिएँ । तर फूल म्याराथन दौडन सक्छु कि सक्दिन भन्ने आफूलाई नै जाँच्नको लागि यस दौडमा भाग लिएको थिएँ । मैले दौड पुरा पनि गरें र ५ जनाभन्दा अघि नै दौड पूरा गरेर मैले सोचेको भन्दा बढी सफलता प्राप्त गरेँ त्यसैले आज एकदमै खुशी भएको छु ।
तेश्रो ब्यक्ति- मैले यसअघि एउटा म्याराथनमा दौडमा सहभागि भएको थिएँ । दौडमा अन्तिम भएको थिएँ । तर आजको दौडमा मैले १५ जना प्रतिस्पर्धीलाई उछिन्न सफल भएँ । र दौड पनि पहिलाको भन्दा १० मिनेट अगाडी समाप्त गर्न सफल भएँ । त्यसकारण ममा एउटा बिजेताको जस्तो आत्मबिश्वास आएर खुशीमा सिमा नै छैन ।
माथिको कथामा झंै मानिसको दैनिक जिवनका यस्ता घटनाहरु भइरहेका हुन्छन् तर, मानिसको सोँचको कारणले आफूले हारेको ठान्छ र निराश बन्छ । कथाका तिनजना ब्यक्तिहरुको सोँच राखिएमा मानिसले कहिल्यै पनि हार्दैन । मानिसले हार नतिजाबाट होइन, उसको आफ्नै सोँचबाट हुन्छ ।
गलत अर्थ नलागोस् कि, कथाले प्रथम नभए पनि अथवा कुनै पनि काममा जित हासिल नभए पनि खुशी हुनु पर्छ भन्न खोजेको चाहीँ होईन । कथाको मुख्य सन्देश यदि मानिसले कुनै काम हिँजोभन्दा आज राम्रो गरेको छ वा यदि हिँजो कुनै कामको थालनी गरेको थिएन र उक्त काम आज शुरु गरेको छ भने यो राम्रो पक्ष हो र उसले आफूलाई आफ्नै नजरमा बिजेता सम्झनुपर्छ भन्ने हो।
सामान्यतय मानिस आफूले सोचे अनुसारको नजिता प्राप्त नगर्दा निराश हुन्छ । सोचे अनुसारको नतिजा प्राप्त नहुनुको धेरै कारण हुन सक्लान जस्तै: गलत सोच वा अनुमान, अपर्याप्त तयारी, अनुकुल बातावरण तथा अन्य । यी सम्पूर्ण कारणहरुमध्ये सबैभन्दा मुख्य र धेरै हुने कारण भने गलत सोच वा अनुमान नै हो । अधिकांश मानिसहरु गलत सोच वा अनुमानले गर्दा चाहेको जस्तो नतिजा प्राप्त गर्न सक्दैनन् जसको कारणले गर्दा उ निराश हुन पुग्छ ।
अब एउटा तुलनात्मक उदाहरणबाट विश्लेषण गरेर हेरौं । एउटा मानिस कुनै एउटा खेलमा एकजना ब्यक्तिसंग हार्दा दुखी हुन्छ। तर अर्काे ब्यक्तिसँग हार्दा भने खुशी हुन्छ किनभने जुन ब्यक्तिसँग हार्दा दुखी भएको थियो त्यो ब्यक्ति उसको निकट्तम प्रतिस्पर्धी थियो र उसले यसलाई त जसरी पनि जित्नुपर्छ भन्ने सोच बनाएको थियो । तर सोच अनुसारको नतिजा प्राप्त नहुँदा दुखी भएको थियो भने जुन ब्यक्तिसँग हार्दा पनि खुशी भएको थियो त्यो ब्यक्ति उसको छोरा थियो र उसले छोरासँग रमाइलो गर्न, छोरालाई खुशी बनाउनको लागि खेलेको थियो ।
माथिको दुबै खेलमा नै उक्त मानिसले जित हासिल नगरेको भएतापनि सोच अर्थात उदेश्यको भिन्नताले गर्दा एउटा खेलले उक्त ब्यक्तिलाई निराशा बनाएको थियो भने अर्काे खेलमा हारकै बावजुद पनि खुशी बनाएको थियो । किनभने हारेर पनि उसलाई उसलाई छोरासँग खेलेर छोरालाई खुशी बनाउन सकेकोमा उसको खेलेको उदेश्य पूरा गर्न सफल भएको ठानेको थियो । नतिजा जस्तोसुकै होस् मानिसले त्यसबाट मज्जा लिनको लागि उसले राख्ने प्राथमिकता, सोचमा भरपर्छ भन्ने यो उदाहरणले प्रष्ट पारेको छ ।
प्रायः मानिसहरु बिगतमा रमाउन चाहाने र आफ्नो उपलब्धिलाई नजरअन्दाज गर्ने र आफूलाई अन्यसँग तुलना गर्ने बानीले गर्दा उनिहरुले आफूलाई असफल ठान्छन् । उनीहरु आफ्नो सानो सानो सफलतामा रमाउन सक्दैनन् । तुलना गर्ने बानीले गर्दा उनीहरुले एकैपटक ठुलो सफलताको आश गरिरहेका हुन्छन् र जुन प्राप्त गर्न नसक्दा आफूले आफैलाई असफल अथवा हरुवा ठान्न थाल्छन् ।
मानिस सफल हुन प्रत्येक दिन, प्रत्येक पल केहि न केहि सिक्नु अनिवार्य हुन्छ । उमेर बढ्दै जाँदा मानिसको शारिरीक विकास त आफै हुँदै जान्छ । तर शारिरीक विकाससँगै यदि प्रत्येक दिन, प्रत्येक पल केहि न केहि सिकेर आफ्नो मानसिक विकास गर्न सकेन भने उसले सफलता प्राप्त गर्न सक्दैन र सिकेर अगाडी बढ्नको लागि सानो सानो सफलताबाट उत्प्रेरणा लिएर अझ अन्य सफलता प्राप्त गर्नको लागि मेहनत गर्नपर्दछ ।
सानो सफलतालाई नजरअन्दाज गरेर एकैपटक ठुलो सफलताको आश गर्ने मानिस आफूलाई असफल ठानी निराश बन्न सक्छ। मानिस निराश बन्नु सबैभन्दा ठुलो भूल हुन्छ किनभने मानिसले अगाडी बढ्नको लागि जिन्दगी पाएको हुन्छ । सकरात्मक तरिकाले सोच्ने हो भने हर असफतामा मानिसले कुनै कुनै कुरा सिकेको हुन्छ र त्यसमा पनि कुनै न कुनै सफलता प्राप्त गरेकै हुन्छ । मानिसलाई नतिजाले होइन, सोचले हराउँछ । (लेखक डा. मल्ल बैंकर हुन् ।)
प्रतिक्रिया