स्वदेशी उत्पादन बढाएर विदेशी काठ आयात प्रतिस्थापन गर्न सांसदहरुको माग



काठमाडौँ । सांसदहरुले स्वदेशी काठको उत्पादन बढाएर विदेशी काठ प्रतिस्थापनमा जोड दिएका छन् । मंगलबार बसेको राष्ट्रियसभाको बैठकमा बोल्दै सांसदहरुले मुलुकको आर्थिक विकासका लागि काठलगायत वन पैदावारको आयात प्रतिस्थापन गर्नुपर्नेमा जोड दिएका हुन् ।

बैठकको विशेष समयमा बोल्दै सांसद नारायणदत्त मिश्रले मुलुकमा वन र कृषिविज्ञ भए पनि देशमा कृषि उपज तथा काठ आयात भइरहेको उल्लेख गरे । उनले कृषि तथा वनपैदावार आयात प्रतिस्थापन गर्दै निर्यात प्रवर्द्धनमा जोड दिनुपर्ने बताए ।

“हामी वनजङ्गलको धनी मुलुक भन्छौँ, वनमा बुढा काठ सडाएर विदेशबाट काठ ल्याउनु उपयुक्त होइन । तसर्थ स्वदेशी जङ्गलका काठ व्यवस्थापन गरेर विदेशी काठ आयात प्रतिस्थापन गर्नुपर्छ,” उनले भने, “हामी कृषिप्रधान मुलुक भन्छौँ तर कृषिजन्य वस्तु आयात गरेर मुलुक कहिले धनी बन्छ ? कृषि उत्पादन बढाउन सरकारले जोड दिनुपर्छ ।”

यसैगरी, विदेशी ऋण मुलुकको आवश्यकताका आधारमा मात्रै लिनुपर्ने भन्दै मिश्रले निःशुल्क शिक्षा र निःशुल्क स्वास्थ्य सेवा उपलब्ध हुनुपर्नेमा जोड दिए ।

सांसद तुलसाकुमारी दाहालले नालापानीको युद्धमा विगतमा मुलुकलाई जोगाउने नेपालीको बहादुरीको प्रशंसा गरेका थिए । सांसद झक्कुप्रसाद सुवेदीले ठूला शक्तिशाली पार्टीसँगसँगै सरकारमा बसेको संसदीय दलमा अहिलेसम्म कुनै ‘रेकर्ड’ नभएको भन्दै यी ठूला दलले मात्रै संविधान संशोधन गर्नुपर्नेमा जोड दिनु गम्भीर विषय भएको बताए । “यो संविधान धेरैको बलिदानबाट आएको हो, यो संविधान नेपाली जनताको घर हो,” उनले भने, “तसर्थ दुई ठूला पार्टीले मात्रै संविधान संशोधन गर्न सक्दैन, यो कदापि मिल्दैन ।”


क्लिकमान्डु