मिस युनिभर्सको प्रतिस्पर्धी बनेकी ८१ वर्षीया सुन्दरी



एजेन्सी । तपाइँ ८० वर्ष पुगेपछि आफ्नो बुढ्यौली कसरी बिताउन चाहनुहुन्छ ? सायद भ्रमण गरेर ? नातिनातिनाहरुसँग खेलेर ? वा आध्यात्मिक सत्संग गरेर ? तर दक्षिण कोरियाकी ८१ वर्षीया चोइ सुन ह्वाको रुची, साहस र सक्रियताले पक्कै तपाईँलाई आश्चर्यचकित पार्नेछ । र उत्प्रेरणा पनि दिनेछ ।

चोइको जीवनशैली र बुढ्यौलीको करिअरबारे बीबीसीमा एक रिपोर्ट प्रकाशित छ । जहाँ भनिएको छ, उनी ८१ वर्षको उमेरमा विश्व स्तरमा आफ्नो मोडलिङ करिअर सुरु गर्ने उद्देश्यका साथ अन्तर्राष्ट्रिय सौन्दर्य प्रतियोगिता (मिस युनिभर्स) मा प्रतिस्पर्धा लिइरहेकी छन् । यसै साता चोइ दक्षिण कोरियामा आयोजित मिस युनिभर्स दक्षिण कोरियाको स्टेजमा क्याटवाक गरिन् ।

र फाइनलमा प्रवेश गर्ने आशा राख्दै उनी यतिबेला आफूभन्दा ४ गुणा कम उमेरका युवतीहरुसँग प्रतिस्पर्धा गरिरहेकी छन् । धेरैले उनलाई देख्दा प्रश्न गरिरहेका छन् । आखिर उनी किन यसरी प्रतिस्पर्धामा भाग लिइरहेकी छन् ?

‘छोराछोरी हुर्काइसकेपछि र थुप्रै कठिनाइहरु पार गरिसकेपछि अब केवल दुई जना बाँकी छन् । अब तपाईँ नै भन्नु न यस्तो अवस्थामा तपाईँ के गर्न चाहनुहुन्छ ? जब तपाईँ यसलाई पाउनुहुन्छ, यो तपाईँको जीवन चलाउने ऊर्जा बनिदिन्छ । जसले मानिसहरुसँग सकारात्मक दृष्टिकोण र स्वस्थ सम्बन्ध बनाउँछ । र प्रतिफलको रुपमा यसले तपाईँको लाभ गर्छ’ चोइले भनिन् ।

उनी पहिले अस्पतालमा कार्यरत थिइन् । र त्यसबेलादेखि नै उनी मोडलिङ गर्न चाहन्थिन् । तर यसका लागि उचित समय पाइरहेकी थिइनन् ।

यतिसम्म कि उनलाई ७२ वर्षको हुँदा पनि एक जना बिरामीले उनलाई सौन्दर्य प्रतिस्पर्धामा भाग लिनका लागि सुझाव दिएका थिए । त्यही सुझावले पनि उनलाई यो प्रतिस्पर्धामा भाग लिन हौसला दिएको उनको भनाइ छ । यो प्रतिस्पर्धामा भाग लिन उनीसँग आत्मविश्वास त थियो तर यसले सिंगो परिवारलाई नै एउटा भुमरीमा धकेलिदियो ।

चोइ एक प्रतिस्पर्धी मात्रै हैनन् । पछिल्ला वर्षहरुमा उनी दक्षिण कोरियामा एक चर्चित व्यक्तित्व बनिसकेकी छन् । यसबीचमा उनले फेसन विकमा रन वे नापिसकेकी छन् । तर देशबाहिर करिअर सुरु गर्न भने उनलाई मुस्किल परिरहेको थियो।

रोचक त के भने चोइ जन्मिएको ९ वर्षपछि मात्रै मिस युनिभर्स प्रतियोगिता सुरु भएको थियो । उनै वृद्धा सुन्दरीको प्रतियोगितासँगै २८ वर्षमाथिका प्रतिस्पर्धीले भाग लिन नपाउने मिस युनिभर्सको नियम पनि यस वर्षदेखि परिवर्तन गरिएको छ । जुन सफलतालाई लिएर चोइ कहिल्यै कल्पना नै नगरेको भनेकी छन् ।

यद्यपि उनी विगत केही वर्षयता मोडलको रुपमा अन्तर्राष्ट्रिय स्टेजमा उत्रिने बारेमा सोचिरहेको बताउँछिन् । ‘तर यसका लागि मसँग कुनै प्रस्ट मार्ग थिएन वा मलाई निर्देशन गर्ने उपयुक्त तरिका भेटिरहेको थिइनँ । जब प्रतिस्पर्धामा उमेर मापदन्ड हटाइयो त्यसपछि मैले पनि अन्तर्राष्ट्रिय स्टेजमा भाग लिने सपनासहित भाग लिएँ,’ चोइ भन्छिन् ।

जवकि विवाहित महिला, समलिंगी, एकल महिला तथा विभिन्न विविधतासहितका प्रतिस्पर्धीहरु आउन थालेपछि प्रतियोगितामा उमेर मापदण्ड हटाइएको हो ।

यस्तो निर्णयले पनि चोइलाई प्रतिस्पर्धामा भाग लिन सहज भयो । उमेर हद हटाइए पनि ८० वर्ष नाघेको महिला नै प्रतिस्पर्धामा आउने सायदैलाई कल्पना थियो ।

त्यसैगरी चोइ प्रधिस्पर्धी बनेर आउँदा पनि धेरै प्रतिस्पर्धी आश्चर्यचकित भए । यससँगै धेरैले उनको खुलेर प्रशंसा गरे । हौसला प्रदान गरे ।

प्रतिस्पर्धाका बीच चोइ विश्वभर चर्चामा पुगिन् । थुप्रै सञ्चारमाध्यमले उनको बारेमा समाचार लेखे । यति धेरै चर्चा र प्रशंसाका बावजुद मेक्सिकोमा भाग लिने गरी फाइनलमा भने उनी पुग्न सकिनन् ।

यद्यपि चोइ यो प्रतिस्पर्धाबाट खाली हात फर्किनु परेन । उनले पूरा प्रतिस्पर्धाबाट ‘बेस्ट ड्रेस्ड’को टाइटल उनले पाएकी छन् । प्रतिस्पर्धाको मिस युनिभर्स कोरियाको ताज भने २२ वर्षीया हान एरियलले पाएकी छन् ।

चोइले भने ताज नपहिरिए पनि थुप्रै प्रशंसकहरुको माया र समर्थन पाएकी छन् । निर्णायकहरुले उनलाई अर्को एउटा टाइटल दिएका थिए । त्यो हो, ‘मस्ट ग्ल्यामरस’ ।


क्लिकमान्डु