समितिमा रवीको जवाफ: मिडियामा कहाँबाट पैसा आयो मलाई थाहा छैन, जीबीलाई नै थाहा होला



संसदीय विशेष छानबिन समितिले सहकारीको बचत हिनामिनाबारे रवी लामिछानेलाई सोधपुछ गर्दा उनले शंकास्पद लगानी रहेको गोरखा मिडियामा कहाँबाट पैसा आयो भन्ने विषय आफूलाई थाहा नभएको र जीबी राईलाई थाहा हुनसक्ने बताए ।

काठमाडौं । सहकारी बचत हिनामिना छानबिनका लागि बनेको संसदीय विशेष समितिले शुक्रबार रास्वपाका सभापति एवं पूर्वगृहमन्त्री रवी लामिछानेलाई पनि बोलाएर सोधपुछ गरेको छ ।

सहकारीको बचत ल्याएर सञ्चालन गरिएको भनिएको गोरखा मिडियाका पूर्वप्रबन्ध निर्देशक समेत रहेका लामिछानेलाई समितिले ३ घण्टाभन्दा धेरै समयसम्म सोधपुछ गरियो । यस क्रममा लामिछानेले जीबी राईसँगको सम्बन्धका बारेमा बोलेका थिए । तर गोरखा मिडियामा राईले कहाँबाट रकम ल्याए भन्नेबारे आफूलाई जानकारी नभएको लामिछानेले बताएका थिए ।

यसबारे राईलाई नै थाहा भएको र आफू अनविज्ञ रहेको प्रतिक्रिया दिएका थिए । लामिछानेलाई राईसँग उनको सम्बन्ध र गोरखा मिडिया कसरी सञ्चालन भयो लगायत दर्जनौं प्रश्न सोधिएको थियो । तर उनले मिडियाको आर्थिक व्यवस्थापनको पाटो आफूलाई थाहा नभएको भन्दै पन्छिएका थिए ।

लामिछानेले आफू प्रबन्ध निर्देशक हुँदा कार्यक्रम सञ्चालन र उत्पादनमा मात्रै केन्द्रित भएको र आफूलाई आर्थिक विषयमा जानकारी नरहेको बताएको समिति सभापति सूर्यबहादुर थापाले जानकारी दिए । थापाका अनुसार सिंहदरबारमा समितिले लामिछानेसँग गोरखा मिडिया नेटवर्कसँग सम्बन्धित दर्जनौं प्रश्नहरूमा सोधिएको थियो ।

‘गोरखा मिडिया नेटवर्कका तत्कालीन प्रवन्ध निर्देशक, सेयर होल्डर कार्यक्रम निर्माण र प्रस्तोताको मुख्य जिम्मेवारीमा रहनुभएका रवि लामिछानेले गोरखा मिडियासँगको सम्बन्धका बारेमा बताउनुभएको छ, जिबी राईसँगको चिनजानका बारेमा, जिबी राईको व्यवसायिक संलग्नताका बारेमा बताउनुभएको छ । करिव ५० वटा प्रश्नहरु उहाँसँग छन् । आधा जतिमा शोधपुछ गरिरहेका छौँ । विभिन्न सहकारीबाट आफ्नो नाममा प्रवाह गरिएका भनिएको रकम, ती सन्दर्भमा हस्ताक्षर, कागजात, नागरिकता सहितका चिजहरु त्यहाँ समावेश नभएको अहिलेसम्म ति कुराहरु राख्नुभयो । कहाँबाट कसरी रकम जम्मा भयो भन्नेकुरा जिबी राईलाई थाहा हुने विषय राख्नुभएको छ,’ समितिका सभापति सूर्य थापाले भने ।

यस्तै लामिछानेले बुटवलको सुप्रिम सहकारी, चितवनको सहारा सहकारी, पोखराको सूर्यदर्शन र काठमाडौंको स्वर्णलक्ष्मी सहकारीबाट गोरखा मिडियामा आएको रकम तथा लामिछानेको नाममा खडा गरिएका ऋण प्रवाह सम्बन्धमा लामिछानेले आफ्नो नाम समावेश नभएको बताएको पनि थापाले जानकारी दिए ।

थापाले भने, ‘उहाँ (रवि लामिछाने)ले आफ्ना विषयहरू बुटवलको सुप्रिम सहकारी, चितवनको सहारा सहकारी, पोखराको सूर्यदर्शन र काठमाडौंको स्वर्णलक्ष्मी सहकारीबाट गोर्खा मिडियामा आएका, उहाँको नाममा खडा गरिएका ऋण, प्रवाह गरिएको भनिएको रकम सम्बन्धमा आफ्नो हस्ताक्षर, कागजात, नागरिकतासहितका चिजहरू समावेश नभएको अहिलेसम्म स्पष्ट गर्नुभएको छ ।’

थापाका अनुसार मिडियामा आर्थिक स्रोत जुटाउने र व्यवस्थापकीय काम जीबी राईलाई नै थाहा भएको लामिछानेले जवाफ दिएका थिए ।

‘आफू संस्था (गोर्खा मिडिया नेटवर्क)को प्रबन्ध निर्देशकका रूपमा संस्थामा सामान्य रूपमा दैनन्दिन प्रशासकीय, आन्तरिक काममा संलग्न रहेको तर कार्यकारी प्रमुखको रूपमा आर्थिक स्रोत जुटाउने लगायतका कामहरू जीबी राईले गर्ने गरेको हुनाले कहाँबाट, कसरी रकम प्राप्त भयो भन्ने जीबी राईलाई थाहा हुने विषय राख्नुभएको छ ।’

शुक्रबारको बैठकमा समितिले गोरखा मिडिया नेटवर्कका संस्थापकमध्ये एक र पूर्वसञ्चालक छविलाल जोशीलाई पनि सोधपुछ गरेको थियो ।


क्लिकमान्डु