अमेरिकाले दोस्रो विश्वयुद्धमा छोडेको बम जापानी विमानस्थलमा विस्फोट



एजेन्सी । दोस्रो विश्वयुद्धमा प्रयोग गरेको अमेरिकी बम हालै जापानको विमानस्थलमा विस्फोट भएको छ । जापानमा अमेरिकाले त्यसबेला आक्रमण गर्दा नपड्किएको बम विस्फोट भएको हो ।

विस्फोटका कारण ट्याक्सी वे नजिकै ठूलो खाडल बनेको जापानी अधिकारीहरुले बताएका छन् । त्यस क्षेत्रमा डिस्पोज गरिएको बम यही बुधबार विस्फोट भएको हो ।

मियाजाकी विमानस्थलमा भएको यस्तो दुर्घटनापछि जापानले ८० भन्दा धेरै उडान स्थगित गरेको छ । यद्यपि विस्फोटबाट मानवीय र विमानमा भौतिक क्षति भएको छैन ।

यो विमानस्थल जापानको दक्षणपूर्वी क्षेत्रमा पर्छ । अनुसन्धानको क्रममा उक्त बमले कुनै खतरा उत्पन्न नगरेको बताइएको छ । साथै ५०० पाउन्डको अमेरिकी बम रहेको पनि अनुसन्धानकर्मीहरुले पत्ता लगाएका छन् ।

नजिकै रहेको अध्यागमन कार्यालयबाट गरिएको भिडियो रेकर्डमा विस्फोट भएपछि त्यहाँ बमका टुक्राहरु धुलो र हावामा उडिरहेको देखिएको थियो ।

उक्त भिडियो जापानी टेलिभिजनले पनि प्रशारण गरेका थिए । साथै ट्याक्सी वे नजिकै विस्फोटले १ मिटर गहिरो खाडल बनाएको छ ।

जापानको मियाजाकी विमानस्थल १९४३ मा निर्माण गरिएको थियो । जुन स्थानमा पहिले जापानी नौसेना उडानको प्रशीक्षण गराइन्थ्यो । साथै त्यस ठाउँबाट युद्धको क्रममा केही पाइलटले आत्मघाती हमला गर्न पनि उडान भर्ने गरेका थिए । यस्तै अमेरिका र जापानबीच भएको दोस्रो विश्वयुद्धको क्रममा अमेरिकी सेनाले यस क्षेत्रमा केही बम खसालेको थियो ।


क्लिकमान्डु